‘सधैँ लकडाउन गरेर रोगलाई जित्‍न सकिएला भोकलाई सकिन्‍न’

|

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले गण्डकी प्रदेशकाे जनजीवन सामान्य बनाउने विषयमा नेपाल सरकार र अन्य प्रदेशले अवरोध गरेको आरोप लगाएका छन्।

गण्डकी प्रदेशसभाको छैटौं अधिवेशनको पन्ध्रौं बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्‍नको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन। 

‘हाम्रोमा धेरै हरियो गाउँहरु छन्। त्यस्ता गाउँहरु किन लक गरेर राख्ने? बाहिरबाट आएका मान्छेलाई लक गर्छाैं, कुटो कोदालो लक गर्न हुन्‍न भन्यौँ। त्यसका लागि मल, बीऊ र औजारको ढुवानीको प्रबन्ध गर्नुपर्छ भन्यौँ।  त्यहाँनिर समस्या थियो,’ उनले भने, ‘यो गण्डकी सरकारले अगाडि सारेको कुरा थियो। तीन नम्बर प्रदेश बेखबर थियो, पाँच नम्बर प्रदेश बेखबर थियो, नेपाल सरकार बेखबर थियो। तर, हामीले उद्योग चलाउँदा कच्चा पदार्थ ल्याउनु पर्थ्यो।’ 

उनले प्रदेशभित्रको कच्चा पदार्थको भने व्यवस्थापन गरेको दाबी गरे। ‘गण्डकी प्रदेशभित्र हामीले म्यानेज गरेका थियौँ। तर, पाँच नम्बर र तीन नम्बर प्रदेशबाट ल्याउने कुरालाई उनीहरुले बुझेनन्। अवरोध गरे’ उनले भने। गुरुङले नेपाल सरकारलाई पहिले नै रक्सौलमा, रुपैडियामा, काँकडभित्ताको नाकामा सेनिटाइजर गरिदिनुहोला भनेको तर, ढिलो गरी कार्यान्वयन गरेको दाबी गरे। नेपाल सरकारले समयमै निर्णय नगर्दा प्रदेशले र प्रमुख जिल्ला अधिकारीहरुले काम गर्न समस्या भएको उनको आरोप छ।

लकडाउनले राेग जित्न सकिएला, भाेग जित्न सकिन्‍न

मुख्यमन्त्री गुरूङले लकडाउनले राेगलाइ जित्‍न सकेपनि भाेकलाई जित्न नसक्ने बताए। मुख्यमन्त्री गुरुङले लकडाउनसँगै विकास निर्माणको काम अघि बढाउनुपर्ने बताएका छन्।  

‘सधैँ लकडाउन गरेर रोगलाई जित्न सकिएला भोकलाई सकिन्‍न। घरमै बस्‍ने कुरालाई जित्‍न सकिएला,’ उनले भने, ‘हाम्रो पूँजी विकासलाई बचाउन सकिन्‍न। जीरोमा गइसकेको हाम्रो अर्थतन्त्रलाई फेरि जीवित बनाउने हो भने हामीले सर्प पनि मार्नुपर्छ, लट्ठी पनि भाँचिनुदिनु हुँदैन।’ 

उनले कोरोना महामारीको प्रभावको समयमा लकडाउनकै बीचमा गण्डकी प्रदेशले अर्थतन्त्र चलायमान बनाउन विकास निर्माणको काम सुरु गरेको पनि बताए। 

‘लकडाउन गरिरहँदा कोभिडविरुद्ध लडिरहनुपर्छ भनेर शिथिल हुँदै गएको अर्थतन्त्रलाई चलायमान बनाउन हामीले बैशाखको पहिलो हप्ताबाट विकास निर्माणको कामहरु विस्तारै सुरु गरेका थियौँ', उनले भने, ‘बैशाख २६ गते मात्रै नेपाल सरकारले विकास निर्माणको काम गर्नुपर्छ भनेर निर्णय गर्यो।’ 

प्रतिपक्षी दलका सांसदहरुलाई प्रदेशको समस्या बुझ्‍न नखोजेको उनकाे आरोप छ। ‘हामीले केके समस्या भोगेका छौँ खै प्रश्न गरेको माननीयहरुले’ उनले प्रतिप्रश्‍न गर्दैै भने, ‘खाली यो सरकारले केही गरेन भनेर विरोध गरे भो?’ 

उनले गण्डकी सरकारले रातदिन नभनी काम गरिरहेको दाबी गरे। ‘यो सरकार एक दिन निदाएको छैन। मुख्यमन्त्री शनिबारको दिनमा पनि घरमा बसेको छैन। रातदिन नभनी काम गरिरहेका छौँ,’ उनले भने, ‘राष्ट्रिय समस्याका कारण हामीले गरेका कामको परिणाम पाउन सकिराखेका छैनौँ।’ उनले कोरोनाको महामारीको यो समयमा सूरक्षा निकायको परिचालन र स्थानीय तहसँगको समन्वय गण्डकी प्रदेशले गरेको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.