विश्व

लद्दाखदेखि टिकटकसम्म : भारतलाई सम्हालिनै सकस

'डिजिटल सिल्करोड'मा भारत यसरी चीनसँग भिड्न तम्सियो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।
असार १७, २०७७

    काठमाडौं : 'भारतमा धेरै मानिसले टिकटककै कारण इन्टरनेट चलाउन जानेका छन्, टिकटकले इन्टरनेटलाई नै लोकतान्त्रिकरण गरेको छ।'

    चीनसँगको तनावका कारण भारत सरकारले ५९ वटा मोबाइल एप्लिकेशनहरू बन्द गरेपछि टिकटक इन्डियाका प्रमुख निखिल गान्धीले बीबीसी हिन्दीलाई दिएको प्रतिक्रिया हो यो। गान्धी भन्छन्, 'भारतमा मात्रै टिकटक १४ भाषामा छ, लाखौं प्रयोगकर्ता छन्, प्रतिभा देखाउन नपाउनेहरूका लागि यो एक मञ्च नै बनेको छ।

    चिनियाँ अखबार ग्लोबल टाइम्सका प्रधान सम्पादक हु चिजिनले ट्वीटरमा लेखेका छन्, 'चीनका नागरिकले त भारतका उत्पादन बहिष्कार गर्न खोजेपनि केही भेट्दैनन्, भारतीय मित्रहरू ! तपाइँहरूले राष्ट्रवाद भन्दा अगाडी सोच्नुपर्छ।'

    कम्युनिष्ट शासन रहेको चीनले बनाएको मोबाइल एपले विश्वकै विशाल लोकतन्त्र भनिने भारतको इन्टरनेटलाई लोकतान्त्रिक गरेकोबारे झट्ट सुन्दा पत्याउन मुस्किल पर्छ। तर टिकटकमा मानिसहरूले हदैसम्म स्वच्छन्द भएर अभिव्यक्ति र हाउभाउ दिएको त हामीले देखेकै छौं। पूर्वीय सभ्यता र मूल्य मान्यतामा टिकेको समाजले टिकटकमा नयाँ पुस्ताका कतिपय प्रस्तुतीलाई त पचाउनै सकिरहेको छैन। 

    तर भारतले विस्तारै यी सबै पचाउँदै थियो। शहरदेखि देहातसम्मका किशोर/किशोरी र युवतीहरू टिकटकमा अनेक अभिनय गर्थे, नक्कल पार्थे, आफ्नो प्रतिभा देखाउँथे। विद्युतीय सामाजिक सञ्जालको प्रयोग मानवसेवा र समाजकल्याणका लागि गर्न रूचाउनेहरूका लागि पनि टिकटक एक परिषद्जस्तो थियो। 

    तर सोमबार बेलुकीदेखि प्रयोगकर्ताका मोबाइलमा राखिएको टिकटक एप चलेन। 

    यसरी बिग्रियो कुरा

    भारत र चीन परस्परमा उति राम्रो सम्बन्ध भएका छिमेकी होइनन्। बीचमा युद्ध पनि लडेका हुन्। सिमानामा खटिएका सैनिकहरूबीच हात हात-हालाहाल भइरहन्थ्यो। 

    ​तर १५ जुनको रात दुई देशका सैनिकहरू हात हात-हालाहालमा मात्रै सीमित भएनन्। लट्ठी, चक्कु र हाते औजारसहित सीमामा आमनेसामने भएका एक-अर्को देशका सैनिकहरूबीच रक्तपातपूर्ण झडप भयो। भारतका २० सैनिक मारिए। चीनतर्फ भएको हताहत अझै आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। 

    गोली नै नचली लद्दाखमा कसरी मारिए २० भारतीय सैनिक ?

    सीमानामा सैनिक मारिएपछि स्वाभाविक हिसाबले भारतमा चीनविरोधी नारा लाग्न थाल्यो। मानिसहरूले हजारौं रुपैयाँ खर्चेर किनेका चीननिर्मित महङ्गा टेलिभिजनका सेटसमेत बीच सडकमा ल्याएर थेचारे। चीननिर्मित सामान बहिष्कार गर्न सरकारमाथि निरन्तर दबाब पर्‍यो। 

    अनि, राष्ट्रवादी रूझान देखाइरहेको भारतीय जनता पार्टी नेतृत्वको सरकारले उही गर्‍यो : चीनसँग लफडा पर्दा जो यसअघि पनि उसका कार्यकर्ताले देखाउने गरेका थिए। यसपटक चीनमा बनेका दियो फुटाउने या झिलिमिली बिजुली बत्तीका लहरा जलाउने भन्दा पनि सामाजिक विद्युतीय सामाजिक सञ्जालतिर भारत घुम्यो। 

