|

गुल्मी : जेठ १२ गते प्रादेशिक प्रयोगशाला रुपन्देहीमा धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलको स्वाब नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखियो।

संक्रमण देखिएपनि पोखरेलमा कोरोनाका लक्षण भने देखिएको थिएन। १२ दिनसम्म गाउँपालिकाकै आइसोलेसनमा बसेर आज डिस्चार्ज भएका पोखरेल निकै उत्साही देखिएका छन्‌। आफूले कोरोनालाई सजिलै जितेको दाबी गर्दै पोखरेलले भने, 'एकान्तबासमा रहँदा गाउँपालिकालाई नमूना बनाउनेगरी योजना तयार गरेको छु।'

दूई पटकसम्म परीक्षण गर्दा पोखरेलको रिपोर्ट नेगेटिभ आएकाले पोखरेललाई डिस्चार्ज गरिएकोे गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिएका छन्‌।

डिस्चार्ज भएसँगै पोखरेल गुल्मीबाट कोरोना जित्ने दोस्रो संक्रमित बनेका छन्‌। यसअघि मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहस्थित कृषि विकास बैंकका एक कर्मचारी पनि १० दिनमै कोरोनामुक्त भएका थिए।

'कोरोनालाई सहजै जितेँ'

संक्रमण देखिएपछि अध्यक्ष पोखरेल आइसोलेसनमा बसेका थिए। १२ दिनसम्म त्यहाँ बस्दा आफूले तुल्सीका पत्ता, कागती, पुदिना लगायत औषधीजन्य वनस्पति र जतिबुटी र तातोपानी सेवन गरेको उनले बताए। 

यी जडिबुटी सेवनका कारण पनि आफूमा कोरोनाको लक्षण फैलन नसकेको उनी दावी गर्छन्‌। 'यसबीचमा मलाई आफू कोरोना संक्रमित भएको जस्तो नै लागेन, १२ दिन क्वारेन्टाइन बसेपनि स्वास्थ्यमा कुनै समस्या देखिएन।' कोरोनाबारे धेरै अफवाह फैलिएकाले मानिसहरू आत्तिएपनि संक्रमणलाई जित्न सकिने रहेछ भन्ने आफूलाई लागेको पोखरेलले बताए। 

क्वारेन्टाइनमा बस्दा भेटघाट गर्न आएकासँग सामाजिक दुरी कायम गरी भलाकुसारी गरेको र शुभचिन्तकहरूबाट प्राप्त सान्त्वनाले उच्च मनोबल बनाउन सहयोग गरेकाले अरू संक्रमित बिरामीका हकमा पनि यसरी सहज वातावरण बनाउन उनले आग्रह गरेका छन्‌।

आत्मविश्वास र शारिरिक अभ्यास आवश्यक

क्वारेन्टाइनमा रहँदा नियमित कसरत, योगा गर्ने, पुस्तकहरू अध्ययन गर्ने र गीतसंगीतसँगै फिल्म हेरी आफूलाई व्यस्त बनाएको तथा तनाव नलिएको पोखरेलले जानकारी दिए।

उनले कोरोनालाई धेरै ठुलो रोगका रुपमा नलिइ सामान्य स्वास्थ्यसमस्याका रुपमा लिन र भरसक सजगता अपनाउन आग्रह गरेका छन्‌। 'म आफैंलाई संक्रमण भएछ, तर मैले नआत्तिइकन यसलाई सामान्य रूपमा लिएँ, क्वारेन्टाइनमा बसेँ, स्वस्थ अवस्थामा डिस्चार्ज भएँ, त्यसैले संक्रमण भइहाले पनि बाहिर हल्ला गरिएजस्तो आत्तिनुपर्दैन,' पोखरेलले भने, 'कोरोनालाई जित्न सकिन्छ भन्ने सोचौं, आत्मविश्वास स्वत: पैदा हुन्छ, सकेको शारिरिक श्रम गरिराखौं, आत्मविश्वास र शारिरिक अभ्यासले नै कोरोनालाई जित्न सकिँदोरहेछ।'

लक्षण नदेखिए अस्पताल जानुपर्दैन 

कोरोना संक्रमितमा यसको लक्षण नदेखिए अस्पताल जान आवश्यक नहुने पोखरेलको बुझाई छ।

'संक्रमण भइहाल्यो भने घरमै अरू मानिसहरूसँग निश्चित दुरी बनाएर केही समय एक्लै बस्न सकिन्छ, आत्मबल र खानपानमा ध्यान दिने तथा गाउँघरमा उपलब्ध जडिबुटिहरूको उपयोग गर्न सके कोरोनालाई जितिहालिन्छ नि! यदी यसो गर्दा पनि स्वास्थ्यमा समस्या देखिएचाहिँ उपचारका लागि अस्पताल जाने हो।'

परीक्षणबाट संक्रमण देखिँदैमा हतारिएर उपचारका लागि अस्पताल धाउनुको सट्टा सजगता अपनाएर एकान्तबास बस्नु नै उपयुक्त हुने उनी सुझाउँछन्‌।

गाउँपालिकालाई नमुना बनाउने योजना तयार पारेँ

आफू एकान्तबासमा बस्दा गाउँपालिकालाई नमुना बनाउने गरी योजना तयार पारेको पोखरेलले दावी गरेका छन्‌। 

'गाउँपालिकाका लागि आगामी योजना बनाएको छु, नयाँ आर्थिक वर्ष २०७७/०७८ का लागि गाउँपालिकाले बनाउने नीति तथा कार्यक्रमसँगै चौतर्फी योजनाहरू बनाएको छु, यो महामारीमा आफैं संक्रमित हुनु र आइसोलेसनमा बस्नपर्ने अवस्था आउनुलाई मैले अवसरकै रूपमा प्रयोग गरेँ।' 

कोरोना भाइरसका कारण देश-विदेशबाट फर्किएका र फर्किने क्रममा रहेकाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा आफू संवेदनशील बनेको उनले बताए।

'भारत तथा विदेशबाट फर्किएका युवाहरूलाई उत्पादन क्षेत्रमा जोड्ने र उनीहरूका लागि गाउँमा नै रोजगारी सृजना गरी आत्मनिर्भर बनाउने काम थाल्छु,' पोखरेलले भने, 'गाउँमा रहेका बाँझा जमिनमा खेती गर्ने र कृषि तथा पशुपालनमा जोड दिनैपर्छ, कोरोना भाइरसका कारण निम्तन सक्ने खाद्यसंकट टार्नका लागि  पनि अब गाउँका बाँझो जमिनलाई उत्पादनमा ल्याउनु बाहेकको विकल्प छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.