|

धादिङ : सवारी चापका कारण मर्मत सम्भारमा कठिनाइ हुने गरेको त्रिभुवन राजपथअन्तर्गत धादिङको नौबिसे-नागढुंगा सडकखण्डमा धमाधम मर्मतसम्भार भइरहेको छ।

लकडाउनका कारण सडकमा सवारी साधनको संख्यामा कम भएपछि सडक मर्मत सम्भार सहन रुपमा अघि बढेको हो। विगतमा एकतर्फी सवारी रोकेर मर्मतसम्भार गर्दा दिनहुँ घण्टौं सडक अवरुद्ध हुने गरेको थियो। जसबाट हजारौं यात्रुहरु मर्कामा पर्ने गर्दथे।

सडकको नौबिसे-पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड-नागढुंगा खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्दछ।

देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने सडक जीर्ण भए पनि सवारी साधनको चापले मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको थियो। सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने सडक कार्यालयका अधिकारीहरुको गुनासो थियो। अन्य समयमा १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको थियो। अहिले लकडाउनको कारण सडक सुनसानजस्तै भएपछि मर्मत सम्भारले गति लिएको हो। महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका अनुसार लकडाउन अघि यो सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दथे।

अहिले खाल्टाखुल्टी र भत्केका स्थानमा कालो पत्रे गर्ने काम भइरहेको प्रतिष्ठा कन्ट्रक्सनका साइड इन्चार्ज विजय अधिकारीले बताए। अहिले नियमित कालो पत्रे नभई बिग्रे भत्केको स्थामामा मात्र मर्मत सम्भार गरिएको हो। नौविसेदेखि नागढुंगासम्म आवश्यकता अनुसार मर्मत गर्न थालिएको भए पनि पानी परेकाले केही कठिनाइ भएको अधिकारीले बताए। वर्षातले अवरोध नगरे जेठ अन्तिमसम्म सुधारको काम सकिने उनको भनाइ छ।

शिवाको कन्ट्रक्सन र प्रतिष्ठा कन्ट्रक्सनले सडकको मोड कटिङ, पर्खाल लगाउने र कोलोपत्रे मर्मत गर्ने काम भ्याटसहित सात करोड ६० लाख रुपैयाँमा ठेक्का लिएको सडक डिभिजन कार्यालय भरतपुर साइड अफिस गजुरीका इन्जिनियर कृष्ण खड्काले जानकारी दिए।

इन्जिनियर खड्काका अनुसार चैतको पहिलो साता मात्र ठेक्का सम्झौता भए पनि कामले तीव्रता लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.