राजनीति

मुख्यमन्त्री भट्टलाई मत दिनेलाई कारबाही गर्ने ओली पक्षको तयारी

७ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण, एमाले दुई समूहबीच जुहारी

जेठ २५, २०७८

    धनगढी : नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने केपी शर्मा ओली पक्षका ७ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

    संसदीय दलका नेता प्रकाशबहादुर शाहले मंगलबार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पक्षका सात सांसदलाई स्पष्टीकरण सोधेका हुन्। 

    विपक्षमा मतदान गर्ने एमालेका पठानसिंह बोहरा, लीलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा,  माया तामा बोहरा, नेपालु चौधरी, बलदेव रेग्मीलाई संसदीय दलले स्पष्टीकरण सोधेको हो। 

    स्पष्टीकरण पत्रमा संसदीय दलको ह्वीप उल्लंघन गरी गम्भीर प्रकृतिको अनुशासनहीन कार्य गरेकोले जेठ २६ गतेभित्र स्पष्टीकरण दिन भनिएको छ। तोकिएको समयमा स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नदिए कारबाही गरिनेसमेत चेतावनीसमेत दिइएको छ। भोलि २६ गते ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिन संसदीय दलले निर्देश गरेको छ। अन्यथा दलको विधानअनुसार कारबाही गर्ने बताइएको छ।

    मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका थिए। जसमा माधव नेपाल पक्षका १७ जनाले भट्टलाई विश्वासको मत दिएका थिए भने ओली पक्षका ७ जनाले विपक्षमा मतदान गरेका थिए। 

    ओली पक्ष भन्छ– पार्टीको साधारण सदस्यबाटै निष्कासन 

    संसदीय दलले स्पष्टीकरण सोधेकै बेला एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले भने पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमालेका १७ प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन्। उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन पार्टीले दिएको निर्देशनको उलंघन गर्ने प्रदेश सांसदहरुलाई कारबाही गर्ने बताएका हुन्।

    ‘पार्टीको निर्देशन विपरीत अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत दिनु अपराधपूर्ण काम हो। यो क्षम्य हुन सक्दैन,’ थापाले भने, ‘सबै सांसदलाई कारबाही हुन्छ। अब विश्वासको मत दिने सांसदहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिनेछ।’ थापाले विश्वास मत दिने प्रत्यक्ष निर्वाचित र समानुपातिक सबै सांसदलाई पार्टीबाट निष्कासन गरिने बताए।

    मंगलबार मुख्यमन्त्री भट्टलाई एमालेको माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यले विश्वासको मतको पक्षमा मतदान गरेका थिए। ओली पक्षका सात जनाले मात्रै विपक्षमा मतदान गरेका थिए भने जसपाका दुई जनाले पनि विपक्षमा मत दिँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]