जनप्रतिनिधिहरूको कुरामा सत्यता छैन : पूर्वाधार कार्यलाय

|

डोल्पा : भौतिक पूर्वाधार कार्यालय डोल्पाद्वारा सञ्चालित विकास योजनाहरूमा ठेकेदारको मनोमानी बढेको पाइएको छ। कार्यालयले आफू माताहतका विकास योजनाहरूको प्रभावकारी अनुगमन र स्थानीय सरकारसँग समन्वय नगरेरै काम अघि बढाउन लगाउँदा ठेकेदारको मनपरी बढेको हो।

सडक निर्माणसम्बन्धी करोडौँ रकमका विकास योजनाहरूमा ठेकेदारले मनपरी काम गरेको भन्दै  जनप्रतिनिधिले आपत्ति जनाएका छन्।

जिल्लाको विभिन्न ठाउँमा सञ्चालित योजनाहरू काम नभएर अलपत्र पर्न थालेको भन्दै स्थानीय सरकारका जनप्रतिनिधि र  सांसदहरूले गुनासो गरेका हुन्।मुड्केचुला गाउँपालिकाले कमसल भागमा मात्रै बाटो खनेको र चट्टानी भूभाग भएको ठाउँमा काम नगरेर त्यसै छोडेको भन्दै जगदुल्ला गाउँपालिकाको काइगाउँ हुँदै सर्मी जोड्ने जनता सडकको काम रोकेको छ।

जथाभावी सडक खन्न थालेपछि रोक्यौँ

उक्त विकास योजनाको निर्माणका लागि कर्णाली प्रदेश सरकारको तीन करोड रकम छुट्याए पनि दुई करोड बाइस लाखमा कामको जिम्मा लिइएको छ।

योजनाको काम डिपिआरअनुसार नभई ठेकेदार र डोजर चालकको भरमा जथाभावी सडक खन्न थालेपछि काम रोक्न बाध्य भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त शाहीले बताए।

‘मुड्केचुला बासीलाई मोटर चढ्न मिल्ने बाटो चाहिएको हो,योजनाको काम सुरु भएदेखि भएको बाटो पनि बिग्रेको छ,जहाँ सजिलो त्यहाँ मात्रै काम गर्ने,चट्टान भएको ठाउँमा त्यसै छोड्ने काम भएको छ’शाहीले भने।

मुड्केचुलाको विकासको उपभोग गर्ने त्यहाँकै जनता भएकाले कमसल विकास गरेर ठेकेदार र कार्यालयको अनुक"ल हुनेगरी कुनैपनि हालतमा काम गर्न नदिने शाहीले बताए।

केही दिनअघि मात्र कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीसँग भएको भिडियो कन्फ्रेन्समा डोल्पाका पूर्वाधारका योजनाका विषयमा प्रदेश सांसद,जिल्ला समन्वय प्रमुख र स्थानीय सरकारका प्रमुखहरूसँग जिल्लाका विकास योजनाहरूको प्रगतिका विषयमा पूर्वाधार कार्यालयको कामप्रति धेरैले असन्तुष्टि जनाएका थिए।

काइगाउँ हुँदै सर्मी जोड्ने बाटोको कामप्रति स्थानीयवासीले समेत असुन्तुष्टि जनाएका छन्। दुई पालिका जोड्ने मोटरबाटोको काम घोरेटो बाटोको जस्तै भएको भन्दै असुन्तुष्टि जनाएका हुन्।

‘सडक निर्माणको जिम्मा कसले लियो त्यसमा आपत्ति छैन्,जनतालाई सडक चाहिएको हो,प्रथम चरणमै जथाभावि बाटो खनेर भू–क्षयको जोखिम बढाएको छ’मुड्केचुलाका एक स्थानीयले बताए।

उनले डोजर चालकले मनपरी कामगर्दा डिपिआरको अंकुस नलगाएर पूर्वाधार कार्यालयले के हेरेर बसेको भन्दै आपत्तिसमेत जनाए। मोटरबाटो निर्माणको जिम्मा राधाकृष्ण एण्ड ब्रोदर्स कन्ट्रक्सनले लिएको छ।

छिट्टै काम सुरु गर्छौँ

उता कन्ट्रक्सनका डोल्पा प्रतिनिधि देब बुढाले ब्रेकर नहुँदा चट्टान काट्न नसकिएको बताउँदै ब्रेकर पठाइसकेकाले तीन–चार दिनमा काम सुरु गर्ने बताए।

