विपद् न्यूनीकरणमा छैन तीनै सरकारको समन्वय

|

काठमाडौं : सरकारले मनसुनसँगै विपद् व्यवस्थापन गर्ने योजना ल्याउन नसक्दा विपद्को घडीमा क्षतिको ग्राफ उकालो लागेको विज्ञले बताएका छन्। इन्जिनियर महेश नकर्मीले मनसुन पूर्व नै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी नगरेको कारण ठूलो मात्रामा क्षति भएको बताएका छन्।

हरेक वर्ष हुने बाढी पहिरोलाई रोक्न सकिँदैन। तर राम्रो तयारी गर्न सकेमा मानवीय क्षति भने कम गर्न सकिन्छ। यसका लागि नेपालमा पूर्व तयारीको अभाव खट्किने गर्छ। घटना भएपछि मात्र दुख मान्ने बानीले मानवीय क्षति हुँदै आएको छ।

'तीन तहको सरकार छ। तर, विपद् व्यवस्थापनका लागि आवश्यक योजनाहरु निर्माण गर्न नसक्दा हरेक वर्ष क्षतिका घटना बढेका छन्', उनले भने, ' गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन प्राधिकरणले फागुनमा नै हरेक स्थानीयवासीसँग वर्षाले ल्याउने विपद न्यूनीकरण गर्ने पूर्व योजनाको समन्वय हुनुपर्थ्यो।'

सरकारी निकाय र तीनै तहका सरकारले आफ्नाे क्षमतालाई उच्चतम प्रयोग गर्नुपर्ने भए पनि यसका लागि कुनै पनि निकायले गम्भीर रुपमा लिन नसकेको नकर्मीले बताए। यो दुई महिनाको अवधि जोखिम उच्च छ। अझै योजना निर्माण गरे अब हुने क्षति भने कम गर्न सकिने नकर्मी बताउँछन्।  

एकातिर कोरोनाको संकटले नेपाली समुदाय आक्रान्त बनेको छ। सरकारले कोरोना नियन्त्रणको अभियानमा लाग्दा यतातिर ध्यान नदिएको टिप्पणी सुनिन थालेका छन्। 'कोरोना संकट आयो भन्दैमा अरु विपद्का घटनालाई बेवास्ता गर्न सकिँदैन। सरकारसँग हरेक विपद्सँग लड्न सक्ने क्षमता हुन जरुरी छ', उनले भने।

केही दिन देखिको अविरल वर्षाका कारण देशभर ठूलो संख्यामा मानवीय क्षति भएको छ। प्रि मनसुनकै क्रममा भएको वर्षाले गलेको धर्ती मनसुनकै केही दिनमा अत्याधिक वर्षा हुँदा पहाडी जिल्लामा बाढी पहिरोले वितण्डा मच्चाएको हो।  बाढीपहिरोको कारण शुक्रबार मात्रै १३ जनाले ज्यान गुमाइसकेका छन्। बाढी पहिरोमा परेर शुक्रबार बिहानदेखि हालसम्म ४६ जनाभन्दा धेरै बेपत्ता छन्।

शुक्रबारको वर्षा

माहाशाखाको विवरणअनुसार २४ घन्टामा गण्डकी प्रदेशको राजधानी पोखरामा सबैभन्दा धेरै वर्षा भएको छ।  गत २४ घण्टाको विवरणअनुसार पोखरामा २५०.९ मिलिलिटर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यो वर्ष हालसम्मको विवरणअनुसार पोखरामा धेरै वर्षा भएको छ।

 'पोखरामा एकदम धेरै वर्षा भएको हो, यो क्रम अझै बढ्ने देखिन्छ' उनले भने, 'गत सालहरूको तुलनामा कति वर्षा भयो भन्नको लागि अझै केही समय कुर्नुपर्छ यो वर्षको वर्षा भर्खरै सुरु भएको छ।' यस्तै, पोखरापछि २४ घन्टामा सबैभन्दा धेरै वर्षा भैरहवामा भएकाे छ। भैरहवामा १३४.३ मिलिलिटर, यस्तै सिमरामा १२८.४, यस्तै विराटनगरमा ३७.८, नेपालगन्जमा ७६ मिलिलिटर पानी परेको छ। 

भूकम्पको प्रभावले पनि पहिरोको जोखिम बढेको हो?

२०७२ को भूकम्पले नेपालका विभिन्न १४ जिल्ला उच्च जोखिममा रहेको विज्ञले बताएका थिए। यस वर्ष भने मनसुन सुरु भएको दुई दिनमा नै वितण्डा मच्चाएको छ। के भुकम्पका कारण पनि पहिरो जोखिम उच्च रहेको हो? नकर्मी भन्छन्, 'भूकम्प हल्लिएको जमिनलाई वर्षा नै आवश्यक पर्दैन। तर, वर्षाको कारणले पहिरो जान सक्ने कुरालाई नकार्न सकिँदैन।'

गोरखा इपिसेन्टर बनाएर गएको भूकम्पपछिको अध्ययनले देशभर करिब २५ हजार मझौला तथा ठूला पहिरो गएको एक भूगर्वविद्ले तथ्यांकमा छ। तर, अहिले गएको पहिरोलाई भूकम्पको कारण गएको हो भन्‍ने अनुमान गरिए पनि यसका अन्तिम सत्य नरहेको उनले जानकारी दिए। 'भूकम्प पश्चात् जमिन कमजोर रहे पनि ५ वर्षपछि अहिलेको पहिरोलाई भूकम्पसँग जोड्नु सान्दर्भिक हुँदैन', नाम नबताउने शर्तमा उनले भने।

कहाँ के क्षति?

