अस्तव्यस्त व्यवस्थापन, क्‍वारेन्टाइनमा पालैपालो बस्छन्

|
सुर्खेतको एक क्‍वारेन्टाइनमा बसेकाहरु

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण समुदायस्तरसम्म पुगेको छ। यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिएको छ।  

सुर्खेतका ६ जना नागरिक र जुम्लाका दुईजना प्रहरी जवानमा संक्रमण देखिएसँगै समुदायस्तरमा कोरोना संक्रमण पुगेको हो। 

भर्खरै सुर्खेतमा राहत वितरणमा सक्रिय एक युवा कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा भर्ना भइसकेका छन्। उनले काठमाडौं जान कोरोना जाँचको रिपोर्ट चाहिने भएकाले पिसीआर जाँच गरेका थिए। 

उनको पिसिआर रिपोर्टमा कारोना पोजेटिभ देखिएपछि अहिले प्रदेश अस्पतालको आइसोलेशनमा भर्ना भएका छन्। उनी राहात वितरणमा खटिएर काम गर्दै आएका थिए। 

यस्तै सुर्खेतकै अन्य पाँचजनामा पनि कोरोना पोजेटिभ देखिएको छ। उनीहरु कोरोना प्रतिकार्यमा स्वायमसेवक भएर काम गरिरहेका बताइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीले अहिले नै समुदायस्तरमा कोरोना देखिएको भन्न नसकिने बताए। 

उनले उच्च जोखिममा रहेर काम गर्ने केहीलाई कोरोना संक्रमण देखिएको बताउँदै समुदायस्तरमा गएको भनेर घोषणा गर्न छलफल गर्नुपर्ने जनाए। ‘विदेशबाट आएकाहरु बाहेकका केहीमा कोरोना संक्रमण देखिएको छ, उहाँहरु रिक्स जोनमा रहेर काम गरिरहनु भएको सत्य हो’, उनले भने, ‘विदेशबाट आएकाहरुको नजिकमा रहेर काम गर्ने केहीमा संक्रमण देखिए पनि त्यसलाई समुदायमा फैलिएको भन्ने वा नभन्ने विषयमा छलफल गर्न आवश्यक छ।’

उनले हाइरिक्स जोनमा रहेर खटिएकाहरुमा कोरोना देखिएको जनाए। तिवारीका अनुसार कर्णालीका २ सय ५० जना नागरिकमा अहिलेसम्म कोरोना संक्रमण देखीएको जनाए। त्यस्तै कर्णालीमा जाँच गरिएका प्रदेश बाहिरका १२ जनामा पनि कोरोना पोजेटिभ देखिएको उनको भनाई छ। 

कर्णालीका ६ जिल्लामा भेटिएका कोरोना भाइरस संक्रमित २५० र सुदुरपश्चिमका तीन जिल्लाका १२ गरी २ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ। 

जसमा  दैलेखका–९८, सुर्खेतका–६१, सल्यानका–५३, जुम्लामा दुई प्रहरीसहित–१९, कालिकोटका–१८ र मुगुका–१ जनामा संक्रमण देखिएका हो। कर्णालीमा नै जाँच भएका सुदरपश्चिमको अछामका–१०, बाजुरा–१ र  बझाङका–१जनामा संक्रमण भेटिएको छ। 

क्‍वारेन्टाइनबाट नै कोरोना फैलने 

कर्णालीमा क्‍वारेन्टाइनबाट नै कोरोना संक्रमण फैलने भन्दै सतर्क रहन आग्रह गरिएको छ। औपचारिकतामा सीमित राखिएका तर कुनै पनि मापदण्ड पुरा नगरिएका क्‍वारेन्टाइनबाट नै कोरोना फैलने भन्दै प्रदेश सभा सदस्यहरुले समेत विरोध जनाएका छन्। 

