|

काठमाडौं : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चरित्र अवसरवादी र नौटंकी खालको भएको बताएका छन्। प्रचण्डले अहिलेको सरकार छोड्नेबेलामा दिएको तर्क र पछिल्ला ब्यबहारहरु अवसरवादी र नौटंकी भएको उनले आरोप लगाए। 

'उहाँ (प्रचण्ड) को माइण्ड पढ्न त म जाँन्दिन। उहाँको भावुकता हजार जिब्रा भएका शेषनागले पनि वर्णन गर्न सक्दैन' प्रेस चौतारीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने 'अघिल्लो दिनसम्म शान्तिप्रक्रियाका कतिपय जटिलताहरु कसरी सम्बोधन गर्ने भनेर गम्भीर छलफलमा जुटिरहेका थियौं। तर अचानक भोलिपल्ट साँझ कांग्रेसले त मलाई प्रधानमन्त्री प्रस्ताव गरिसक्यो तिमीहरु के गर्छौ भनेर भन्नुभयो? यो उहाँले एक प्रकारको पछाडिबाट छुरा रोपेजस्तै हो।'

असार २७ गते राती प्रधानमन्त्री र माओवादी अध्यक्षको बीचमा एमाले माओवादी गठबन्धनलाई निरन्तरता दिने विषयमा सवा दुई घण्टा गम्भीर कुरा भएपनि माओवादीले धोका दिएको उनले बताए। 

१४ बुँदे सहमतिको जगमा एमाले-माओवादी गठबन्धन निर्माण भएको स्मरण गर्दै नेता ज्ञवालीले लामो योजनाका साथ बनेको सरकार भत्काएर प्रचण्डले ठूलो गल्ती गरेको बताए। 'राज्यका स्थायी संयन्त्रमध्ये ३ वटा संयन्त्रहरु (राष्ट्रपति, उपराष्ट्रपति र सभामुख ) मध्ये दुई पद (उपराष्ट्रपति र सभामुख) माओवादीलाई दिने काम भएको हो। हामीसँग लामो समयको सहकार्यको योजना थियो' उनले भने । 

योजनावद्ध रुपले प्रचण्डले  यो गठबन्धन तोडेको बताउदै ज्ञवालीले प्रचण्ड नराम्रोसँग फस्ने समेत बताए। 'उहाँ धेरैचोटी पश्चाताप गर्नुहुन्छ तर यो चोटी पनि उहाँले पश्चाताप गर्नुहुनेछ तर त्यतिञ्जेल धेरै कुराहरु बिग्रिसकेको हुनेछ' ज्ञवालीले भने, 'देशलाई त हामी सम्हाल्छौं तर यो ठूलो भूलपछि माओवादी सम्हालिन गाह्रो हुनेछ।'

कांग्रेस र माओवादीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपनि संक्रमणकालमा दोहोर्‍याएर सरकार बनाउने विषय प्रष्ट नभएकाले यसको ब्याख्या सर्वोच्च अदालत वा संसदबाट हुनुपर्ने बताए। 'त्यो अष्पष्टता छ त्यो कानुनविद्, सर्वोच्च अदालत वा संसदले त्यसको व्याख्या गर्ला। तर संविधानभित्रका यी अष्पष्टताभित्र नेकपा एमाले खेल्न चाहदैन' उनले भने। 

एमालेको लडाईं कानुनी नभएर राजनैतिक हो भन्दै नेता ज्ञवालीले त्यसमा आफुहरु नअलमलिने प्रष्ट पारे। 'सार्वभौम संसदसमक्ष हाम्रा कुराहरु राख्छौं, मधेश आन्दोलनलाई साम्य पार्नु, नाकाबन्दी समाप्त पार्नु, चीनसँग नयाँ सम्बन्ध कायम गर्नु, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नु गल्ती थियो। यसो गर्न पाइदैन भनेर संसद्ले भन्यो भने जहाँ जा भनेर संसदले भन्छ हामी त्यहीँ जान तयार छौं। हामी संसदबाट भाग्ने पक्षमा छैनौं' उनले भने।  

अहिलेको सरकार ढाल्नुको उद्देश्य प्रचण्डलाई प्रधानमन्त्री बनाउनुमा मात्र सीमित नभएको बताउदै ज्ञवालीले संविधानका उपलब्धिलाई कमजोर बनाउने केही गतिविधि हुने आशंका गरे। 'संविधान कार्यान्वयनलाई अवरुद्ध गर्ने, राष्ट्रिय स्वाभिमानलाई कमजोर गर्ने, सन्तुलित बाह्य सम्बन्धलाई कमजोर गराउने, बनेका कतिपय संरचनाहरुलाई भत्काउने र मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयत्नहरु हुनेछन्' ज्ञवालीले भने, 'यो गन्तव्य खाली केपी ओलीको ठाउँमा प्रचण्डलाई प्रधानमन्त्री बनाउनेसम्म मात्र सीमित छैन। लामो योजनाका साथ यी सबै कुरा भएका छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.