|

डडेल्धुरा : बाजुरास्थित एक क्‍वारेन्टाइनमा बसिरहेका एक वृद्धको मृत्यु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका ७ स्थित क्‍वारेन्टाइनमा बसिरहेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो। उनी जेठ १५ गते भारतबाट आएर क्‍वारेन्टाइनमा बसिरहेका थिए।

शुक्रबार बेलुका खाना नखाएको र राति एकाएक बिरामी भएर उनको मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका ७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए। गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्‍वारेन्टाइनमा उनको मृत्यु भएको उनले बताए।

वडाध्यक्ष रावतका अनुसार उनी विगत  २५ वर्षदेखि भारतमा बस्दै आएका र त्यहीँ  जेठ १५ गते मात्र गाउँमा आएका हुन्। मृतकको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।

मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने प्रजिअ गैरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.