|

सल्यान : भारत तथा बाह्य जिल्लाबाट आएका नागरिकहरु यतिबेला क्वारेनटाइनमा बसिरहेका छन्। क्वारेनटाइनमा प्रायको बसाइ कष्टकर भइरहेको समाचार आइरहँदा सल्यानको एक क्वारेनटाइनमा बसेकाहरु भने रचनात्मक काममा व्यस्त छन्।

सिद्ध कुमाख गाउँपालिका–३ फलाँटेमा रहेको बालकल्याण आधारभूत विद्यालयको क्वारेनटाइनमा रहेका युवाहरुले भने विद्यालय हाताभित्र करेसाबारी निमार्ण गर्नुका साथै विरुवा रोप्नका लागि तीन दर्जनभन्दा बढी खाडल खनेका छन्।

क्वारेनटाइनमा बसेका २४ जनाले विद्यालयको हाताभित्र दुईवटा करेसाबारी र फलफूलका विरुवा रोप्नका लागि तीन दर्जन खाडल तयार पारेका छन्। दिनभर बसेर समय खेर फाल्नुभन्दा आफ्ना छोराछोरीहरुका लागि सिकाइ पनि हुने भएकाले यस्तो कार्य गरेको धनबहादुर चलाउनेले बताए। 

‘क्वारेनटाइनभन्दा बाहिर जान पाइँदैन, दिन कटाउन गाह्रो भइरहेको थियो सबैको सल्लाहअनुसार विद्यालयमा करेसाबारी र खाडल निमार्ण गरेका हौं,’ उनले भने, ‘गाउँपालिकाले नै तयार गरेको कृषि वन नर्सरीबाट सुन्तला, कागती र टिमुरका विरुवाहरु ल्याएर त्यहाँ रोप्ने हो।’

छोराछोरी विद्यालय सञ्चालन भएपछि पढ्न आउने र उनीहरुले पनि सिकून् भनेर यस्तो काम गरेको नरबहादुर बुढाथोकीले बताए। यस्तै, करेसाबारीमा बर्खे  तरकारी लगाउने तयारी भएको उनको भनाइ छ।

गाउँपालिकाका सूचना अधिकारी भीम भण्डारीका अनुसार गाउँपालिकामा भारत र बाह्य जिल्लाबाट आएका २५८ जना क्वारेनटाइनमा छन्। सल्यानमा भारतबाट आएका मात्र करिब तीन हजार ५०० जना रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.