आइसोलेसनमा हामी रोगी होइनौं, योगी हौं

|

जिल्लामा २४ जना कोरोना संक्रमित अलपत्र परेको सूचना आयो।  फोनबाट जानकारी लिँदै समाचार बनाउँदै थिएँ। अकस्मात् फोनको घण्टी बज्यो, बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखा प्रमुख डोरविक्रम बेल्वासेको फोन थियो। 

‘सर रिपोर्ट आयो क्या’ मैले भने। ‘अलग्गै बस्नु कसैसँग नछोई बस्नु।’ बेल्वासे सरको जवाफ आयो। मैले बुझेँ। मेरो रिपोर्ट पोजेटिभ आएछ, भित्रबाट एक्कसि तरंग आयो। दिमागले एकछिन काम गरेन। मनमा पीडा महसुस हुँदै थियो, तर मुहार हँसिलो बनाउन खोज्दै थिएँ। अब हाँस्नुको विकल्प छैन। मन दरिलो बनाएँ र श्रीमतीलाई भनें, ‘मेरो कपडा बाहिर निकाल है, रिपोर्ट पोजेटिभ आयो।’

म कोरोना संक्रमित पत्रकार साथीको नजिकको सम्पर्कमा आएको थिएँ। उनलाई कोरोना भएको थाहा पाएँ, पछिबाट अलग्‍गै बसेको थिएँ। मसँग नजिक भएका सबै साथीलाई जानकारीसमेत गराएको थिएँ। त्यही भएर पनि होला पत्नीको मनोबल खासै गिरेको थिएन। 

जेनतेन समाचार पूरा गरेँ। थाहाखबर र रेडियो बुद्धआवाजमा मेल गरेँ। त्यसपछि पत्रकार साथीहरुलाई जानकारी गराएँ। 

आइसोलेसनमा ठाउँ पाउन गाह्रो 

प्रदेशसभा सदस्य विष्णु पन्थीले ‘तपाईं बुटवल जानुस्, कुरा भइसक्यो’ भन्‍नुभयो। मोटरसाइकल लिएर घरबाट निस्किएँ। घरबाट म ३ बजेतिर निस्किएको थिएँ। घरमै मलाई तिर्खा लागेको थियो। तर पानी पिउनतिर ध्यान गएन। 

बाटोमा पानी किन्‍न पनि भएन। ४ बजेतिर म बुटवल आएको थिएँ।

करिब २ घण्टा भनसुन गरें। म नगरपालिकाको पत्रबिना भित्र छिर्न नपाउने भएँ। मैले बुटवलका पत्रकार मित्रहरुसँग गुनासो गरें। उहाँहरुको पहलवपछि बल्ल भित्र छिर्न पाइयो। भित्र आउँदा मनमा डर लागिरहेको थियो। 

फोनले मनोबल गिरायो

पहिलो दिन थियो। मोबाइल खेलाएर बसिरहेको थिएँ। तर ह्वारह्वार्ती फोन आए, मन्त्री भएपछि शुभकामना आएजसरी।

सबैले उस्तै सुझाव थियो-मनोबल बढाऊ, तातोपानी टन्‍न पिऊ।

तर त्यही शब्दले दिमागमा रन्थनिरहेको थियो। जसले पनि किन यही भन्छन्? 

फोनको तनावबाट मुक्त हुन चाहन्थें। स्विच अफ गरूँ घरकाले चिन्ता गर्ने डर, नगरूँ मानसिक दबाबका फोन। 

तर अनुभव साटासाटले ऊर्जा दियो

बाणगंगा नगरपालिकाका वडाध्यक्ष छेउको कोठा मैले पाएँ। रुममा बसेपछि मैले पठाएको समाचार थाहाखबरमा प्रकाशन भएको हेरें। मन सम्हाल्न धेरै प्रयास गरें। कति बेला गीत सुन्‍ने, बाहिर हेर्ने, वडाध्यक्ष दाइसँग अनुभव सेयर गर्ने। 

फेरि फोन आउँथ्यो, फोनसँगै डर पनि आउँथ्यो। राति परिवारसँग गफ गर्दै भुसुक्क निदाएछु। पहिलो दिन यसरी बिताएँ। 

