दुई वर्षमा सक्ने काम पाँच वर्षमा पनि सकेनन्, अहिले लकडाउनलाई बहाना बनाए
दुई वर्षमा सक्ने काम पाँच वर्षमा पनि सकेनन्, अहिले लकडाउनलाई बहाना बनाए
सिमरा : सडक विभाग र ठेकदार कम्पनीबीच पथलैया–वीरगन्ज व्यापारिक मार्ग २०७५ असार मसान्तभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो। तर सम्झौता भएको ५ वर्षमा ५० प्रतिशत पनि काम सम्पन्न भएको छैन।
सडक निर्माणको जिम्मा पाएका शर्मा युनाइटेड र पप्पु कन्स्ट्रक्सनको कामप्रति व्यापक जनगुनासो बढेको छ। अलपत्र सडकमा उडेको धुलो र हिलोले सर्वसाधारणमा स्वास्थ्य समस्या देखिएको मात्रै छैन, दुर्घटनासमेत बढाएको छ।
यो व्यापारिक मार्गको ३१ किलोमिटर ६ लेन सडकखण्ड २ वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असारमा सडक विभाग र निमार्ण कम्पनीबीच सम्झौता भएको थियो। तर सम्झौताको ५ औं वर्ष सुरु भए यी दुई कन्स्ट्रक्सनले काम भने सकेका छैनन्।
सरकारको पहिलो प्राथमिकताको योजनाअन्तर्गत रहेको व्यापारिक मार्ग तथा औद्योगिक करिडोरमा झण्डै ६ किलोमिटर शर्मा युनाइटेडले र साढे ३ किलोमिटर सडक बिस्तार र निमार्णको जिम्मेवारी पप्पुले पाएको छ।
तर यी दुवै निर्माण कम्पनीले हालसम्म ४१ र ४५ प्रतिशत मात्रै भौतिक प्रगति गरेका छन्। शर्मा युनाइटेडले हालसम्म ३७ प्रतिशत वित्तीय र ४१ प्रतिशत भौतिक प्रगति गरेका जनाइएका छन्। पप्पुले भने ३९ प्रतिशत वित्तीय र ४५ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ।
‘कारवाही गनुपर्ने ठेकेदारलाई सरकारले म्याद थपेको थप्यै गरेर झनै हौसला बढाएको छ,’ व्यापारिक मार्ग कार्यालय बताउँछ। ढिलो काम गर्ने ठेकेदारलाई व्यापारिक मार्ग कार्यालयले कालोसूचीमा राख्न पटक पटक भने पनि पहुँचका आधारमा ठेकेदारहरूले माथिल्लो निकायबाट पुनः म्याद थप गर्दै आएकाले स्थलगत खटिने कर्मचारी मौन बस्न बाध्य छन्।
‘सरकारले नै म्याद थप गरेपछि हामीले केही कारवाही गर्न सक्दैनौं’, व्यापारिक मार्ग कार्यालयका इन्जिनियर विवेक झाले भने, ‘सरकारले ठेकदार कम्पनीहरुलाई छिटो छिटो काम सम्पन्न गर्न दबाब दिनुको साटो म्याद थप गर्दै आएको छ।
चालु आर्थिक वर्षमा मात्रै ४ पटक सार्वजनिक खरिद ऐन संशोधन भइसकेको छ। ‘अब कोरोनालाई बहाना बनाएर सार्वजनिक खरिद ऐन संशोधन गरेर पुन म्याद थप हुँदैछ’, इन्जिनियर झाले भने। मार्ग निर्माणका लागि ३१ किलोमिटर सडकखण्ड र साना ठूला गरी १० ओटा पुलसहित साढे ५ अर्ब बजेट विनियोजन गरिएको छ। सो योजना सम्पन्न गर्न कार्यालयले ७ ओटा निर्माण कम्पनीलाई सडकको जिम्मेवारी दिएको छ।
बाटोमा माटो भर्दै शर्मा र पप्पु
२ वर्षमा सम्पन्न गनुपर्ने सडक विस्तारको काम ५ औं वर्षमा पनि शर्मा युनाइटेड र पप्पुले बल्ल दोस्रो चरणको काम सुरु गरेका कार्यालयले जनाएको छ। ‘उहाँहरुले भर्खर माटो भरेर त्यसपछिको दोस्रो चरणको ग्राभेल भर्ने काम गर्दै हुनुहुन्छ’, इन्जिनियर झाले भने, ‘अब मुख्य काम भनेको गिटी ओच्छ्याउने र कालोपत्रे गर्न पूरै बाँकी छ, सडकको मुख्य काम भनेकै यही हो।’
शर्मा र पप्पुसँगै काम सुरु गरेका अन्य निर्माण कम्पनीले भने ५५ देखि ९० प्रतिशत भौतिक र वित्तीय कार्य सम्पन्न गरिसकेका छन्। ‘अत्यन्त छिटो छरितो रुपमा काम गरे पनि शर्मा युनाइटेड र पप्पुलाई कम्तीमा एक वर्ष लाग्छ,’ उनले भने।
व्यापारिक मार्गको ३१ किलोमिटर क्षेत्रमा ६ लेनको सडक बिस्तारको जिम्मेवारी पाएका ठेकदार कम्पनीहरुले सडकको पिचको काम सकेपछि पनि सडक लाइट, जेब्राक्रस लगायत अन्य थप काम गर्न अर्को ६ महिना लाग्ने व्यापारिक मार्ग कार्यालयले जनाएको छ।
कार्यालयले यसअघि काम सन्तोषजनक नगरेको भन्दै शर्मा युनाइटेडलाई २ करोड जरिमानासमेत गराएको थियो। तर पप्पुको हकमा भने कार्यालय मौन छ। तत्कालीन अवस्थामा सडकको अधिकार क्षेत्रभित्र परेका घर टहरा भत्काउन समय लागेको दाबी गर्ने निर्माण कम्पनीहरुले हालसम्म पनि घर, टहरा, बिजुलीको पोल, खानेपानी, टेलिफोनको फाइभर लाइन व्यवस्थापनमा ढिलाइ गरिरहेका छन्। अहिले भने ‘लकडाउन’ नै उनीहरुको बहाना बनेको बताउने गरेका छन्।
सडक बिस्तारको काम सम्पन्न गर्न असार नलाग्ने भनी ६ महिनाअघि बताएका शर्मा÷युनाइटेड बिल्ड्रस/दिवा निमार्ण सेवाका प्रोजेक्ट प्रमुख प्रभात गिरीले हाल सरकारले जारी गरेको लकडाउन कारण ढिला भएको जवाफ दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।