|

मुगु : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक हप्तासम्म जिल्लाबाट कोरोना परीक्षणका लागि स्वाब नपठाउन भनेको छ। 

कर्णाली प्रदेशका जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमित संख्या बढ्दै गएपछि प्रतिष्ठानमा परीक्षणका लागि स्वाब लाइनमा राख्नुपर्ने अवस्था आएको छ। तत्कालका लागि एक हप्तासम्म अरू स्वाब नपठाउन जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयहरूलाई भनिएको हो।

‘प्रतिष्ठानको ल्याबमा रहेको मेसिनले दैनिक १ सय जनासम्मको रिपोर्ट दिने गरेको छ, हामीले साविकका कणाली अञ्चलका ५  जिल्लालाई लक्षित गरी मेसिन राखेका हौं,’ प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले भने, ‘अहिले प्रदेशका प्रायः सबै जिल्लाबाट स्वाब आउन थालेपछि लोड बढेकोे छ।’

बिहीबारसम्म प्रतिष्ठानमा १ हजार बढी स्वाब परीक्षण गर्न लाइनमा राखिएका छन्। ती स्वाब परीक्षण गर्न बाँकी रहेकाले अन्य स्वाब ल्याइए लाइनमा राख्दा स्वाबको वास्तविक परीक्षण हुन नसक्ने उनले बताए। 

पठाउनैपर्ने अवस्था भए प्रतिष्ठानको ल्याबमा सम्पर्क गरेर मात्र पठाउन उनले आग्रह गरेका छन्। नेपाल सरकारले समेत सबैको पिसिआर गर्नु नपर्ने र लक्षण देखिएका र दुई आरडिटी पोजेटिभ देखिएकाको मात्र पिसिआर गर्न जोड दिइरहेको उनले जानकारी दिए। 

१४ दिन क्वारेन्टाइन बसेका सबैको आरडिटी परीक्षण गराउनू भनिएकाले आफूहरुले पिसिआर मात्र परीक्षण गर्ने उनले जनाए। आरडिटी परीक्षणका लागि किट उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारसँग जतिसक्दो छिटो सबैले पहल गर्न पनि निर्देशक डा रावल सुझाव दिए। 

हालै सर्वोच्च अदालतले क्वारेन्टाइनमा बसेका तथा शंका भएका सबैको पिसिआर परीक्षण गरेर मात्र घर पठाउन आदेश दिएको छ। ‘सर्वोच्चले के आदेश दियो, त्यसको साधन स्रोत र जनशक्ति व्यवस्था सरकारले गर्ने हो, हामीले मान्ने भनेको स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका हो,’ रावलले भने।

‘सुरुमा आरडिटी गर्दा पोजेटिभ नै भए पनि नेगेटिभ नै देखिन्छ, सुरुमा एन्टिबडी देखिएको हुँदैन,’ उनले थपे, ‘त्यसैले कम्तीमा २ हप्तापछि आरडिटी परीक्षण गर्नुपर्ने र आरडिटीप्रतिको अफवाहतरि नलागी यो परीक्षणतर्फ सबै लाग्नुपर्नेमा उनले जोड दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.