    अनि सोमबार टिकटकलगायत चीनमा तयार पारिएका ५९ वटा मोबाइल एप्लिकेशनलाई भारतले आफ्नो देशभित्र नचल्ने बनाइदियो। 

    टिकटक छचल्किएको राष्ट्रियता र सम्प्रभुता 

    चिनियाँ सैनिकसँगको झडपका क्रममा लद्दाखमा आफ्ना सैनिक मारिएपछि भारतीयहरूले लोकप्रिय मोबाइल एप टिकटकमा निकै राष्ट्रवादी भावना प्रकट गरिरहेका थिए। छिमेकीहरूलाई निकै गिराउने र आफूलाई अब्बल देखाउनेगरी बनाइएका युद्धपरस्त फिल्मका संवाददेखि आक्रोशित अभिनयसम्म टिकटकमा देखिन्थ्यो। 

    विश्वभर टिकटकका जति प्रयोगकर्ता छन्, त्यसको ३० प्रतिशत त भारतमा मात्रै रहेछन्। इन्डियन थिंक ट्याङ्क भनिएको गेटवे हाउसले गरेको दावीअनुसार ३० प्रतिशत प्रयोगकर्ताले टिकटक छाडेपछि अब यसले निष्काशन गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) पनि प्रभावित हुनेछ। 

    गेटवे हाउसका निर्देशन ब्लाइस फर्नान्डिजले जापानी पत्रिका एशियन निक्केई रिभ्युसँग भनेका छन्, 'टिकटकमात्रै होइन, अलिबाबा र टेनसेन्ट पनि चीनको डिजिटल सिल्क रूटको हिस्सा हो, भारतमा प्रतिबन्ध लगाइएपछि यी एप्लिकेशनहरूको नकारात्मक रेटिङ हुनेछ।'

    भारतको सूचना तथा प्रसारण मन्त्रालयले चाहिँ देशको सुरक्षा, अखण्डता र संम्प्रभुताका लागि यी मोबाइल एप्लिकेशनमा प्रतिबन्ध लगाएको जनाएको छ। एन्ड्रोइड र आइओएसबाट यी एप्लिकेशनहरुले मानिसको व्यक्तिगत तथ्याङ्क बटुलिरहेको मन्त्रालयका अधिकारीहरूले दाबी गरेका छन्। 

    सक्नेलाई दपेट्ने, नसक्नेलाई जिस्क्याउने

    सन् १९६२ मा चीनसँग युद्ध हारेपछि भारतको राज्यनियन्त्रित रेडियोले बजाएका भनिएका समाचारलाई अझै पनि भारतीय युद्ध मनोविज्ञानको मानक ठानिन्छ। हालैको एक टिभी अन्तर्वार्तामा एकजना भारतीय जर्नेलले भनेका थिए, 'हमारे जवान बहादुरीके साथ पिछे हट रहे थे।' लडाइँमा पराजित भएपछि कसरी ढाकछोप गर्ने भन्ने यो भाष्य भारतीय सञ्चारमाध्यमले सन् १०६२ मै बनाएका हुन्। 

    भारतको सीमा एसियाका ९ मुलुकसँग जोडिएको छ। उत्तर र उत्तर–उत्तरपश्चिमतर्फ चीन, भुटान, नेपाल र पाकिस्तान छन्। पूर्वमा बङ्गलादेश र म्यानमार छन्। श्रीलङ्का, माल्दिभ्स र इन्डोनेसियासँग पनि भारतले सीमा साझेदारी गरेको छ। 

    तर भुटानबाहेक अरू आठवटै मुलुकसँग भारत कुनै न कुनै बहानामा सीमा विवाद झिकिरहन्छ। भुटानको चाहिँ सुरक्षा मामिला नै लगभग भारतको हातमा छ।

    तुलनात्मक रूपमा राम्रो सम्बन्ध रहेको भनिएको नेपालसँग पनि सीमा विवादकै कारणले भारतले सम्बन्ध बिगारेको छ। चीनसँग भएको सन् १९६२ कै युद्धताका दार्चुलाको कालापानी क्षेत्रमा पसेको भारतले अहिलेसम्म त्यहाँबाट सेना हटाएको छैन।

    नेपालले यहीबीचमा सन्धी-सम्झौता र सीमासम्बन्धी प्रमाणहरू बटुलेर कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा जारी गरिसकेको छ। संविधानको अनुसूचीमा रहेको निशानछाप पनि संशोधन भइसकेको छ। वार्ताका लागि काठमाडौंले निरन्तर आग्रह गरेपनि नयाँदिल्ली यसका लागि तयार देखिएको छैन। 

    तर चीनसँग भारतले यसबीचमा पटक-पटक वार्ता गरिसकेको छ। चीनले गलवानको प्याङगोङ ताल किनारबाट कुनै हालतमा सैनिक नफर्काउने बताइरहँदा भारतका विदेशमन्त्री एस.जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तारान्तार चिनियाँ अधिकारीहरुसँग वार्ता नटुटाउन भनिरहेका छन्।

    ​आपतकालिन उपाय ?