प्रदेश सभा सदस्य बिन्दमान विष्टले प्रदेश सरकार स्थानीय सरकारले बनाएका क्‍वारेन्टाइनबाट नै कोरोना फैलने भन्दै सरकारको व्यवस्थापन फितलो भएको बताए।

‘क्‍वारेन्टाइनहरु विद्यालयहरुमा भए, भौतिक पूर्वाधार छैन, स्थानीय सरकारको ल्याकत भन्दा बाहिर भयो, सुरक्षाको आवस्था कमजोर छ’, उनले भने, ‘जसले गर्दा संक्रमण अझै तिवै रुपमा फैलन सक्छ। तीनै तहको सरकारले आपसी समन्वय गरी काम गर्न आवश्यक छ।’ उनले समुदायस्तरमा देखिएको संक्रमण प्रारम्भिक भएकाले सचेतताका साथ काम गर्न जरुरी भएको बताए। 

‘अहिले संक्रमण समुदायस्तरमा पुगेको छ, यो सानो संख्यामा छ, उनीहरुको ट्राभल हिस्ट्री खोजेर काम गर्न जरुरी भएको छ’, विष्टले भने, ‘अब पनि सरकारले परीक्षणलाई तिव्रता बनाएन भने ठूलो समस्या आउन सक्छ।’

उनले प्रदेश सरकारले निर्णयमात्र गर्ने भन्दा पनि छिटोभन्दा छिटो निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। प्रदेश सरकारको भूमिका जुनस्तरमा हुनुपर्ने हो त्यो हुन नसकेको उनको भनाई छ।

सुर्खेतको नेकपा चौकुने गाँउपालिकाका अध्यक्ष गंगराम सुनारले क्वारेन्टाईनमा सुरक्षा र निगरानी फितलो भएकाले कोराना समुदाय स्तरमा फैलिसकेको जिकिर गरे।

‘क्वारेन्टाइनबाट पैसा, मोवाइल लगायतका समान घर पठाइसकेका छन, यस्तो अवस्थामा कोरोना समुदायमा गइसकेको छ,’ उनले भने। ‘यस्तै कतिपय क्वारेन्टाइनमा राति घर सुत्न जाने र दिउँसो क्‍वारेन्टाइनमा बस्न आउने तथा बाहिर घुम्न जानेसम्मका काम भइरहेका छन’, उनले भने,  ‘कोरोना समुदायमा पसिसकेको छ, बरु जाँच हुन सकेको छैन, अब भयावह अवस्था आउने खतरा छ।’ 

मुख्यमनत्री महेन्द्र बहादुर शाहीलेसमेत पालो गरेर क्‍वारेन्टाइनमा बस्ने गरेको सूचना आएको भन्दै सबै आफ्नो ठाँउबाट जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

अस्तव्यस्त व्यवस्थापन 

स्थानीयस्तरमा बनेका क्‍वारेन्टाइनमा व्यवस्थापन अस्तव्यस्त देखिएको छ।  भारतमा रोजगारीका लागि गएका नागरिक हजारौंको संख्यामा फिर्ता भएपछि स्थानीयस्तरमा क्‍वारेन्टाइन बनाउन नै सकस देखिएको छ। 

कर्णालीमा प्राय विद्यालय र सार्वजनिक भवनहरु क्‍वारेन्टाइन बनाइएका छन्।  सुर्खेतको चिङ्गाड गाँउपालिकाका अध्यक्ष देव बहादुर चन्दले भने, ‘हामीसँग भएका सार्वजनिक भवन र स्कुलहरु क्‍वारेन्टाइन बनाइएको छ, तर पनि भारतबाट आउनेहरुको व्यवस्थापनमा समस्या छ, हाम्रो बिजोग भएको छ, राम्रो व्यवस्थापन त हुने अवस्था छैन।’ 

सानो स्कूलका कोठामा १२÷१४ जना कोच्चिएर बसाइएको उनले बताए। मापदण्ड अनुसार क्‍वारेन्टाइन बनाउन सक्ने अवस्था पनि नरहेको उनले सुनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.