|

भक्तपुर : भक्तपुरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। भक्तपुरको कमलविनायक बस्ने दोलाखाकी ३१ वर्षिया महिलामा शनिवार कोरोना पोजिटिभ देखिएको हो।

भक्तपुर नगरपालिका ९ कमलविनायको चोफलेमा डेरा गरी बस्ने ती महिला गत जेठ २१ गते सुत्केरी व्यथा लागेपछि मध्यपुर अस्पताल थिमिमा भर्ना भएकी थिइन्। सोही दिन ती महिलाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। शल्यक्रिया गर्नुअघि संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा शनिवार रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेडिकल डाइरेक्टर डा. रबिना प्रधानाङ्गले जानकारी दिइन्। ती महिला अस्पतालबाट डिस्चार्ज भइसकेको र हाल उनी माईतीघर कोटेश्वरमा रहेको जनाएको छ।

भक्तपुर प्रहरीले संक्रमित महिला डेरागरी बस्ने कमलविनायकको चोफले टोल सिल गरी कन्ट्याक्ट ट्रेसिङको कार्य थालेको छ। यसैगरी अस्पतालमा उपचार गरिएका एक महिलामा कोरोना संक्रमण देखिएपछि मध्यपुर अस्पतालमा ३० जना स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा राखिएको छ। अस्पतालमा मेडिकल डाईरेक्टर डा. प्रधानाङ्गका अनुसार अस्पतालका ६ जना चिकित्सक, १२ जना नर्स, ११ जना हेल्पर र १ जना ल्यावका कर्मचारीलाई क्वारेन्टाइनमा पठाएको हो। 
मध्यपुर थिमि नगरपालिका, महानगरीय प्रहरी वृत्त थिमि, जिल्ला संकट व्यवस्थापन केन्द्रका प्रतिनिधिसहितको बैठकपछि प्रारम्भिक कन्ट्याक्ट ट्रेसिङ गरेर ती स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टाइनमा पठाएको डा. प्राधानाङ्गले बताए।

अस्पतालले नियमितरुपमा निर्मलीकरण गर्दै कर्मचारीको समेत व्यवस्थापन गर्दै आइरहेको जनाउँदैं ओपीडी, इमर्जेन्सी र आइसीयु सेवा सञ्चालन भइरहेको जानकारी दिएको छ। 

पछिल्लो पटक चाँगुनारायण नगरपालिका ३ झौखेलमा ३० वर्षिया गर्भवती महिलामा कोरोना संक्रमण देखिएको थियो। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ। भक्तपुरका अघिल्ला चार संक्रमित भने निको भएर घर फर्किसकेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.