बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकामा साहित्य सम्मेलन तथा नेपाल-भारत काव्य गोष्ठी हुँदै छ। राष्ट्रिय संरक्षण अभियानको आयोजना र दोगडाकेदार गाउँपालिकाको प्रवर्धनमा यही वैशाख १८ र १९ गते खोचलेकमा सम्मेलन तथा गोष्ठी हुँदै छ।
सम्मेलनमा नेपाल-भारतका साहित्यकार र कविहरूको सहभागिता रहने राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले जानकारी दिए। सम्मेलनको तयारी तीव्र पारिएको छ।
स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन समारोहमा स्थानीय छलिया नृत्य, सगुन र फागलगायत स्थानीय कला संस्कृतिको पनि प्रस्तुति रहनेछ।
सम्मेलनमा नेपाल र भारतका १०० भन्दा बढी लेखक र साहित्यकार सहभागी हुनेछन्।
सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। कवि गोष्ठी, कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा स्थानीय पर्यटकीय स्थलको भ्रमण गराइनेछ।
सम्मेलनको उद्घाटन नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गर्ने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए।
सांस्कृतिक र साहित्यिक हिसाबले नजिक रहेका मुलुक भएकाले नेपाल र भारतका साहित्यकारहरूको सहभागितामा सम्मेलन आयोजना गरिन लागेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।