फिचर

'व्यवसायले म बाँचेकी छु, सिर्जनाले श्वास दिएको छ'

असोज ११, २०७५

    काठमाडौं : काठमाडौंलगायतका देशका विभिन्न ठाउँमा आयोजना हुने प्राय: कवि गोष्ठीहरूमा हातमा डायरी लिएर कविता वाचन गरिरहेको भेटिन्छिन् उनी। कविसँगै उनको अर्को परिचय पनि छ। प्रायः कसैलाई थाहा हुन नसकेको बिनाको अर्को परिचय हो- शिक्षिका। दैनिक गुजाराका निम्ति उनको नियमित पेसा भने शिक्षक हो। उनी काठमाडौं बूढानीलकण्ठको एक सरकारी विद्यालयकी शिक्षिका हुन्। उनी दुई छोरी र एक छोराकी आमा हुन्। सँगै उनी एक फूल उद्यमी पनि हुन्।

    साहित्यकर्म, शिक्षणकर्म गरेर बचेको समय उनी फूल खेतीलाई दिन्छिन्। बिहान बेलुकीको समय फूलबारीमा जानु, फूलहरूको हेरचाह गर्नु अनि फूल टिप्नु उनको काम हो।

    राज्यले तालिम गोष्ठीका नाममा देशभर कति रकम खर्च गरिरहेको होला? अझ त्यसमा पनि सीपमूलक तालिमका नाममा कति खर्च गरेको होला? हरेक गाउँ होस् वा टोल, वडा होस् वा स्थानीय तह। जिल्ला वा क्षेत्र। यी सबै ठाउँमा गरी सीपमूलक तालिमका नाममा लाखौँ रुपैयाँ खर्च भइरहेको होला।

    तर त्यसको सदुपयोग? अहँ, कसैसँग लेखाजोखा छैन। सीपमूलक तालिम लिनेहरू पनि तालिम हलभित्र रहुञ्जेलसम्म निकै उत्साहित हुन्छन् तर हलबाहिर निस्किएपछि आआफ्नै धुनमा व्यस्त।

    हो, त्यही सीप सिकेर पनि खेर गइरहेको समय, लगानीको सही सदुपयोग गर्न बिना थिङलगायतका उनका साथीहरू अगाडि सरे। चप्पल बनाउने, चुरा बनाउनेलगायतका तालिमहरू स्थानीय सरकारबाट लिइरहन्थे उनीहरू।

    तर त्यसको सदुपयोग भने भइरहेको थिएन। पछि उनीहरूले फूलखेतीको तालिम लिने अवसर पाए। त्यसपछि उनीहरूको फूल उद्यम सुरु भयो। 'तालिम लिने तर त्यसको प्रयोगचाहिँ नहुने। घरायसी काममा पनि प्रयोग नहुने भइरहेको थियो', उनले भनिन्, 'यसरी त लगानी खेर जाने भयो भनेर फूलको तालिम लिएपछि यो अरू कसैले नगर्ने भए। अब हामीले गरौँ, मोडलकै रूपमा पनि हुन्छ भनेर फूल खेती सुरु गर्‍यौँ।'

    सुरुमा एक रोपनीमा गुलाफ रोपेर फूल खेती गरेका उनीहरूले अहिले पाँच रोपनी जग्गामा फूल खेती गर्दै आएका छन्। समूहमा रहेका दिदीबहिनीहरू मिलेर अलिअलि रकम जम्मा गरेपछि उनीहरूले एक रोपनी जग्गा भाडामा लिएर ६०० लुगाफका बिरुवा रोपे।

     'हामी त धेरै ठाउँमा आवद्ध छौँ। कतै आवद्ध नभएका व्यक्तिहरूले यसमा मिहिनेत गरेर लाग्यो भने झन् राम्रो हुन्छ', उनी भन्छिन्, 'आफैँले गर्ने हो आफ्नै भनेर गर्ने हो भने राम्रो हुन्छ। कोही युवाहरूले म आफैँले मिहिनेत गरेर गर्छु भनेर लाग्यो भने अन्त कतै भौँतारिनुपर्दैन।'

    गुलाफसँगै बजारमा सयपत्रीको माग धेरै देखेपछि उनीहरूले थप चार रोपनी जग्गा भाडामा लिएर सयपत्री लगाए। अहिले ती दुवै फूलले आम्दानी दिइरहेका छन्। 'सयपत्रीको फूल जम्मै इण्डियाबाट ल्याउने रहेछन्। बजारमा सयपत्री फूलको पनि माग देखेपछि हामीले पनि किन नगर्ने भनेर सयपत्री फूल पनि रोप्न सुरु गर्‍यौँ', बिना भन्छिन्।  

    यो समूहको अध्यक्षमा सुशीला कठायत, सचिवमा बिना थिङ तामाङ, कोषाध्यक्षमा डोल्मा लामा र सदस्यहरूमा रञ्जु लामा, मञ्जु लामा, माया तामाङ छन्। समूहका केही साथीहरू भने विदेश गएपछि छुटे तर उनीहरूका उद्यमी बन्ने सपना भने समूहका बाँकी साथीहरूले पूरा गरिरहेका छन्।  

    अघिल्लो पटक फूल खेती सुरु गर्न आआफ्नै लगानी गरेका उनीहरूले पछिल्लो पटक सयपत्री खेती सुरु गर्दा भने युवा परिषद् नेपालको युवा स्वरोजगार कार्यक्रमअन्तर्गत सहयोग लिएका हुन्। परिषद्‌मा माग गरेर पाँच लाख रुपैयाँ सहयोग पाएपछि सयपत्री खेती सुरु गर्न उनीहरूलाई सहज भयो।