    ​चीनसँग सीमामा तानातान भइरहँदा यता टिकटिकलगायत एपहरूमा प्रतिबन्ध लगाएको भारतले यसलाई आपतकालिन उपाय र राष्ट्रिय सुरक्षाका लागि जरूरी कदम भनेको छ। 

    यी एपहरू पर्सनल कम्प्युटरमा पनि नचल्ने बनाउने भनिएको छ। टिकटक, विच्याट, अलिबाबा ग्रुपको युसी ब्राउजर, फेसन वेन्डर र बाइडु म्याप्सजस्ता दर्जनौं नाम सुनिएका एपहरू कम्तिमा तत्कालका लागि भारतमा चल्ने छैनन्।

    ​इन्टरनेट प्रतिबन्धको 'नाइके'

    भारतले मोबाइल एप्लिकेशनहरूमा प्रतिबन्ध लगाउनु त्यस्तो कुनै अनौठो घटना होइन। किनकी, इन्टरनेट सञ्जालबाट इतर विचार र अभिव्यक्ति फैलन नदिन उसले विश्वमै सबैभन्दा धेरेपटक इन्टरनेटमा प्रतिबन्ध लगाउने गरेको छ। त्यसैले भारतलाई इन्टरनेट प्रतिबन्धको नाइकेका रूपमा पनि चिनिन्छ।

    विश्वमै इन्टरनेट प्रतिबन्धको नाइके बन्यो भारत

    यो पटक त मोबाइल एप्लिकेशनमाथि मात्रै प्रतिबन्ध लगाइएको हो। तर यहाँनेर आश्चर्यजनक कुरा के छ भने दुई फरक निकायले यसको प्रकृया र कारणबारे फरक अभिव्यक्ति दिएका छन्। 

    भारत सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएअनुसार गृह मन्त्रालयअन्तर्गतको इन्डियन साइबर क्राइम कोर्डिनेशन सेन्टरले दुर्भावनापूर्ण एप्समाथि प्रतिबन्ध लगाउन सिफारिश गरेको थियो। तर इन्टरनेट फ्रिडम फाउन्डेशनले भने यसो गर्नुका पछाडि कुनै कानूनी आदेश नभएको जनाएको छ। साथै, तथ्याङ्क सुरक्षा र नागरिकको गोपनीयता रक्षाका लागि नियमन गर्न सकिने, तर अभिव्यक्तिलाई नै संकुचित पार्ने काम अनुचित उचित नभएको यो संस्थाले उल्लेख गरेको छ। 

    चीनलाई कति घाटा

    प्रयोगमा प्रतिबन्ध लगाउने भारतीय कदमले चिनियाँ एपहरूमा अवश्य असर पर्नेछ। किनकी, एकातिर भारतले यसमा तथ्याङ्क सुरक्षा र विश्वसनीयताको सवाल उठाएको छ भने अर्कातिर राष्ट्रिय सुरक्षालाई पनि यसमा जोडिदिएको छ। 

    यी एपको प्रयोग खुलाउन अदालतमै मुद्दा हालेपनि न्यायाधीशहरूले सम्भवत : सजिलै सरकारी निर्णयलाई चुनौती दिन सक्नेछैनन्। किनकी भारतमा कसैलाई राष्ट्रवादी या राष्ट्रघाती बनाउन यस्तै निहुँका त्यान्द्रा कुरेर बस्नेहरूको जमात निकै ठूलो छ। 

    आर्थिक हिसाबले पनि चिनियाँ एपहरूमाथि दबाब पर्नेछ। यी एपहरूको निर्भरता भारतीय बजारमा निकै धेरै छ।

    प्रतिबन्ध लगाइएका एपहरूको आवश्यकतालाई भारतले अन्य एपबाट प्रतिस्थापन गर्न सक्छ कि सक्दैन भन्ने पनि अर्को सवाल हो। यदी यसो गर्न सकेन भने भारतीय नागरिक अमेरिकी एपमा निर्भर हुनुपर्नेछ। तर तीमध्ये अधिकांश एपहरू चिनियाँ एपजति लोकप्रिय छैनन्। 

    सोसल एप विकासमा लागेका भारतीय लगानीकर्ताहरूले पनि चिनियाँ एपमाथिको प्रतिबन्धले बजार प्रतिष्पर्धा कम हुने बताएका छन्।

    ​(अन्तर्राष्ट्रिय मिडियाहरूमा प्रकाशित सामग्रीको सन्दर्भ लिई अनुवाद र सम्पादन गरिएको।)

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]