|

कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल एसएवबीको अवरोधका कारण बर्षौंदेखि खेतमा बाली लगउन नपाएका महाकाली नगरपालिका–८ सुन्दरनगरका लक्ष्मण पुन मगरले ढुक्कसँग खेती गर्न पाउने भएका छन्। 

सशस्त्र प्रहरी बलले एसएसबीसँग सीमा क्षेत्रको विवादको छिनोफानो गरिदिएपछि मगरले चार वर्षदेखि बाँझो राखिएको खेतमा खनजोत शुरु गरेका छन्।

‘सीमा स्तम्भ नम्बर १७ (जंगे पिलर) नजिकैको जग्गामा खनजोत शुरु गर्न थालेपछि एससवीका जवानहरुले आएर अबरोध मात्रै गर्दैनथे,’ मगरले ती ती स्मरण गरे, ‘लगाएको खेती समेत नष्ट गरिदिन्थे। कयौं पटक लगाएको खेतीमै ट्रयाक्टर लगाएर नष्ट गरिदिए।’

जग्गाको स्वामित्व आफ्नो भए पनि भारतीय अवरोधले खेती लगाउन पाएका थिएनन्। खेती गर्न नपाएपछि परिवार पाल्नकै लागि मजदुरी गर्नुपर्ने मगरको बाध्यता थियो। २०२४ सालदेखि उपभोग गर्दै आएको जग्गा चार वर्षअघि मात्रै भारतीय पक्षले अवरोध गर्न शुरु गरेको मगर बताउँछन्। बिहीवार बिहान मगरले हिम्मत गरी स्वामित्वको जग्गामा खनजोत गर्न शुरु गरेकै बेला पुनः एसएसबीका जवानहरुले आएर रोके। यो कुरा जनप्रतिनिधिले समेत थाहा पाए।

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीसम्म कुरा पुग्यो। सशस्त्र प्रहरी ३५ नम्बर गण शैलेश्वरीका गणपती सशस्त्र प्रहरी उपरिक्षक वीरबहादुर साहुले भारतीय एसएवीका डेपुटी कमाण्डर महेश कनियालसँग अवरोधको कारण जानकारी लिए।

दुवै सुरक्षा निकायबीच छलफलपछि सीमा स्तम्भ नम्बर १७ को नेपाल भारत तर्फ १०÷१० मिटर जग्गा छाड्ने सहमती भयो। दुवैतर्फ दशगजाको क्षेत्र निर्धारण गरिएपछि विवादको टृङगो लागेको सशस्त्र प्रहरी उपरीक्ष साहुले बताए।

‘भारतीय समकक्षीसँग मगरको स्वामित्वको जग्गामा अवरोध गर्नुको सोध्यौं,’ उनले भने, ‘सीमा क्षेत्र अतिक्रमणको कुरा सुनाए। दशगजा क्षेत्र निर्धारणपछि समस्या समाधान भयो। अब मगरले ढुक्कसँग खेती गर्न पाउँछन।’ 

एसएसबीका डेपुटी कमाण्डर कनियालले दशगजाको क्षेत्र निर्धारण भैसकेकाले मगरको जग्गामा अवरोध नगर्ने बताए। 

वर्षौंपछि आफ्नो जग्गामा चलनभोग गर्न पाएपछि मगर खुसी भएका छन्। उनले भने, ‘वर्षौंदेखिको भारतीय अबरोध हटेपछि जग्गामा खेती गरी परिवारको पेट पाल्न सकिने भएको छ। मजदुरी गरेर परिवारको पालनपोषण गर्दै आएको थिएँ। वर्षभरी खानका लागि जग्गामा खेती गरेर पुग्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.