    गुलाफ एक वर्ष रोपेपछि पाँच-छ वर्षसम्म अर्को बिरुवा लगाउनुपर्दैन। तर एक महिना फुल्ने र एक महिना नफुल्ने गर्छ। त्यस कारण फुल्ने महिना उनीहरूले करिब ६० देखि ७० हजार गुलाफ बजारमा पठाउँछन्। एक बण्डलमा २० वटा गुलाफको दरले बण्डल बनाएर उनीहरूले होलसेल मूल्यमा बजार पठाउने गरेका छन्।

    सयपत्री फूलको बेर्ना भने लगाइरहनुपर्छ। एउटा माला बनाउन ३५ वटा थुँगा सयपत्री चाहिन्छ। सयपत्री माला बनाएरै बजार पठाउने हो। होलसेल मूल्य ३० देखि ३५ रुपैयाँमा उनीहरूले बजारमा पठाउँछन्।

    कविताका शब्दहरूमा सन्तुष्टि खोज्ने बिनाको घरखर्च चलाउने बलियो स्रोत अहिले फूलखेती भएको छ। ‘कविता कर्म मेरो रुचि हो। सन्तुष्टि हो। यसले श्वास दिन्छ’, कवि बिना भन्छिन्, ‘फूल व्यवसायले मेरो घर चलिरहेको छ। यसले मेरो जीवन धान्न सहयोग गर्छ।’

    फूलबारीको काम प्रायः समूहमा रहेका साथीहरूले नै गर्दै आएका छन्। तर अहिले खेती ठूलो भएकाले उनीहरूले एक जना कर्मचारीको व्यवस्था गरेका छन्। सुरक्षाका लागि दुई परिवारलाई उनीहरूले फूलखेती भएको क्षेत्रमा आश्रय दिएका छन्। ती परिवार फूलको काम हुँदाका दिन फूलकै काम गर्छन् भने बाँकी दिन बाहिर काम गर्छन्।

    समूहमा रहेका अधिकांश सदस्यहरू अन्य कुनै न कुनै पेसामा आवद्ध छन्। त्यसैले हरसमय फूललाई दिन पाउँदैनन्। बिहान बेलुकीको समय भने उनीहरूको फूलबारीमै बित्छ। 'बिहान र बेलुकीको समय दिन्छौँ। फूल टिप्दा पनि टनेलले पोल्ने भएकाले दिउँसो टिप्न सकिँदैन', उनी भन्छिन्, 'त्यसैले हामीले बिहान बेलुकी नै समय दिने गरेका छौँ फूलका लागि।'

    फूलको खेती गरेर मात्रै भएन, त्यसका लागि हेरचाह पनि चाहियो। बजारसम्म पुर्‍याउन व्यावसायिक रूपमा कसरी पठाउने भन्ने पनि रह्यो। त्यसका लागि उनीहरूले छुट्टै तालिम पनि लिएका छन्। 'गुलाफको प्याकिङ गर्ने सिस्टम हुन्छ। त्यसका लागि छुट्टै तालिम लिएका छौँ', बिना भन्छिन्, 'सयपत्री पनि माला उनेर पठाउनुपर्‍यो। मल, औषधिहरू मिलाउनु पनि पर्‍यो।'

    सयपत्रीभन्दा गुलाफ हुर्काउन गाह्रो भएको उनी बताउँछिन्। गुलाफलाई एकदमै स्याहार गर्नुपर्ने भए पनि सयपत्रीमा भने त्यति धेरै स्याहार गर्नु नपर्ने उनले बताइन्। भन्छिन्, 'राम्रो चिजमा छिटो आक्रमण हुन्छ भन्ने कुरा गुलाफबाट पनि प्रमाणित हुन्छ। गुलाफमा ढुसी लाग्ने, पातहरू डढ्ने जस्ता समस्या आइरहन्छन्। फूल विशेषज्ञहरूको सम्पर्कमा रहेर सल्लाह सुझाव लिइरहन्छौँ।'

    फूल उद्यमी, प्रशिक्षक कमल राईसँग उनीहरूले सल्लाह सुझाव लिइरहन्छन्। उद्यम सुरु गरिसकेपछि उनीहरूको एउटै बुझाइ छ- गरे सकिन्छ। त्यसैले उनीहरूले पुष्प व्यवसायी महासंघलगायतका संस्थामा पनि आवद्ध भएर आवश्यक सल्लाह सुझाव र समस्या शेयर गर्दै आएका छन्।

    आफ्नो अनुभव, ज्ञानभन्दा फरक ठाउँमा हात हाले पनि अहिले राम्रो भइरहेको बिना बताउँछिन्। अझ त्यसमा पनि काम पाएन भनेर भौँतारिनेहरूका निम्ति मिहिनेत गरेमा फूलखेतीबाट राम्रो गर्न सकिने उनको सुझाव छ। 'हामी त धेरै ठाउँमा आवद्ध छौँ। कतै आवद्ध नभएका व्यक्तिहरूले यसमा मिहिनेत गरेर लाग्यो भने झन् राम्रो हुन्छ', उनी भन्छिन्, 'आफैँले गर्ने हो आफ्नै भनेर गर्ने हो भने राम्रो हुन्छ। कोही युवाहरूले म आफैँले मिहिनेत गरेर गर्छु भनेर लाग्यो भने अन्त कतै भौँतारिनुपर्दैन।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]