दोस्रो दिनबाट मभित्रको कोरोनाको भय कसरी हटाउने भन्‍नेतिर ध्यान गयो। त्यसैले बिहान ६ बजे उठेको थिएँ। योग गर्न सुरु गरें। ध्यानमा जोड दिन सुरु गरें। बढी समय गफगाफमा बिताउन सुरु गरेँ। समाचार लेख्‍ने गीत, सुन्‍नतिर लागें। 

तापमान घट्दा मर्ने डर 

हामीलाई तापक्रम जाँच गर्न एउटा एउटा थर्मोमिटर दिइएको छ। तापक्रम जाँच गर्दा मेरो तापक्रम ९५.४ को आसपास देखियो। अब झनै डर लाग्‍ने सुरु भयो। मेरो शरीरको तापमान कम छ। त्यसैको आसपासमा तापमान देखाउँदा कतै मरिन्छ कि भन्‍ने डर लाग्थ्यो। 

मन थरथर कापेको हुन्थ्यो। टाउको भारी हुन्थ्यो। कसरी तापमान बढाउने? यही कुरा मनमा खेलाएर बस्थें। त्यो दिन मैले ५ लिटर जति पानी खाएछु। साँझको तापमान ९७.२ मा आयो। अनि मन एकै पटक हलुंगो भयो। त्यसपछि मैले बेसार, ज्वानो, गुर्जो, अदुवा र कागतीपानी धेरै मात्रामा खान सुरु गरें। अहिले मेरो शरीरको तापमान सन्तुलन भएको छ। 

दुई दिनपछि डर हरायो 

सुरुका २ दिन मरिन्छ कि भन्ने लागेको थियो। तेस्रो दिनदेखि यहाँको वातावरणमा घुलमिल भइयो। सबै जना स्वस्थ छन्। कसैलाई कुनै लक्षण देखिएको थिएन। सबै नाच्ने, खेल्ने, सामाजिक दूरी बनाएर गफ गर्ने, अनुभव साटासाट गर्ने गरेका थियौं। 

अनुभव आदानप्रदानले कोरोना रोग होइन रहेछ भन्‍ने मानसिकता बस्यो। अब समाजमा भएको कोरोनाको भय कसरी हटाउन सकिन्छ भन्‍ने कल्पना गर्न लागें। 
फेसबुकमा भिडियो बनाउने, पोस्ट गर्ने, रेडियोमा अन्तर्वार्ता दिँदा ‘कोरोना केही होइन रहेछ’ भन्‍ने सन्देश दिन सुरु गरें। 

हामी रोगी होइनौं, योगी हौं

सबैले हामीलाई कोरोनाको रोगी भन्छन्। हामीलाई रोग भएको जस्तो अनुभव भएकै छैन। हामी यहाँ एकजना ८ वर्षीया बालिकासहित २१ जना बसेका छौं। घरमा जसरी बसेका छौं, अस्पतालमा पनि त्यस्तै छ। कसैलाई रोग भएको अनुवभ भएको छैन। हामी नियमित व्यायाम गर्छौं। खेल खेल्ने गर्छौं। योग गर्ने गरेका छौं। त्यसैले हामी रोगी नभई योगी हौं जस्तो लाग्छ। 

यहाँका संक्रमितलाई हेर्दा लाग्छ–कोरोना हाम्रो समस्या होइन। समस्या हुन्थ्यो भने हामीलाई शारीरिक पीडा भएको महसुस हुने थियो। कोरोनालेभन्दा मानसिक पीडाले हामीलाई केही दिन सतायो। 

यहाँ रहेकासँग कुरा गरें। सुरु सुरुमा मरिन्छ कि भन्‍ने लागे पनि अहिले त्यो डर कत्ति पनि नरहेको बताउँछन्। 

तातो पानी पिऊँ, कोरोना भगाऊँ 

अहिले हामी सबैले तातोपानी खाने गरेका छौं। बेला बेलामा बेसार, गुर्जो, कागती, अदुवा पानीमा राखेर चिया बनाएर खाने गरेका छौं। सादा खाना खान्छौं। फलफूल, काँक्रो नियमित रुपमा खाने गरेका छौं। 

सन्तुलित आहार, तातोपानी र गुर्जोको चियाले हामीलाई तन्दुरुस्त राख्‍न सहयोग पुगेको छ। हामीले नकारात्मक कुरा गर्न छाडेका छौं। बरु खाली समय गीत सुन्ने, परिवारसँग कुराकानी गर्ने, खेल खेल्ने गरी बिताएका छौं। 

एन्फा आइसोलेसन रुपन्देहीबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.