मुम्बईबाट हिँड्नुअघि नै बुवाले बिरामी छु भन्‍नुभएकाे थियाे : छाेरा नेत्रबहादुर

|

पाल्पा : पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय रामबहादुर दिशुवा गत सालको दसैंमा घरमा आएका थिए। दसैं, तिहार र माघेसंक्रान्ति पर्व मनाएर चार महिनाको बसाइपछि खाइपाइ आएको काम गर्न भारतको मुम्बईतर्फ लागे। माघ ७ गते घरबाट बिदा भएका थिए। 

मुम्बई पुगेको २ महिनामा उनले गर्दै आएको सानो व्यवसाय बन्द गर्नुपर्‍यो। उनले मुम्बइस्थित विभिन्न सडकका चोकचोकमा ठेलागाडीबाट नास्ताका परिकार बनाउँदै बेच्ने गर्थे। त्यही आम्दानीले नेपालमा रहेका परिवार पाल्दै आएका थिए। 

तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण त्यो सानो व्यावसाय पनि बन्द भयो। उनलाई बिहान साँझ छाक टार्न समस्या पर्न थाल्यो। त्यसमाथि झन् कोरोना त्रासले सतायो उनलाई। यस्तो अवस्थामा परिवारसँग बस्ने उनको चाहना बढ्न थाल्यो। उनी घरमा आउन खोजिरहेका थिए। 

भनेको सयमा उनी घरमा आउन भने सकेनन्। लामो सययको संघर्षपछि रामबहादुर जसोतसो नेपाल आउन पाउने भए। घरमा श्रीमती र छोरालाई फोन गरेर सुनाए, ‘म अबको एक हप्तामा घर आउँदै छु।’ उनी आउने खबरले परिवारमा खुसियाली छाएको थियोे। 

‘मुम्बईबाट हिँड्नु अघिल्लो दिन फोन गरेर बुवाले अलिअलि आफूलाई पेट दुखेको कुरा सुनाएका थिए,’ छोरा नेत्रबहादुरले भक्कानिँदै भने, ‘औषधि खाँदै तीन दिनमा घरमा आइपुग्छु, बाँकी उपचार घरमै गरौंला भन्‍नुभएकाे थियाे, त्यही फोनमा सुनेको बुवाकाे बोली अन्तिम भयाे।' 

बुवा सकुशल घरमा आएको खबर सुन्ने प्रतीक्षामा रहेका नेत्रबहादुरले बुवाको मृत्युको खबर सुन्न पुगे। तर विश्वास गर्न सकेनन्, भैरहवामा किराना पसल गर्दै आएका उनी बुवाको मृत्युको खबरलगत्तै पाल्पा आइपुगे। 

बुवाको मृत शरीर युनाइटेड मिसन अस्पताल पुगे, तर हेर्न पाएनन्। ‘खबर पाएलगत्तै म आएको थिएँ’, गहभरि आँसु पार्दै उनले भने, ‘तर अस्पतालका डाक्टरले अहिले हेर्न मिल्दैन भने। त्यसपछि म घरतिर लागें।’ 

‘उहाँ गाउँसम्म आउनुभएको रहेछ। न त उहाँले हामीलाई देख्न पाउनुभयो। न त उहाँलाई हामीले देख्न पायौं’, विक्षिप्त अवस्थामा रहेकी रामबहादुरकी पत्नी प्रतीक्षाले भनिन्, ‘मर्ने बेलामा पानी पनि खुवाउन पाइन्।’ 

आइतबार भारतको मुम्बईबाट फर्किएका रामबहादुर भारतीय सीमा नाका सुनौली हुँदै पाल्पा आइपुगेका थिए। उनी आफ्नै गाउँपालिकाको क्वारेन्टाइनमा पुगेका थिए। रातिको समय भएकोले परिवारका कुनै सदस्यलाई भने देख्न पाएनन्। तर उनी आउँदा नै बिरामी अवस्थामा रहेछन्। झनै बिमारले च्यापेपछि अर्को दिन बिहानै उपचारका लागि तानसेन लगियो। मिसन अस्पतालको आइसोेलेसनमा उपचारकै क्रममा उनको मंगलबार मृत्यु भएको थियो।

उनका  एक छोरा र दुई छोरी छन्। १८ वर्षीय छोरा नेत्रबहादुरको विवाह भइसकेको छ। नेत्रबहादुरको पनि सानी छोरी छन्। १४ र १६ वर्षका बहिनी छन्। रामबहादुरको तीन दिनपछि बिहीबार राति दाहासंस्कार गरिएको छ। मत्युको कारण कोरोना पोजेटिभ पुष्टि भएपछि गएराति नै सुरक्षाकर्मीले परिवारको रोहबरमा गौंडेपुल क्षेत्रमा अन्त्येष्टि गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.