|

धनकुटा : धनकुटामा कोरोना संक्रमण पुष्टि भएको आठौं व्यक्तिलाई ट्याक्टरमा चढाएर अस्पताल पठाइएको छ। रोजगारीका लागि भारत गएर गत १३ गते आएका शहीदभूमि गाउँपालिका–७ का २७ वर्षीय ती युवालाई उपचारका लागि ट्याक्टरमा राखेर पठाइएको हो।

शहिदभूमि गाउँपालिका–१ धापस्थित आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेको ती युवाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो।

गाउँमा एम्बुलेन्स पुग्‍न सकेन

शहीदभूमि गाउँपालिका–१ धापबाट संक्रमित युवालाई ट्याक्टरमा राखेर शहीदभूमि–७ साप्तिङटारसम्म पठाइएको थियो। साप्तिङटारबाट मात्रै एम्बुलेन्समा राखेर धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो। युवा भएको ठाउँमा एम्बुलेन्स पुग्न नसकेकाले उनलाई गाउँबाट एम्बुलेन्समा ल्याउन नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईंले बताए।

संक्रमित युवालाई लिन आफैँ साप्तिङटारसम्म पुगेको र त्यहाँबाट अगाडि एम्बुलेन्स नगएकाले समस्या भएको उनको भनाइ छ।

संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल पुर्‍याउन गाउँपालिकाले स्वास्थ्य कार्यालयसँग समन्वय गरेर एम्बुलेन्स मगाएको थियो। तर, बाटोको कारण देखाउँदै एम्बुलेन्स गाउँमा नआएपछि संक्रमित युवालाई ट्याक्टरमा राखेर पठाउनु परेको शहीदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए।

अरू उपाय नभएपछि ट्याक्टर

गाउँमा अन्य गाडीलाई आग्रह गर्दा संक्रमित बोक्न नमानेको र जिल्लाबाट आएको एम्बुलेन्स आइनपुगेपछि अरु उपाय नभएको गाउँपालिका अध्यक्ष राईको भनाइ छ।

हिँडाएर पठाउनुभन्दा ट्याक्टरमै भए पनि गाउँबाट साप्तिङटारसम्म पठाएको अध्यक्ष राईले बताए। तर, त्यस सडकमा लकडाउन अगाडि धरानबाट नियमित बस सञ्चालन हुँदै आएको थियो।

कोरोना संक्रमित ती युवाले भने ट्याक्टरमा असुरक्षित हुने भन्दै ट्याक्टरमा चढ्न नमानेको भए पनि ट्याक्टरको ट्रलीमा त्रिपाल ओछ्याएर जबरजस्ती चढाएर लगिएको एक स्थानीयले बताए। उनले लकडाउन नहुँदा नियमित बस चलिरहेको ठाउँमा अहिले सवारी सञ्चालन नभएको बेला सडक बिग्रिएको भनेर भन्नु गलत भएको बताए।

जिल्लामा १५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको भनिए तापनि सदरमुकाम केन्द्रित  भएर गाउँका कोरोनाका बिरामी नबोकेको स्थानीयको आरोप छ। मंगलबार मात्रै उक्त ठाउँमा धरानबाट एम्बुलेन्स आएर बिरामी लगेको स्थानीय बताउँछन्।

धनकुटामा यसअधि कोरोना संक्रमण भएका ७ जना भने बिहीबार कोरोना मुक्त भएर कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.