मलामीको कोरोना परीक्षण हुने

|

डडेल्धुरा :  अन्त्येष्टि गरिसकेपछि कोरोना पोजेटिभ देखाएकी कैलालीकी एक महिलाको टोल सिल गरिएको छ। प्रहरीले धनगढी उप–महानगरपालिका वडा ४ को महिमा टोल सिल गरेको हो।

स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयको समन्वयमा शनिबार साँझदेखि टोल सिल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए। वडा नम्बर ४ का वडाध्यक्ष दीपक थापाको अनुसार  टोल सिल गर्दै आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ।

उनले महिलाको मलामी गएका सबैको नमुना संकलन गरी परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिमा टोलकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि शनिबार कोरोना पुष्टि भएको थियो।

उनको मलामी गएका महिलामा टोलसहित घोडाघोडी नगरपालिका ३ का ८ जना र बर्दोगोरिया गाउँपालिका २ का दुई जना गरी ४९ जना सम्पर्कमा आएका प्रहरीले जनाएको छ। उनीहरु सबैको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्ने तयारी छ। मृतकलाई सेती प्रादेशिक अस्पताल सम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाटसम्म शव लैजाने ट्याक्टर चालक पनि सम्पर्कमा आएका छन्।

शुक्रबार दिउँसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी ती महिलाको शनिबार बिहान अन्त्येष्टि गरिएको थियो। मोहना घाटमा उनको अन्त्येष्टि गरिएको तर कोरोना पुष्टिपछि मात्रै जानकारी पाईएको थियो। लामोसमयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उनलाई पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पतालमा पुर्‍याइएको थियो।

डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो। मृत्युपछि थ्रोट स्वाबको नमुना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको थियो। मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ।

मृतक महिला यसअघि काठमाडौँबाट उपचार गराएर फर्किएकी थिइन्। मृत्युपछि उनको थ्रोट स्वाबको नमुना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना संक्रमण पुष्टि भएको प्रेस ब्रिफिङमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका थिए।

अन्त्येष्टि गरिसकेपछि कोरोना पोजेटिभ, मलामी खोजी गर्न थालियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.