|

डोटी : डोटीका स्थानीय तहका क्‍वारेन्टाइनमा बसेकालाई घर पठाए पनि उनीहरु भने गएका छैनन्। दिपायल सिलगढी नगरपालिकाले बनाएको लडागडाको सुनादेवी माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा १३ दिन बसेपछि १४ जनालाई घर पठाइएको थियो। 

त्यस्तै वडा नं ६ सिलगढीस्थित पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको क्‍वारेन्टाइमा १४ दिन बसेका २ जनालाई पनि घर पठाइएको थियो। तर उनीहरु फेरि क्‍वारेन्टाइनमै बसेका छन्। उनीहरु भारतको पञ्जावबबाट आएका हुन्। 

दिपायल सिलगढी नगरपालिका वडा नं। ८ सलडा, दाङ स्थायी घर भएका उनीहरु स्थानीय चौखान माध्यमिक विद्यालयमा सेल्फ क्‍वारेन्टाइनमा बसेका छन्। पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा क्‍वारेन्टाइन बसेका २ जना घर फर्किंदा ट्याक्टरमा चढेर गएको र उनीहरूसँगै ट्याक्टरमा स्थानीय ४ जना पनि रहेकाले ती ४ जनासमेत क्‍वारेन्टाइनमा बसेका छन्। 

तीमध्ये ३ जना पुरुष चौखान माविकै क्‍वारेन्टाइनमा बसेका छन् भने १ महिला आफ्नै घरमा सेल्फ क्‍वारेन्टाइनमा बसेका छन्। दिपायल सिलगढी नगरपालिकाले बनाएको सुनादेवी माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा १३ दिन बसेर घर पठाइएका १४ जना र पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा १४ बसेका २ जना गरी १६ जनाको आरडिटी परीक्षण भने भइसकेको थियो।

आरडिटी नेगेटिभ आएपछि घर

आरडिटी नतिजा नेगेटिभ आएपछि उनीहरुलाई यहीँ जेठ २२ गते स्थानीय तहले घर पठाइएको र उनीहरु फेरि सेल्फ क्‍वारेन्टाइनमा बसिरहेको लडागडाका समाजसेवी तथा अस्थायी क्‍वारेन्टाइन व्यवस्थापन संयोजक गणेश साउँदले जानकारी दिए।

आरडिटी परीक्षण विश्वास नभएकाले घर परिवार तथा गाउँमा संक्रमण खतरा नहोस् भन्ने उद्देश्यले आफूहरु स्वइच्छाले क्‍वारेन्टाइनमा बसेको भारतबाट आएका क्‍वारेन्टाइनका अगुवा व्यक्ति शेरबहादुर साउँदले जानकारी दिए।

सबै जनाले आ–आफ्नो खानपिन र बसोबास प्रबन्ध आफैं मिलाउने गरी सेल्फ क्‍वारेन्टाइनमा बसेको उनले जानकारी दिए। स्थानीय गाउँका अगुवाको सुझाव सल्लाह र स्वविवेकले आफूहरुले यस्तो निर्णय गरेको र कम्तीमा १० दिन क्‍वारेन्टाइनमा बस्ने साउँदले बताए।

उक्त सेल्फ क्‍वारेन्टाइनमा भारतबाट आएका २ महिला, २ बच्चा र १० जना पुरुषसँगै ट्याक्टरमा यात्रा गरेका ३ जना अरु पुरुष गरी १९ जना रहेको जनाइएको छ। 

स्थानीय सरकारले व्यवस्थापन गरेको क्‍वारेन्टाइनमा बसेर आरडिटीसमेत परीक्षण गरेर घर पठाइएकाहरु आफैं व्यवस्थापन गर्ने गरी फेरि क्‍वारेन्टाइनमा बसेर उच्च सतर्कता अपनाएको विषय अरुका लागि पनि सिकाइको विषय भएको नेपाल शिक्षक महासंघ दिपायल सिलगढी नगर अध्यक्ष तथा चौखान माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक केदार साउँदले बताए।

आरडिटी परीक्षणमा विश्वास नदेखिएकै अवस्थामा डोटी जिल्लामा भने विभिन्न स्थानीय तहले आरडिटी परीक्षण गरेर नतिजा नेगेटिभ भएकालाई धमाधम घर पठाउन थालेका छन्। 

भारतबाट मानिस आउने क्रम जारी रहेकाले क्‍वारेन्टाइन व्यवस्थापन गर्न पनि समस्या रहेको र पिसिआर परीक्षणको सम्भावना पनि नभएकाले स्थानीय तहले घरमा सुरक्षित बस्नु भन्दै घर पठाइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.