लकडाउन लम्बिँदै जाँदा तरकारी खेती घटाउँदै किसान

|

बारा : बाराको निजगढ नगरपालिका ९ शान्तिटोलका भाष्कर दुलालले १५ वर्षकै उमेरमा एसएलसी दिए। फलामे ढोका मानिएको एसएलसी पार लगाउन सकेनन्। आर्थिक रूपमा कमजोर उनको कृषक परिवारले पढाइमा जोड दिन नसकेपछि उनले १५ वर्षअघि त्यही पेशामा नयाँ ढोका खोल्ने संकल्प गरे।

परम्परागत खेतीले उकासिन नसकेको परिवारलाई तरकारी खेती गरेर माथि उठाउन त्यही वर्ष उनले व्यावसायिक कृषकका रुपमा पाइला चाले। गाउँका एक्ला तरकारी किसान चन्द्रप्रसाद बिडारीलाई पछ्याउँदै उनले पाँच कठ्ठा जमिन भाडामा लिएर तरकारी खेती सुरु गरे। उनका बारीमा टमाटर र काउली फले। त्यसपछि लौका, भिन्डीदेखि तराईमा सिजनअनुसार फल्ने सबै तरकारी उनले फलाए। उनको लगातार चार वर्ष तरकारी खेतीमा बित्यो।

उनको उत्पादन स्थानीय बजारले खपत गर्न नसक्ने भयो। बारीमा फलेका तरकारीले राम्रो बजार पाउन छाड्यो। बाहिर लैजाने मेसो मिलेन। ‘हामीले दुःख गर्ने बिचौलिया मात्र मोटाउने अवस्था आयो,’ दुलालले भने, ‘मिहिनेतअनुसार राम्रो आम्दानी हुन छोड्यो।’

कतारका दुई वर्ष

आम्दानीभन्दा खर्च बढी हुन थालेपछि उनी नयाँ विकल्प खोज्ने मोडमा पुगे। उनी विदेश हानिए। उनले दुई वर्ष कतारमा बिताए। भवनदेखि सडक निर्माणसम्ममा मजदुरी गरेर दुई वर्ष दुःख काटेर उनी फर्किए।

डेढ लाख ऋण लिएर कतार पुगेका उनले फर्किंदासम्म ऋण तिरे। संयुक्त परिवारमा रहेका उनले कमाएका पैसा पनि घर खर्चमा सकियो, बचत हुन सकेन।

पुन: तरकारी खेती

घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै कतारबाट फर्किएर उनले पुनः तरकारी खेतीलाई निरन्तरता दिए। ‘आफूले जानेको काम त्यही थियो,’ उनले भने, ‘काम नगरी बस्ने कुरा भएन। मैले फेरि थप जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेँ।’

वैदेशिक रोजगारीबाट फर्केर उनले अढाई बिघा जमिन भाडामा लिएर तरकारी खेती सुरु गरे। दाजुभाइ मिलेर गरेको खेतीबाट पहिलो वर्ष राम्रो आम्दानी भयो। त्यो वर्ष उनीहरूले ९ लाख कमाए। तरकारी खेती गरेर जग्गा पनि जोडे। पहिला जग्गाको भाडा पनि कम थियो।

क्रमश:  आम्दानी घट्दै गयो। उत्पादनले न त राम्रो बजार पायो न त राम्रो मूल्य। उनले आँटेजस्तो तरकारीले फल दिन छाड्यो। कमाउन थालेको खेतीले ऋण बोकाउने चिन्ताले बचत गरेको पैसा मेनपावरलाई बुझाएर अघिल्लो पटकजस्तै दोस्रो विकल्प वैदेशिक रोजगारीलाई रोजे। उनको नयाँ गन्तव्‍य मलेसिया बन्यो। मलेसियामा तीन वर्ष वेल्डिङ गरेर पसिना चुहाएर तीन वर्षअघि उनी फर्किए।

विदेशमा काम गरेर पनि खासै उन्नति हुन सकेन। दुई पटक गरि पाँच वर्ष विदेशी भूमिमा श्रम बेचे। ‘कतारभन्दा मलेसियामा केही आम्दानी पनि भयो,’ उनले भने, ‘मलेसियाबाट आउँदा २/४ लाख लिएर आएकाले खेती विस्तार गर्न सके।’

तरकारी खेतीमै जाँगर

तीन वर्षयता उनी तरकारी खेतीमा रमाएका छन्। उनले तरकारी खेती गरेर घर परिवार चलाइरहेका छन्। परिवारसँगै बसेर उनले वर्षमा एक/डेढ लाख बचत गरिरहेका छन्। पहिले संयुक्त परिवारमा रहेका उनी अहिले छुट्टिएर पत्नीसहित तीन बिघा जमिन भाडामा लिएर खेती गर्दै आएका छन्।

