|

काठमाडौंः नवगठित जनता समाजवादी पार्टी, नेपालले पहिचानसहितको संघीयतालाई समुन्नत संघीय शासन व्यवस्थाको रुपमा चित्रित गर्दै नेपाली विशेषताको समाजवादको आवश्यकता औंल्याएको छ। दल दर्ताका लागि हिजो निर्वाचन आयोगमा सो पार्टीले बुझाएको घोषणापत्रमा पार्टीको रणनीतिक लक्ष्य संघीय शासन प्रणालीमा आधारित समाजवादी लोकतान्त्रिक गणतन्त्र हुने उल्लेख गरिएको छ।

मधेसी समुदाय, जसपाले सबैखाले विभेदहरू अन्त्य गर्नुपर्ने भन्दै पहिचान र अधिकारसहितको सङ्घीयता, राज्यका सबै अङ्गहरूमा जातीय/सामुदायिक जनसङ्ख्याको आधारमा समानुपातिक समावेशीकरण, सहभागितामूलक समावेशी लोकतन्त्र, सकारात्मक विभेद जस्ता कुराहरू अगाडि सारेको छ। पहिचान र अधिकारसहितकोे सङ्घीयताको कुरा उठाएको जसपाले नेपालमा प्रशासनिक सङ्घीयता र पहिचानसहितको सङ्घीयता २ मुख्य अवधारणाहरूमा जोड दिएको छ।

अल्पसङ्ख्यक, सीमान्तकृत र लोपोन्मुख समुदायहरूलाई समेट्न विशेष संरचनाका रूपमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र गैरभौगोलिक विशेष क्षेत्रहरू निर्माण गर्नु पर्नेमा जाडे दिइएको छ। जसपाले राष्ट्रियताहरू, भाषिक समुदाय र उत्पीडित क्षेत्रको पहिचान र अधिकारसहितको सङ्घीयता प्राप्तीको सङ्घर्षलाई केन्द्रिकृत रूपमा र प्रादेशिक रूपमा पनि उठाउने बताउँदै  जनसङ्घर्षका विविध रूपहरू प्रयोग गर्दै संसदीय र गैरसंसदीय अर्थात सदन र सडकमा पनि सङ्घर्ष गर्ने नीति लिने घोषणा पत्रमा उल्लेख गरेको छ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि राजनीतिक क्रान्तिको मूल्य र मान्यताको कसीमा हेर्दा यसले अझै पूर्णता प्राप्त गर्न नसकेको भन्दै समाजवादी पार्टीले नेपालमा कमिशनखोर पुँजीवाद फस्टाएकोले असमानता र विकृतिहरू अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याएको छ। राज्य, निजी क्षेत्र र समुदायको सहयोगात्मक भूमिकाको आधारमा नेपालको अर्थतन्त्रलाई अगाडि बढाउनु पर्ने भन्दै जसपाको घोषणापत्रमा देशको अर्थतन्त्रलाई सङ्घीय ढाँचामा पुनर्संरचना गर्नु पर्ने उल्लेख गरिएको छ।

ज्ञान, विज्ञान र चेतनाका आधारमा नेपालको मौलिकतामा आधारित समाजवादको नयाँ प्रारूपको खोजी गरेको बताएको जसपाले समाजवाद बिनाको सङ्घीयताले वर्गीय समस्या हल गर्न नसक्ने ठहर गरेको छ। उसले वर्तमान ७ प्रदेशको प्रशासनिक सङ्घीयतालाई परिवर्तन गरी १० जोड १ को पहिचानसहितको सङ्घीयतामा बदल्न चाहेको पनि घोषणा पत्रमा उल्लेख गरेको छ।

समुन्नत सङ्घीय समाजवाद मार्गदर्शक सिद्धान्त रहेको भन्दै उसले सङ्घीय शासन प्रणालीसहितको समाजवादी लोकतान्त्रिक गणतन्त्रको स्थापनालाई गन्तब्य बनाएको जनाएको  छ।  पहिचानसहितको सङ्घीयता, समाजवादी अर्थ-राजनीतिक दिशा, सहभागितामूलक समावेशी लोकतन्त्र, आर्थिक र सामाजिक न्याय, समतामूलक समृद्धि र मानवीय खुसी, सुशासन र सदाचार, समानुपातिक निर्वाचन प्रणाली र समावेशीकरण, सामाजिक सुरक्षासहितको लोककल्याणकारी राज्य, पर्यावरणीय सन्तुलन र संरक्षण, बहुलतायुक्त तथा बहुसाँस्कृतिक राष्ट्रवाद, उत्पीडित राष्ट्रियता तथा श्रमजीवी जनताको एकतामा जोड दिएको छ।

जनता समाजवादी पार्टीको घोषणापत्र :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.