लकडाउनकाे कुनै प्रभाव परेन, स्थानीय त्रसित

|

भद्रपुर : झापाको काँकडभिट्टा नाका भएर एकै दिनमा हजार भन्दा बढी मानिसको आवतजावत हुन थालेको छ। सरकारले तोकेको २० वटा प्रवेश विन्दुअन्तर्गत झापामा काँकडभिट्टा नाकालाई मात्र तोकेपछि त्यहाँ दैनिकजसो त्यहाँ ठूलो भीड लाग्न थालेको छ।

नाकामा भिडभाड बढेपछि कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा चुनौती थपिएको छ। 

भारतका विभिन्न राज्यमा अध्ययन, भ्रमण तथा रोजगारीको सिलसिलामा पुगेका नेपाली त्यहाँ यातायात खुलेपछि पूर्वीनाका हुँदै आउन थालेका र नेपालको काठमाडौँसहित विभिन्न जिल्लामा रहेका भारतीयसमेत बस चढेर काँकडभिट्टा आउन थालेपछि दैनिक भीड लाग्ने गरेको छ। 

नेपाली र भारतीय नागरिक दुवै आआफ्नो देश फर्किन लाग्दा यस्तो अवस्था देखिएको हो।
 
भारतले केही दिन उत्तरबंगालका बासिन्दालाई प्रवेश गर्न दिन नमानेपछि सीमाको पुलमुनिको भाग होल्डिंग क्षेत्र बन्न पुगेको छ। हालै आएर भारतले बिहान १० देखि बेलुका ५ बजेसम्म दैनिक ५ सय देखिएक हजारलाई मात्र भारत प्रवेश दिइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए। 

बिहीबार ३ हजार र शुक्रबार मात्रै एक हजार भारतीयलाई भारत प्रवेश गर्न दिएको उनले बताए। ‘भारतीयलाई पुलमाथि र तल दुवै तर्फबाट पठाइरहेका छौं,’ उनले भने, ‘भारतबाट भने दिनमा एक सयदेखि दुई सयको सङ्ख्या नेपाली पनि आइरहेका छन्।’ 

नेपाल आउनेलाई काँकडभिट्टामै विवरण संकलन गरी आआफ्नो जिल्ला पठाइरहेको उनले बताए। काँकडभिट्टा नाका भएर आउने र जानेको सङ्ख्या बढेपछि व्यवस्थापनमा प्रहरीलाई चुनौती थपिएको छ।

पछिल्लो समय हजारौँको सङ्ख्यामा सो नाका भएर मानिस आवतजावत गर्ने अवस्था आएपछि सङ्क्रमण रोक्न चुनौती बढेको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए। 

उनीहरूको व्यवस्थापनका लागि सबै तह लागिपरेको बताइएको छ। अहिलेसम्म सो नाकाबाट १५ हजारको हाराहारीमा नेपाली नागरिक आइसकेका प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। भारततर्फ २० हजार बढी भारतीय नागरिक गइसकेका उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.