|

काठमाडौं : कोरोना संक्रमणको शंका लागेका व्यक्तिहरूलाई राख्न सरकारले देशभरका कतिपय विद्यालय क्वारेन्टिनको रूपमा प्रयोग गरेको छ। ती विद्यालय कहिले खाली हुने भन्ने पनि यकिन भएको छैन।

तर, सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरू गर्ने निर्णय गरेको छ। क्वारेन्टिनको रूपमा प्रयोग गरिएको विद्यालय खाली नभइ विद्यार्थी भर्ना अभियान कसरी सुरू गर्ने  भन्ने प्रश्न उठ्न थालेको छ। क्वारेन्टिनमा प्रयोग गरिएका कतिपय विद्यालय खुले पनि विद्यार्थीहरु त्यहाँ जान डर मान्ने गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभरका चार हजार विद्यालय अहिले क्वारेन्टिनको रूपमा प्रयोग गरिएका छन। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय सञ्चालन गर्ने समयसम्म क्वारेन्टिनको रूपमा प्रयोग गरिएको विद्यालय खाली भइसक्ने बताउँछन्। ‘कोरोनाको शंका भएका व्यक्ति वा बाहिरबाट आएका व्यक्तिलाई राख्न विद्यालय क्वारेन्टिनको रुपमा प्रयोग गरिएको हो,’ प्रवक्ता शर्माले भने, ‘करिब चार हजार विद्यालय क्वारेन्टिनमा छन। विद्यालय सञ्चालन गर्ने समयसम्म क्वारेन्टिनमा प्रयोग गरिएको सबै विद्यालय तयार हुन्छ।’

उनले भदौदेखि भर्ना प्रकृया थाले पनि पठनपाठनका लागि केही समय लाग्ने बताए। त्यस समयसम्म स्थानीय तहको समन्वयमा विद्यालय सञ्चालनका लागि तयारी गर्ने प्रवक्ता शर्मा बताउँछन्।‘विद्यालयमा पठनपाठन गर्न समय लाग्ला‚' उनले भने, 'त्यो बेलासम्म कोरोना संक्रमण पनि घट्दै जाला। स्थानीय सरकारले विद्यालय व्यवस्थापन गर्छन्।’  क्वारेन्टिनमा प्रयोग गरिएको विद्यालयका विद्यार्थी जुनसुकै अवस्थामा पढाइबाट बञ्चित नहुने उनको दाबी छ।

प्रवक्ता शर्माका अनुसार कोरोना संक्रमित नभएका ठाउँमा रहेको विद्यालय स्थानीय तहले आवश्यकताअनुसार सञ्चालनमा ल्याउन सक्ने छन्। क्वारेन्टिनमा प्रयोग भैरहेको विद्यालयमा पनि स्थानीय सरकारले नै सुरक्षा मापदण्ड अपनाएर पछि प्रयोगमा ल्याउनुपर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.