|

स्याङजा : होमस्टेको राजधानी हो स्याङजा। देशकै पहिलो ग्रामीण पर्यटकीय श्रेत्र सिरुबारी होमस्टे यही जिल्लामा छ। यहाँका टाकुरा, पाखा पखेरा, सुन्तलाका बगैंचा रहेको स्थानमा होमस्टे सञ्चालनमा आएका छन्। तर, कोरोना भाइरसको संक्रमणको सन्त्रासले ती होमस्टे अर्थात घरबास सुनसान छन्।

यही सुनसानको मौका छोपेर वालिङ नगरपालिका–१० दाङसिङ्गका स्थानयि भने पैदल मार्ग निर्माणमा जुटेका छन्। उनीहरुले सञ्चालन गरेको दाङसिङ्ग सामुदायिक होमस्टे लकडाउनको कारण सुनसान बनेपछि फुर्सदिला भएका स्थानीय गैँती र कोदालो लिएर विकास निर्माणमा सामूहिक श्रमदान गरिरहेका छन्। लकडाउनपछि पाहुनालाई थप मनोरञ्जन प्रदान गर्न पैदल मार्ग निर्माण गरेको उनीहरुको भनाइ छ।

अहिले यहाँका २७ घरधुरीका युवाहरु गैँती र कोदालो बोकेर थामडाँडा भ्यु टावर र रक गार्डेन जाने पैदल मार्ग निर्माण गर्न श्रमदानमा जुटेको होमस्टे सञ्चालक चित्रबहादुर राना बताउँछन्।

‘लकडाउनपछि पाहुनालाई थप मनोरञ्जन प्रदान गर्न पैदल मार्ग निर्माणमा श्रमदान गरेका छौँ,’ उनले सुनाए, ‘बेलुका पाहुना होमस्टेमा रमाउनुहुन्छ, बिहान पैदल यात्रा गर्दै ढुङ्गै ढुङ्गाको बगैंचा र भ्यु टावरको मज्जा लिनुहुन्छ।’

करिब एक किलोमिटर पैदल मार्ग बनाएपछि निर्माणाधीन थामडाँडा भ्यु टावर र रक गार्डेन यहाँको आकर्षण बन्नेमा स्थानीयको विश्वास छ। यो होमस्टेको आकर्षण नै निर्माणाधीन भ्यु टावर र रक गार्डेन भएकाले सहज यात्रा गर्न सकिने ढुङ्गै ढुङ्गाको पैदल मार्ग बनाउने अभियानमा लागेको स्थानीय कृष्णबहादुर रानाले बताए।
 
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत प्राप्त भएको दुई लाख रकम पर्याप्त नभएपछि गाउँका २५ घरधुरीका युवाहरु श्रमदानमा खटिएको वडाध्यक्ष अनन्तराज गैरेले बताए। ‘यो गाउँ सम्भावनाले भरिएको गाउँ हो,’ उनले भने, ‘हामीले पहिलो प्राथमिकतामा युवा रोजगार र उद्यमशीलतालाइ प्राथमिकतामा राखेका छौँ।’

मगर समुदायको बस्ती रहेको यस क्षेत्रमा वालिङबजार, कालीगण्डकी र आँधीखोलाको वहाव सबैभन्दा लामो दूरीसम्म देख्न सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.