२२ संक्रमितलाई आइसोलेसनमा लान ६ घण्टा लाग्यो

|

कपिलवस्तु : कोरोना संक्रमित क्‍वारेन्टाइनमा अलपत्र पर्दा संक्रमण फैलिने त्रासमा थिए। आइसोलेसन सेन्टर तयारी अवस्थामा थियो। तर कुनै पनि गाडी र एम्बुलेन्सले ओसार्न मानेनन्। 

एम्बुलेन्स पनि तयार नभए पछि कपिलवस्तुका एक प्रहरी अधिकृत पिपिई लगाएर अगाडि सरे पिकअप गाडी आफैंले चलाएर उनीहरूलाई आइसोलेसनमा पुर्‍याए। ती संक्रमित तीन दिनदेखी अलपत्र परेका थिए।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका कोरोना संक्रमितलाई प्रहरी निरीक्षक प्रताप पौडेलले उद्धार गरी आइसोलेसन वार्डमा पुर्‍याएका छन्। संक्रमितलाई बोक्न एम्बुलेन्स चालकसमेत डराएपछि पौडेल आफैं तयार भएका थिए। 

उनले पिपिई लगाएर २२ संक्रिमतलाई आइसोलेसनमा पुर्‍याएका थिए। नगरपालिकाका ६ वटा क्‍वारेनटाइनमा रहेका संक्रमितलाई आइसोलेसनमा लैजान उनलाई ६ घण्टा लागेको थियो। 

कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगरको मदरसास्थित आइसोलेसनमा सोमवार दिउँसो ३ बजेदेखि उनले ओसार्न सुरु गरेका थिए। राति ९ बजे सबै संक्रमितलाई उनले आइसोलेसनमा पुर्‍याए।

‘एम्बुलेन्स तयार थिएनन्। अरू कोहीले पनि मानेनन्। क्‍वारेन्टाइनमा बसेका मानिसहरू डराएका थिए। संक्रमितहरु नजिक पर्छन् की भनेर झनै आत्तिए। त्यो देखेर मैले केही गर्नु पर्छ भन्‍ने आँट जाग्यो,' पौडेलले बताए। 

यस अगाडि पनि कृष्णनगर सीमा क्षेत्रमा कोरोना संक्रमणबाट मृत्युबाट भएका अर्घाखाँची भूमिकास्थनका पुरुषलाई पौडेलले बोकेर एम्बुलेन्समा ल्याएका थिए। 

‘लामो समयसम्म पिपिई लगाउँदा बढी पसिना बगेको थियो। मलाई डर भने लागेन। शारीरिक रूपमा तन्दुरुस्त भएकाले जोखिम लिन तयार भएको थिएँ,’ पौडेलले अगाडि भने। 

इलाका प्रहरी कार्यालय कृष्णनगरका सवारी चालक कोरोना संक्रमण भई आइसोलेसनमा गएपछि  पौडेल आफैंले पटक पटक जोखिम मोलेका छन्। पौडेलले सीमा क्षेत्रको निरीक्षण, क्‍वारेनटाइन र आइसोलेसनको अनुगमनसमेत गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.