घट्दो आम्दानी

तरकारीबाट किसानको आम्दानी घट्दै गएको उनको अनुभव छ। स्थानीय बजारमा समेत बाहिरबाट भित्रिने तरकारीका कारण स्थानीय किसानको आम्दानी घट्दै गएको उनले सुनाए। किसानले गरेको मिहिनेतका आधारमा आम्दानी न्यून रहेको छ। स्थानीय किसानको सस्तोमा खोज्ने र बाहिरबाट आएको तरकारी महँगो मूल्य तिरेर खाने प्रवृत्तिका कारण स्थानीय उत्पादन बाहिर पठाउनुपर्ने बाध्यता रहेको उनले बताए।

‘बाहिर पठाउँदा गाडी भाडादेखि बिचौलियासम्ममा खर्च बढ्छ,’ उनले भने–‘किसानले पाउनुपर्ने आम्दानी बिचौलियाले पाइराखेका छन्। यसबाट किसानलाई मर्का परेको छ।’ किसानसँग किनेको मूल्यमा बिचौलियाले दोब्बर मुनाफा लिएर बिक्री गर्ने गरेको उनले सुनाए। ‘किसानबाट पालिने बिचमा धेरै भए,’ उनले भने–‘तर किसानले दुःख, मिहिनेतको फाइदा लिन सकेको छैन।’

लकडाउनले बारीबाटै बिक्री

कोरोनाको महामारीका कारण बाहिरबाट नगरभित्र तरकारी आयातमा प्रतिबन्ध छ। बाहिरबाट तरकारी आयात नहुँदा उनको खेतमा तरकारी किन्न पुग्नेको घुइँचो लाग्ने गरेको उनले सुनाए। ‘अहिलेको स्थितिमा तरकारी खेती कम भएको कारणले गाउँकै ताजा तरकारी पाउँदा नगरबासी खुसी छन्,’ उनले भने, ‘अहिले गाउँमै तरकारी बिक्री राम्रो भइरहेको छ।’ स्थानीयले उत्पादन गरेको तरकारी वीरगञ्ज, हेटौँडा र नारायणघाटसम्म पुग्ने गरेको थियो।

तरकारी खेती घटाउँदै किसान

कोरोना संक्रमण फैलिएसँगै सरकारले लकडाउन लम्बाउँदै गएको छ। धेरै स्थानीय तहले सिल गरेका छन्। बाहिरी उत्पादन नगर प्रवेशमा रोक लगाएका छन्। शान्ति टोलमा १५ जना व्यावसायिक किसान छन्। एउटै किसानले २/४ बिघा खेती गरेका छन्। तरकारी उत्पादन बढेसँगै बजार अभाव हुने देखेर भाडामा लिएको जमिनमा तरकारी खेती घटाइरहेका छन्।

वैदेशिक रोजगारीबाट फर्किएका अधिकांश युवाले भाष्करलाई पछ्याइरहेका छन्। यहाँका युवाले ३० बिघा क्षेत्रफलमा तरकारी खेती गरेका छन्। भाष्करले ३ बिघाको तरकारी खेतीलाई १५ कठ्ठा मात्र सीमित गरेर तरकारी खेती गर्ने जमिनमा अब धान रोप्ने तयारीमा छन्। उनीजस्तै अरू किसानले पनि तरकारी खेती घटाएर अन्न खेती थालेका छन्।

अनुदान नपाएको गुनासो

सरकारबाट यहाँका किसानले अनुदान नपाएको भाष्करको गुनासो छ। अनुदानका लागि उनीहरुले समूह गठन पनि गरे। बिउ, विजन लगायत कुनै प्रकारको अनुदान सरकारी तहबाट नपाएको उनी गुनासो गर्छन्। ‘पहुँचवाला र पढेलेखेकाले मात्र अनुदान पाएका छन्। जसले हातमा फाइल बोकेर हिँड्छ उसले पाएको छ,’ भाष्करले भने–‘खेती किसानी गर्नेले पाउन नसकेकोले अवस्था छ। हातमा कुटो कोदालो बोक्नेले अनुदान कसरी लिने बुझेका हुँदैनन्।’

वास्तविक किसान छानेर किसान परिचयपत्र दिएर प्राविधिक तथा विउविजन सहयोग गर्नुपर्ने उनको सुझाव छ। सिँचाइमा बढी खर्च भइरहेको उनको गुनासो छ। पानी लगाउन घण्टाको तीन सय ३० रुपैयाँ बुझाउनु पर्दा उत्पादन खर्च बढेको उनको अनुभव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.