काम राम्रो भएकै कारण ४० प्रतिशत भुक्तानी भएको बताउँदै स्थानीय सरकारले काममा असहयोग गरेको आरोपसमेत लगाए।

त्यसैगरी, जगदुल्ला गाउँपालिकाका प्रमुख नारसिँह रोकायले जनता सडकको बाटो जता माटो छ त्यतै खनेर सर्प जस्तै घुमाउरो बनाएको बताए।

ठेकेदारले मापदण्ड अनुसारको बाटो नबनाएको भन्दै बारम्बार भौतिक पूर्वाधार कार्यालयलाई सचेत गराए पनि  बेवास्ता गर्दै आएको उनको भनाई छ। सडक पुर्वाधार विकासका लागिमात्रै डोल्पामा करोडौ रकम भित्रिएको छ।

विकास आयोजनका काम अलपत्र

पूर्वाधार कार्यालयले सञ्चालन गर्नेगरी भित्रिएका जिल्लाका प्रायःविकास आयोजनाको काम अलपत्र परेको प्रदेश सांसद वीरबहादुर शाहीले बताए।

‘हामीले राज्यसँग लडीभिडी करोडौँ रकम भित्रयाउँछौँ,उता पूर्वाधार कार्यालय विभिन्न बहानामा ठेक्का रद्ध गर्छ,भएका आयोजनाको कामका विषयमा पनि चासो राख्दैन,यस्तो अवस्थामा जिल्लाको बिकास कसरी हुन्छ?’ शाहीले प्रश्न गरे।

पूर्वाधार कार्यालयका प्रमुख योगेन्द्र धरलाका कारण त्रिवेणी नर्कु भालुसम्मको पाँच करोड र त्रिवेणी नर्कु काइगउँसम्मको दश करोडको ठेक्का रद्द भएको उनको आरोप छ।

त्यसैगरी, त्रिपुरासुन्दरी नगरपालिकामा आव ०७५/७६ को परेको सुँपानी–रङ्गको १ करोडको मोटरबाटो,चुँगाड–हुम–घोडाखोर हुँदै बलाङ्ग्रा सम्मको १ करोड रकमको कामको अनुगमन गर्दा सन्तोषजनक काम नभएको पाइएको शाहीको भनाई छ।

चुँगाड–हुम–घोडाखोर हुँदै बलाङ्ग्रा सम्मको १ करोडको योजनामा संघीय सरकारअन्तर्गत पर्यटन मन्त्रालयको बजेट डुप्लिकेसन भएको समेत बताइएको छ।

आव ०७५/०७६ को त्रिवेणी–नर्कु–भालु लेक हुँदै जुम्ला जोड्ने पाँच करोडको मोटरबाटो ठेक्का रद्द भई पुनः ०७६/७७ को ३७ करोडको बजेट स्विकृत भइ बोलपत्र आह्वान भइसकेको सांसद शाहीले बताए।

आव ०७५/७६ र ०७६/७७ मा जनता सडक,क्रमागत विकास र बहुवर्षीय गरेर ७६ करोड रकम सडक पूर्वाधार निर्माणका लागि भित्रिएको छ।

जनप्रतिनिधिहरूको कुरामा सत्यता छैन

उता पूर्वाधार कार्यालय डोल्पाका प्रमुख योगेन्द्र धरालाले जनप्रतिनिधिहरूले भनेजस्तै विकास नभएको बताएका छन्। ‘मुड्केचुलाको काइगाउँ हुँदै शर्मी जोड्ने बाटोको ६० प्रतिशत काम भएको छ, आठ मिटर चौडा चार किमि बाटो निर्माण भएको छ,राम्रो काम भएकै कारण अनुगमनपछि बिल उठाएर ४० प्रतिशत रकम भुक्तानी गरिएको हो’धरालाले भने।

 ‘राधाकृष्ण कन्ट्रक्सनलाई चट्टान भएको काम अगाडि बढाउन तीन–चार पटक पत्र काटिसकेको बताउँदै काम अघि नबढाए म्याद पनि नथप्ने भुक्तानी पनि नगर्नेसमेत चेतावनी दिएको धरालाले बताए। उक्त योजनाको भदौमा सम्झौता भए पनि तीन महिनापछि काम सुरु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.