|

काठमाडौं :  नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगमा ल्याएको छ। 

नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो।

‘लामो समयदेखि प्रयोग नभएका सिमकार्डलाई पुनः प्रयोग गर्न रिसाइकल गरिएको हो,’ टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए। यसरी रिसाइकल गरिएका नयाँ सिमकार्डको नम्बर पुरानै हुने भए पनि बजारमा पुनः बिक्री गर्न सकिने उनको भनाइ छ।

नेपाल टेलिकमले प्राधिकरणबाट हाल ९८४ र ९८६ नम्बरको अपरेटर कोड प्राप्त गरेको छ। टेलिकमका सिमकार्ड नम्बर यिनै अङ्कबाट सुरु हुन्छन्। यसबाहेक टेलिकमले ९८५ लाई पोस्टपेड सिमकार्ड प्रयोगकर्ताका लागि उपयोग गरिरहेको छ।
९८४ र ९८६ बाट बढीमा टेलिकमले दुई करोड सिमकार्ड नम्बर सिर्जना गर्नसक्छ। गत मङ्सिरमै प्रिपेडतर्फको दुई करोड सङ्ख्या नाघेपछि टेलिकमले त्यसयता रिसाइकल गरेरै बजारमा सिमकार्ड उपलब्ध गराइरहेको छ।

‘अपरेटर कोडबाट सिर्जना हुने नम्बरको क्याप पूरा भएपछि अहिले रिसाइकल गर्दै निष्क्रिय सिमकार्डलाई पुनः सक्रिय बनाइरहेका छौँ,’ अधिकारीले भने। प्राधिकरणको निर्देशनबमोजिम नै पुराना निष्क्रिय सिमकार्डलाई रिसाइकल गरिएको उनको दाबी छ। पुरानो नम्बरको चाहना गर्ने प्रयोगकर्तालाई पनि यसले सहयोग पुग्ने उनले बताए। 

नेपाल दूरसञ्चार प्राधिकरणले २०७१ चैत २ गते छ महिनासम्म प्रयोग नभएका सिमकार्ड स्वतः निष्क्रिय गर्नुपर्ने निर्णय गरेको थियो। सिमकार्ड खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्राधिकरणले त्यस्तो निर्णय गरेको थियो। यद्यपि सिमकार्ड निष्क्रिय गराउँदा आफ्ना प्रयोगकर्ताको सङ्ख्या घट्ने भयले सेवा प्रदायकले प्राधिकरणको उक्त निर्णय भने लागू गरेका छैनन्। थप सिमकार्ड नम्बर सिर्जना हुनसक्ने स्थिति नरहेपछि नेपाल टेलिकमले पहिलोपटक ठूलो सङ्ख्यामा निष्क्रिय सिमकार्ड प्रयोगमा ल्याउने काम सुरु गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.