|

भद्रपुर  : नेपालमा प्रतिबन्धित भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ र रजनीगन्धासहित नियन्त्रणमा लिएका भद्रपुरका एक कारोबारीमाथि अनुसन्धान सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त प्रहरी टोलीले बिहीबार भद्रपुर- ५ बस्ने अशोक सहनीको गोदामबाट ठूलो मात्रामा सुर्तीजन्य पदार्थ र रजनीगन्धा बरामद गरेको थियो।

सुर्तीजन्य पदार्थ र रजनीगन्धा खोज्दै प्रहरी टोलीले गोदाममा छापा मार्दा बिलबिजक नभएको पाँच पोका कपडासमेत बरामद गरेका थियो। सहनीलाई समेत नियन्त्रणमा लिएका प्रहरीले शुक्रवार सुर्तीजन्य पदार्थ, रजनीगन्धा र कपडा भद्रपुर भन्सार कार्यालय बुझाएको छ। प्रहरीले कारोबारी सहनीसहित ४ लाख २७ हजार मूल्य तोकेर सामान बुझाएको भद्रपुर भन्सारका कर्मचारी विकास दाहालले जानकारी दिए।

यता, भन्सारले सामानको विषयमा सहनीमाथि छानबिन सुरु गरेको छ। सहनीमाथि दुई वटा मुद्दामा अनुसन्धान भइरहेको कर्मचारी दाहालले बताए। प्रतिबन्धित भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ र रगनीगन्धाको एउटा मुद्दा र अवैध कपडाको अर्को मुद्दा दर्ता गराई अनुसन्धान भइरहेको छ। कारोबारी सहनीसँग बयान लिने काम भइरहेको उनले बताए। बयानपछि धरौटीमा रकम तोकिनेछ।

सामान बराबरको ४ लाख २७ हजार धरौटी बुझाए मात्र उनलाई छाडिने भन्सारको कानुन रहेको बताइएको छ।

घटना विवरणअनुसार भद्रपुर ५ स्थित देवीवस्ती नाकाबाट कारोबारी सहनीले सशस्त्र प्रहरीलाई पोकाको एक हजार दिएर प्रतिबन्धित सुर्तीजन्य पदार्थ र रजनीगन्धा तस्करीको माध्यमबाट भित्राएर झापामा बिक्री वितरण गरिरहेको उनले दिएको बयानबाट खुलेको छ।

लकडाउनमा पनि सशस्त्र प्रहरीको सेटिङमा झापामा तस्करी भइरहेको सञ्चारमाध्यममा समाचार बाहिरिएपछि सशस्त्र प्रहरी बल २ नम्बर गण झापामा तरङ्ग फैलिएको प्रहरी स्रोतको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.