आत्तिइहाल्नु पर्दैन : प्याब्सन

|

काठमाडौं : जोरपाटी नयाँबस्तीका १३ वर्षीय मुना राई त्यहीँको एकता साधना स्कुलमा कक्षा पाँचमा पढ्छिन्। लकडाउनले स्कुल बन्द भयो। लामो बन्दाबन्दीपछि स्कुलले अनलाइन भिडियोमार्फत पढाउँदै आएको छ।  उनले अनलाइन कक्षा लिएको एक हप्ता बढी भइसकेको छ। तर, अललाइन पढाइ खासै प्रभावकारी हुन नसकेको उनको बुझाइ छ। उनकी  आमा (अभिभावक) सविना राई पनि अनलाइन कक्षा ठीक नभएको प्रतिक्रिया दिन्छिन्।

उनले भनिन्,‘पढाइ नलागेको बेला यति गर्न त  ठिकै हो। तर, बुक पनि नै छैन। एकैछिन स्कुलले पढाएजस्तो गरेको भरमा विद्यार्थीले के ज्ञान पाउलान् र?' उनका अनुसार स्कुलले एक घण्टासम्म मात्रै अनलाइन कक्षा पढाउँछन्। छोटो समयसम्म मात्रै शिक्षा दिएकाले पनि सोचेजस्तै प्रभावकारी नभएको उनको भनाइ छ।

प्रभावकारी छैन अनलाइन कक्षा

यस्तै,  पेप्सीकोलाकी एबिगेल श्रेष्ठ पनि अनलाइन कक्षा लिँदै छिन्। टाउन प्लानिङको नेक्सेस एकेडेमीले अनलाइन प्रविधिबाट पढाएको तीन महिना भइसक्यो। तर, उनका आमा सोभा श्रेष्ठ अनलाइन कक्षामा एकतर्फी मात्रै पढाइ भएकाले सोचेजस्तै प्रभावकारी नबनेको बताउँछिन्।

‘कक्षामा पढेजस्तो अनलाइन कक्षा राम्रो रहेनछ,’उनले भनिन्,‘अनलाइन कक्षाले मात्रै विद्यार्थी सक्षम हुन सक्दैनन्। तै पनि यो संकटमा अनलाइन कक्षा ठिकै मान्नुपर्ला।’

त्यस्तैगरी, जोरपाटीको शान्ति आदर्श सकेन्डरी स्कुलमा अध्ययनरत केनिस लिम्बूका बुबा धनराज लिम्बूले अनलाइन कक्षाको केही भर नभएको बताए। उनका अनुसार स्कुलले अनलाइन कक्षाबाट पढाएको छैन।  सरकारले रेडियो, टिभी र अनलाइनबाट पढाउदै गरेको कक्षा नै लिन स्कुलले आग्रह गरेपछि उनका छोराले त्यहीअनुसार पढ्ने गर्छन्।

 ‘नियमित कक्षामा पढाइ भएको जस्तो प्रभावकारी यो पढाइमै छैन,’उनले भने,‘तर, अहिलेको अवस्था हेरेर त्यही पढ्न लाउनुबाहेक विकल्पै छैन।’ अनलाइन शिक्षाका लागि सरकारले निगरानी गरेर सहज बनाउनुपर्नेमा उनको जोड छ।

अतिरिक्त ज्ञान दिन अनलाइन कक्षा

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन(प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरी लकडाउनमा प्रविधिलाई सदुपयोग गर्दै  अतिरिक्त ज्ञान दिन अनलाइन कक्षा सञ्चालन गरेको बताउँछन्। ‘प्रायजसो हामीसँग विभिन्न प्रविधि छन,’उनले भने,‘ती प्रविधिलाई सदुपयोगमा ल्याउन यस्तो शिक्षा ल्याएका हौँ। कक्षामा जस्तो त पढाइ हुँदैन। यो समयमा केही अतिरिक्त ज्ञान दिन अनलाइन कक्षा चलायौँ।’

उनका अनुसार अनलाइन कक्षा प्रभावकारी नभएमा कक्षामा पनि थप पढाइने छ। त्यसैले अहिले विद्यार्थीहरु आत्तिहाल्नु पर्ने आवश्यकता नरहेको उनको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.