यो समाचार  तयार पार्दा बिहीबार मात्रै सिन्धुपाल्चोकका बाह्रबिसेमा आएको बाढी पहिरोमा परेर २ जनाको मृत्यु भएको थियो। त्यहाँ भोटेकोसी र स्थानीय खोलाको बाढीमा परेर चिनियाँ नागरिकसहित २२ जना बेपत्ता भएका छन्। शुक्रबार सबेरै बिहानदेखि बाढी पहिरोमा परेर देशका बागमती, गण्डकी र कर्णाली प्रदेशमा ठूलो क्षति भएको छ।   

बाढी पहिरोमा परेर कास्कीमा ७ जनाले ज्यान गुमाएका छन्। लमजुङको बेंसीशहरमा एकै परिवारका ३ को पहिरोले पुरेर मृत्यु भएको छ। रुकुममा पहिरोले नै घर पुर्दा २ जनाले ज्यान गुमाएका छन्।

अर्कातिर प्रदेश ५ को गुल्मीमा पनि पहिरोमा परेर एकजनाको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका-१८ सराङकोटस्थित गोठादीमा पहिरोमा पुरिएर एउटै घरका ५ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा ५० वर्षीय टंक बहादुर थापा, उनकी ४५ वर्षीया श्रीमती सोममाया थापा, ११ वर्षकी इशिका थापा मगर, ६ वर्षका सुबान थापा र ८ वर्षीय शितल श्रेष्ठ रहेका छन्। अन्य ८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास हमालले जानकारी दिए। 

त्यसैगरी पोखरा महानगरपालिका-२५ हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका-२६ स्थित पैतेको डाँडामा पनि पहिरोमा पुरिएर ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ।

लमजुङमा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।  बेंसीशहर नगरपालिका-७ सातबीसेमा पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमाया तामाङ र नौ वर्षीय छोरा छेवाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। यस्तै रुकुम पश्‍चिममा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार बिहानको पहिरोले रुकुम आठबीसकोट नगरपालिका-३ स्थित रेजेखोला बस्ने तुलबहादुर दमाईको एकतले घर पुरेको हो।  घरमा पुरिएर उनकी श्रीमती २८ वर्षकी सीता दमाई र ६ वर्षीय छोरा हाविल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए। 

यस्तै गुल्मीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ फुस्रेका ६२ वर्षका यामबहादुर श्रीषको कुलोको भल काट्ने क्रममा आज बिहान माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको पुर्तीघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए। बेपत्ता गण्डकी प्रदेशको म्याग्दीमा सबैभन्दा धेरै मानवीय क्षति भएको अनुमान छ। जहाँ पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरले जानकारी दिएका छन्।

जाजरकोटमा पहिरोमा पुरिएर १२ जना बेपत्ता भएका छन्। जाजरकोटको बारेकोट गाउँपालिका-४ सार्की गाउँमा गएराति पहिरोले घर बगाउँदा १२ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ५२ वर्षीय गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी, ११ वर्षीय छोरा अर्जुन रहेका छन्। े

त्यस्तै अर्को घरका कालु सार्की, उनका छोरा ११ वर्षीय कृष्ण, छोरी कमला र ६ वर्षीय छोरा सुवास रहेका छन्। कालुको घरमा पाहुना आएका कुशे गाउँपालिका-९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट गाउँपालिका-४ का सचिव गोविन्द पुनले जानकारी दिए। उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ पुगेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छन्। 

उता म्याग्दीका विभिन्‍न ठाउँमा पहिरोमा पुरिएर ३२ जना बेपत्ता भएका छन्। जिल्लाको धौलागिरि, मालिका र मंगला गाउँपालिकाका विभिन्‍न स्थानमा खसेको पहिरोमा ३२ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

सबैभन्दा धेरै धौलागिरि गाउँपालिकामा २३ जना सम्पर्कमा नरहेका म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले जानकारी दिए। उनका अनुसार वडा नम्बर ६ मराङमा २१ र ताकममा २ जना बेपत्ता भएका हुन्। त्यसैगरी मालिका गाउँपालिकामा ८ जना पहिरोमा र एकजना बाढीले बगाएर बेपत्ता भएका डिएसपी कुवँरले जानकारी दिए। 

सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गको लार्चामा पहिरो गएको छ। पहिरोमा परेर दुई जना बेपत्ता भएको स्थानीयले बताएका छन्।  लार्चाका अधिकांश नदी किनारका घरमा क्षति पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.