बाहिरी दृष्टिमा अलमलिनेले अन्तरदृष्टि र अन्तरज्योति ठम्याउँदैन

|

जापान बसाइको क्रममा परिचित डा. कमल लामिछानेको अन्तर्दृष्टि नामक कृति प्रकाशित भएको झन्डै एक वर्ष पुग्योI संयोगवश कृति विमोचनको समयमा उपस्थित हुने मौका पाएकी मैले किताबको शीर्षक र उहाँको व्यक्तित्वसँग परिचित भएको नाताले केही लेख्छु भन्ने सोचाइ थियोI

किताब हात पर्नासाथ २-४ दिनमै अध्ययन गरेर सकिए पनि यसमाथि कलम चलाउन भने एक वर्ष पछि परेँI किनकि, एकातिर कृतिको शीर्षक र गहनता अनि अर्कोतिर व्यक्तित्वको अन्तर्दृष्टिमाथि साक्षी भएर सोही भावअनुरूप कलम चलाउनु मेरो लागि सहज भएनI

कमलको अन्तर्दृष्टि कृतिको लेखाइले भन्दा धेरै भोगाइ अनि भोगाइभन्दा धेरै सामाजिक एवं व्यावहारिक पक्षमा साक्षी हुन पुग्दापुग्दै म नै आफ्नो अन्तर्दृष्टिमार्फत समाधिस्थ हुन पुगेँ कैयौंपटकI जीवनकालमा संसारको भूगोल, इतिहास, व्यक्ति, समाजलाई पढ्न भ्याउने हामी आफ्नै जीवनको किताब पढ्न भ्याएका हुँदैनौं, मेसो पाएका हुँदैनौंI

हाम्रा गुरू भन्नुहुन्छ यदि तिमीले आफ्नै जीवनको किताब पढ्न भ्याएका छैनौँ भने अलिकति शरम मान र पढ्न सुरु गर अनि मात्र तिमी जीवनको गीत गाउन सक्ने हुन्छौI कमलजीले यस कृतिमार्फत आफ्नै जीवनलाई लेख्नुमात्र भएको छैन आफैंले पढ्नु पनि भएको छ। जसको हातमा यो कृति पुग्छ उसले आफूलाई, आफ्नो घर समाजलाई र समाजका मान्यतालाई पनि पढेर खुलस्त उतार्न सक्नुपर्छ भन्ने प्रेरणा दिनुभएको छI

ज्ञान र अनुभूति भन्ने कुरा प्राप्त गरेपछि आफैंमा भण्डारण गरेर सीमित गर्ने पनि होइन त्यो अरूलाई बाँड्न सक्नुपर्छI कृतिभित्रका लेखाइ भन्दा पनि यसले सबैको जीवनमा के सिकाइ दिन सक्छ भन्ने केही बुँदालाई आफ्नो बुझाइमार्फत थोरै चर्चा गर्ने जमर्को गरेकी छुI

अन्तर्दृष्टि

कुनै पनि वस्तु, व्यक्ति, समाज या जुनसुकै चिज र परिस्थितिप्रतिको हेराइ, सोचाइ, धारणा र तिनबाट आउने नतिजाबारे बनाइने धारणा दृष्टि होI दृष्टिभन्दा उच्चतम चेतनाको तल अन्तर्दृष्टि होI अन्तरचेतना र अन्तरात्मादेखि देखिएको घटना, विचार र अनुभव जसमा कुनै कथा नबनाई यथार्थ जे हो घटनालाई घटनाकै रूपमा प्रस्तुत गर्नु र त्यसबाट विचलित नभई जीवनमा धैर्य र पुरुषार्थ जारी राख्नु अनि ती घटना र अनुभवबाट सत्य ग्रहण गर्नु अन्तर्दृष्टि होI

सामान्य अर्थमा हामीले बुझ्ने दृष्टि हाम्रो बाहिरी आँखाको हेराइ होI हाम्रो बाहिरी आँखाले जे देख्छ त्यसलाई धारणा बनाएर हाम्रो जीवन चल्ने गरेको हुन्छ। तर, कमलजीको हकमा भने उहाँको बाहिरी आँखा र दृश्य कमजोर छ। त्यसैले उहाँको शारीरिक अवस्थालाई हेरेर समाजले दृष्टिविहिन भनेर अर्थ लगाउँछI

