काठमाडौं ट्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी छ। प्रधानमन्त्री निवा...
नदीको चौडाइ र गहिराईका आधारमा जहाज निर्माण गर्न निर्देशन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन। भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको शुरुआत र विकासका लागि ढोका खोलेको बताए।
नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको उनले औँल्याए। उनका अनुसार भारतको गङ्गा नदीमा नेपालकै नदीबाट सुख्खायाममा ७२ प्रतिशत र वर्षायाममा ४० प्रतिशत पानी नेपालबाट नै जान्छ। उनले भने, ‘भारतका ठूला नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन।‘
अहिले रेलभन्दा पनि जलयातायात चाँडो सञ्चालनमा आउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे। उनले यहाँको खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इञ्जिनीयरहरूलाई सुझाव दिए। उनले भने, ‘अहिले कस्तो जहाज बन्ने गर्छ, त्यो हेरेर होइन यहाँको भूबनोटअनुसार जहाज निर्माण गर्नुपर्छ।‘
प्रधानमन्त्री ओलीले विसं २०२७ मा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएको पाएको बताए। गत वर्ष भारत भ्रमणमा जाँदा आफूले पानीजहाज सञ्चालन र काठमाडौं–रक्सौल रेलको सम्भावनाका विषयमा छलफल भएको उनले जानकारी दिए। भारतसँग ‘कनेक्टिभिटी’ (सम्पर्क सञ्जाल) मा नयाँ आयाम थपिएको उनले औँल्याए। उनले भने, ‘अहिलेसम्म सडक र हवाईमार्गबाट मात्रै जोडिएकामा जल यातायात र रेल यातायातबाट पनि हामी जोडिँदैछौँ।‘
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउनु नेपालका लागि गर्वको विषय भएको बताए। भूपरिवेष्ठित देशमा पानीजहाज धेरै नेपालीले असम्भव विषय सोच्ने गरेको उल्लेख गर्दै उनले भने, ‘हिजो पानीजहाज सम्भव छ र? भन्नेहरूले नै हामीलाई घच्घच्याइरहनुभएको थियो।‘
मन्त्रालयका सचिव मधुसुदन अधिकारीले अहिलेसम्म सडक यातायात र हवाई यातायात मात्रै सञ्चालनमा रहेकामा जल यातायात र रेल यातायातको शुरुआत र विस्तार गर्न मन्त्रालय लागिपरेको बताए।
मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले जल यातायात हवाई र सडक यातायातभन्दा सस्तो हुने बताए। मन्त्रिपरिषद्को गत पुस २९ गतेको बैठकले उपसचिवको नेतृत्वमा १६ कर्मचारी रहने गरी कार्यालय स्थापनाको निर्णय गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।