नि:शुल्क एम्बुलेन्स, उद्धार पनि गरिँदै

|

दमक झापा : झापाको दमक नगरपालिकामा होल्डिङ स्टेशनसहित तीनवटा क्‍वारेन्टाइन सञ्चालनमा छन्। तीमध्ये एउटामा महिला मात्र छन्। 

दाहाल प्रतिष्ठान, मिष्ट कलेज र मदन भण्डारी स्मृति प्रतिष्ठानको कलेजलाई क्‍वारेन्टाइन बनाएको नगरपालिकाले महिला र पुरुष एकै स्थानमा राख्दा समस्या हुने भन्दै अलग्गै व्यवस्था गरेको हो। 

महिलाका लागि व्यवस्था गरिएका क्‍वारेन्टाइनमध्ये पनि दमकका बासिन्दा र बाहिरका महिलाका लागि पनि अलग अलग व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीका अनुसार तीन ओटा क्‍वारेन्टाइनमध्ये मिष्ट कलेजलाई होल्डिङ स्टेशनका रुपमा उपयोग गरिएको छ। 

स स्थानमा पुरुषहरुलाई मात्र राखिएको छ। स्थानीय र अन्यत्रका पुरुषलाई पनि अलग अलग राख्ने व्यवस्था अनुसार दमक भित्रका पुरुषहरुलाई दाहाल प्रतिष्ठानमा राखिएको छ। 

महिलाहरु मात्र राखिने मदन भण्डारी स्मृति प्रतिष्ठानको क्‍वारेन्टाइनमा पनि दमकका स्थानीय र अन्यत्रका महिलाहरुलाई भेट हुन नपाउने गरि अलग्गै राखिएको छ। 

कलेजको माथिल्लो तलामा दमकका मात्र महिलाहरु राखिएको छ। महिला मात्र राखिएको क्‍वारेन्टाइनमा महिलाहरुको सहजताका लागि सरसफाईका सामाग्री तथा सेनीटरी प्याडको समेत व्यवस्था गरिएको छ। 

क्‍वारेन्टाइनमानै रहेको समयमा समेत महिलामाथि विभेद तथा हिंसा हुन सक्ने भएकाले त्यस्तोा अवस्था आउन नदिन उनीहरुका लागि अलग्गै बस्ने व्यवस्था मिलाइएको जनाईएको छ। 

शुरुमा महिला र पुरुषलाई एउटै क्‍वारेन्टाइनमा राख्ने गरिएको भए पनि भारतबाट नेपालीहरु भित्र्याउने क्रम शुरु भएसँगै अलग अलग क्‍वारेन्टाइन सञ्चालन गरिएको हो। 

क्‍वारेन्टाइन र आइसोसेलन थपियो

भारतबाट भित्रिनेको संख्या बढेसँगै क्वारेन्टाइनको क्षमता पनि बढाइएको छ। २४ जना क्षमताको दाहाल प्रतिष्ठानमा ४० र २० जना क्षमताको मिष्ट कलेजलाई ६० जना क्षमताको बनाइएको छ। 

मदन भण्डारी प्रतिष्ठानमा थप एक सय जना राख्न सक्ने गरि क्‍वारेन्टाइन निर्माण गरिएको हो। यस्तै दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा शुरुमा २ शैयाको आइसोलेसन कक्ष सञ्चालन गरिएको थियो। 

तर यसको क्षमता वृद्धि गरि ४ शैयाको बनाइएको छ भने दमककै आम्दा अस्पतालमा पनि ५ शैयाको आईसोलेसन तयारी अवस्थामा राखिएको छ। 

स्वास्थ्यकर्मीको जाँच

झापामा पहिलो पटक कोरोना संक्रमित भेटिएको दमकका सबै अस्पतालका स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गरिएको छ। नगरपालिकाले सरकारी अस्पतालसहित निजी अस्पतालहरु लाइफलाईन, नमस्ते, निम्स, दमक हस्पिटल र ओममेची अस्पतालका ३-३ जना स्वास्थ्यकर्मीसहित ४५ जनाको पीसीआर परीक्षण गरिएको हो। परीक्षणको सबै नतिजा नेगेटिभ आएको छ। 

यस्तै लकडाउनको अवधिमा मृगौलाको डायलासीस गर्ने बिरामीका लागि नगरपालिकाले सहुलियतमा एम्बुलेन्स उपलब्ध गराएको छ भने सुत्केरीका लागि नि:शुल्क सेवा प्रदान गरेको छ। 

डायलासिस गर्ने बिरामी लकडाउनको समयमा टाढाका अस्पताल सम्म एम्बुलेन्समा जानु पर्ने भएकाले न्यून दरमा प्रदान गरिएको नगरपालिकाले जनाएको छ। प्रसुती गराएका महिलाले भने निशुल्क एम्बुलेन्स सेवा पाउँदै आएका छन्। 

महिला र बालबालिकाको उद्धार 

लकडाउनकै समयमा दमकबाट सडक बालबालिका तथा सहयोगापेक्षी महिलाको उद्धार गरिएको छ। आफ्न्तविहीन ४ जना बालबालिकालाई उद्धार गरि बालसंरक्षण गृहमा पठाइएको नगरपालिकाले जनाएको छ। 

यसैगरी लकडाउनकै बीचमा दुई महिलाको उद्धार गरि नगरपालिकाले सञ्चालन गरेको सेफहाउसमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.