बाहिरी दृष्टि नै सबै चिज हो भन्ने मान्यता राख्नेलाई अन्तरदृष्टि र अन्तरज्योति के हो बुझ्न कठिन हुन्छI आँखा मात्र देखेर के गर्नु? असम्यक हेराइ भयो भने आँखा अगाडि नै अनेकौं दु:खका कारणहरू आइलाग्दछन्। त्यसैले आँखा देख्नेलाई सुख र नदेख्नेलाई दु:ख होइन, दु:ख त व्यक्तिको धारणामा छिपेको छ भन्ने बोध यो कृतिले गराउँछI

कमलजीको अन्तरज्योतिमार्फत खिलेको अन्तरदृष्टि, भित्रको हेराई, आन्तरिक ज्योतिको उपयोगको कारण आज अन्तर्राष्ट्रियस्तरमै अपांगता अध्ययनमा स्थापित भएर प्राडा. को स्थानमा पुग्न सफल व्यक्तित्वको पहिचान बनेको छI उहाँले आफ्नो बालापनदेखिका भोगाइ, दृष्टिविहिन भएकै कारणले घरपरिवारले गरेको व्यवहारिक भिन्नता, अन्तरआत्मादेखि उब्जिएको अध्ययनप्रतिको हुटहुटी, आफूले केहि अध्ययन गर्न सकियो भने आफू जस्तै समूहका व्यक्ति, समाज र राष्ट्रलाई नै केही गर्न सकिन्छ कि भन्ने तीव्र चाहना भएकै कारण आज अन्तर्राष्ट्रियरूपमा दृष्टिविहीन र अपाङ्गताको क्षेत्रमा योगदान गर्न सफल हुनुभएको कुरा कृतिले छर्लंग बोलेको छI

अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयसम्म पुगेर अनुसन्धानकर्ताको रूपमा स्थापित हुनमा उहाँको बाहिरी दृष्टि नभएर अन्तर्दृष्टिकै परिणाम होI व्यक्तिको बाहिरी दृष्टिलाई मात्र मूल्यांकन गरेर हेर्न मिल्दैन। उसको आन्तरिक क्षमता र अन्तरचेतनाले कसरी काम गर्दछ भन्ने कुरा जान्न पनि अन्तर्दृष्टिले आँखा खुलाइदिन्छI

दृष्टिविहीनले अरूले जस्तो बाहिरको संसार देख्न सक्दैनI बाहिरी संसार देख्न नसक्नेका सपना, कल्पना, जीवन, उद्देश्य, लक्ष्य र सफलता पनि होलान् र? भन्ने स्वदेशी या विदेशी मानिसहरूको धारणालाई चिरेर समाजलाई एउटा ठूलो प्रेरणा दिन सफल व्यक्तित्व हो डा. कमल लामिछानेI यो कार्य बाहिरी आँखाले होइन भित्रको दृष्टि र संकल्पनाले सम्भव भएको होI

जसका प्रशस्त उदाहरण यस कृतिभित्र पढ्न र अनुभूति गर्न पाइन्छI दृष्टिविहीन सफल या असफल हुने होइन एउटा संकल्पवान् व्यक्तिले जीवनमा सफलता हाँसिल गर्दछ भन्ने विज्ञान अन्तर्दृष्टि कृतिले उजागर गरेको छI अतितका घटनाबाट, घर, परिवार र समाजका मान्यतालाई प्रतिवाद नगरी, नकारात्मक धारणाबाट  मुक्त भएर आफ्नो उद्देश्यमा संकल्पित हुने खुबी के हो जान्न यो कृति अध्ययन गर्नैपर्दछI

चितवन जुटपानीमा बालककाल बिताएर, भक्तपुर र काठमाडौं, ब्रेल र गमनशीलताको तालिमदेखि जापानसम्म पुग्नु। विदेशका कैयौं यात्रा, सेमिनार र तालिम सम्पन्न गर्न सक्नु अन्तरात्मादेखिको संकल्पना र त्यसको परिणाम होI सफलताका उदाहरणहरू पढ्दै जाँदा प्रेरणाका तरंगहरूले जोसुकैलाई जीवनमा अगाडि बढ्न साहस थप्छI जीवनमा सङ्कल्प लिएर अघि बढ्ने सूत्रहरू प्राप्त हुन्छन्I

आफूभित्र खोज्ने खुबी

आज संसारका जुनसुकै कुनाका व्यक्तिमा दु:ख, अपूर्णता, गुनासो छ त एकअर्काप्रतिको गुनासो, अर्कैले धोका दियो, सहयोग गरेन, यस्तै यस्तै बहिर्मुखी घटनाका परिणामबाट गुज्रिनुका कारण हुन्I तर, कमलजीको जीवनमा धेरै असहजतापूर्ण परिस्थिति आउँदापनि अरूलाई दोष दिनुहुन्न बरू आफ्नो क्षमता पहिचानमा अग्रसर बनिरहनुभयोI

