भक्तपुरको उदाहरण : संकल्प गरे सम्भव छ
भक्तपुरको उदाहरण : संकल्प गरे सम्भव छ
भक्तपुर : साँझ ढल्कँदै थियो। वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो। बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रुपमा परिणत गरिरहेको थियो।
बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा डुङ्गा चलिरहेका थिए। पोखरीभित्र सीमित मानिस रहे पनि पोखरीबाहिर वरिपरि हेर्न स्थानीयवासीको बाक्लो उपस्थिति थियो।
मध्यपुरथिमि नगरपालिका-४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरीमध्ये दक्षिणतर्फको पोखरीमा शनिबार साँझको उद्घाटन सत्रमा देखिएको दृश्य हो यो।
थिमि बोडेको कमलपोखरी र याता पोखरीको पानी आउने गरी करीब ३०० वर्षपहिले गङ्गा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि निर्माण गराएको ‘निगु पुखुः’ले पुनर्जीवन पाएसँगै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गरेका हुन्।
वि.सं. २०१५ मा तत्कालीन राजा महेन्द्र भक्तपुर आउँदा उनलाई स्वागत गर्न पानी निकालेपछि दुईपोखरी घाँसेमैदानमा परिणत भएको थियो। २०६५ सालमा नगरपालिकाले १० लाख खर्च फलामे बार लगाई संरक्षणको प्रयास गरे पनि केही वर्षयता पोखरीमा मङ्सिरमा धान सुकाउने र अन्य समयमा केटाकेटी खेल्ने मैदान बनेको थियो।
कार्यक्रममा जनप्रतिनिधिको जिम्मेवारी सम्हालेपछि लिएको सङ्कल्प धमाधम पूरा गर्दै आएको नगरप्रमुख श्रेष्ठले ‘निगु पुखुः’ यसको ज्वलन्त उदाहरण भएको बताए।
नगरपालिकाले आव ०७५/७६ मा ५० लाख बजेट विनियोजन गरी निरञ्जन श्रेष्ठको अध्यक्षतामा गठन भएको पुनर्निर्माण तथा गुरुयोजना उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरु गराएको थियो।
कूल १५ करोडको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएकामा चालू आव ०७६/७७ मा एक करोड २५ लाख र वाग्मती प्रदेशले ५० लाख बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिँदै दक्षिणतर्फका पोखरीको पुनर्निर्माण सकिएको बताए। उनले उत्तततर्फको ठूलो पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको बताए।
पोखरीको चारैतिर माः अप्पा, दाची अप्पाः इँटामा चुना सुर्कीको प्रयोग गरी पर्खाल लगाएको छ भने चारैतर्फ कलात्मक ढोका राखिएको छ। पोखरीमा तल कालीमाटी, बीचमा पाङ्गो माटो र माथि पुनः कालीमाटी गरी १५ इञ्च माटो र त्यसमाथि इँटा बिछ्याएर पानी भरिएको छ।
यस प्रविधिले पोखरीमा पानी नसुक्ने जानकारी दिँदै उनले स्थानीय इनाय टोलको राजगणेशदेखि दिगु भैरव मन्दिरसम्मको आकासे पानी सङ्कलन गरी प्रशोधन गरेपछि पोखरीमा खसाल्ने योजना रहेको बताए। दुई पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदल मार्गमा आठवटा फल्चा अर्थात् पाटी निर्माण गरिँदैछ।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष कुमार श्रेष्ठले दुई पोखरी क्षेत्रलाई नगरको प्राचीन एवम् ऐतिहासिक संस्कृतिको प्रदर्शनस्थल एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जानकारी दिए।
मध्यपुरथिमि भित्रका ऐतिहासिक सम्पदाको संरक्षण एवं जीर्णोद्धार गर्दै ओझेलमा परेको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।