आफू दृष्टिविहीन भएकै कारण आफ्नै परिवारले अशक्त, अबुझ र असामान्य व्यक्तिसरह व्यवहार गर्दै जाँदा घरभित्र र समाजमा आफूलाई भेट्न नसकेको महसुसलाई निर्धक्क अभिव्यक्त गर्नु भएको छ। आफ्नो अस्तित्व नभएको महसुस भएपनि आफैंभित्र आफूलाई खोज्नुपर्छ भन्ने अन्तर्बोध घटित भयो र त्यसअनुसार विचलित नभई आफ्नो जीवनपथमा अगाडि बढेको कुरा पुस्तकले प्रष्ट पार्छI

एउटा दृष्टिविहीनले भोग्ने शारीरिक/भौतिक र सामाजिक कठिनाई उहाँले पाइला पाइलामा भोग्नुभएको छ। तर त्यसबाट विचलित नभई आफू यो जीवनमा आउनु, आफू हुनु, आफ्नो अन्तरचेतनालाई जान्दै अस्तित्वको इशारामा आफ्नै अन्तर्दृष्टिलाई थाहा पाउने अभ्यास गरिरहनुभएको छI समाजले हेर्ने शारीरिक सपाङ्गता, दृष्टि, भोगबाट माथि उठेर आफूलाई उच्च चेतनाको स्तरबाट कर्मयोगमा तल्लीन बनाउनु भएको छI

हामी भित्रबाट जे चाहन्छौं त्यो बाहिर खुलाउन चाहन्नौंI भित्रबाट आएको भावनालाई पनि समाजले, परिवारले के भन्ला भन्ने भयरूपी अहंकारले गर्दा दमित गरेर राख्छौंI तर कमलजीले आफ्ना हरेक भावनालाई, परिवारले गरेका अभद्र र विभेदका घटना र भावनालाई दमित नगरी खुलस्त ओकल्नु भएको छI यो एउटा आध्यात्मिक गुणवत्ता होI

कृतिको संरचना बारेमा

अन्तर्दृष्टि कृतिभित्र आफ्नै जीवनका गाथालाई जोडेर समग्र दृष्टिविहीनहरूलाई प्रतिनिधित्व हुनेगरी जीवनको यथार्थ, समाजका मान्यता, समाजको प्रश्न, गहिरा जिज्ञासा, आफ्ना संघर्ष, सिकाई, भोगाई, स्वदेश तथा विदेशका अनुभव, प्रेम, यौन, विवाह, प्रविधिको प्रयोग र आफूले पाएका सहयोगका बारेमा सरल र सरस भाषामा सूचिबद्ध गरिएका छन्I

तथापि, पुस्तकको विषयसूचीको क्रम भने अलि नमिलेको पाएँI जीवनको कथा बाल्यकालदेखि लिएर यौनावस्था, नेपालको अध्ययनदेखि जापान, अमेरिका लगायतका जुन यात्रा र अनुभव छन् तिनको सिलसिला क्रमागत रूपमा मिलेको भए कृति अझै सलल बग्ने थियो कि जस्तो लाग्छI

सुरुमै स्थापित परिचयसहित लेखकको सफलता पढ्दै जाँदा बीचमा गएर परिवारको प्रसंग र  बाल्यकालका घटना जोडिन पुग्दछन् अनि पढिसकेको किताब फेरि फर्केर पढ्दै कुराको सिलसिलामा जोडिनुपर्ने देखिन्छI विदेश यात्राको प्रसंग बगिरहेको अवस्थामा घरायसी कुरा र  देश चिन्तनका प्रसंग आइरहेको अवस्थामा फेरि बाल्यकालका प्रसंग ठोक्किन पुग्दा सम्पादनमा राम्रो ख्याल पुगेन कि भन्ने महसुस हुन्छI

कृति पढ्दै जाँदा जसरी एउटा लयमा बग्छ र भावुक बनिन्छ बीचमा कतैबाट प्रसंग मोडिँदा अगाडिको अनुभूतिले फिक्का महसुस गराउँछI नेपाली भाषा र कृतिको सम्पादनको अन्तिम चरण अनि छापामा जाँदासम्म नदेखिनेगरी भाषागत त्रुटिहरू देखिनुलाई भने लेखकीय त्रुटि भन्न नमिल्लाI आगामी संस्करणमा अवश्य विचार पुग्ने नै छI भविष्यमा यस्ता कृतिहरू अध्ययन गर्न पाउने अपेक्षासहित डा. कमल लामिछानेलाई शुभकामनाI

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.