|

काठमाडौं : उनी सामना परिवारमा कलाकार थिइन्। उनी अर्थात भूमिका नेपाली। राम्रो नाच्थिन्। देख्दा पनि राम्री। लीलाधर रिमाल जनसाँस्कृतिक महासंघमा थिए। उनी पनि नाटक लेख्ने र खेल्ने गर्थे। अभियानमा सहयात्रा गर्दै गर्दा एकअर्काप्रति प्रेमको भावना पलायो। प्रेमले जात वा क्षेत्र हेर्दोरहेनछ। मंगलबार नयाँ वानेश्वरमा भेटिएका लीलाधर रिमालले आफ्नो प्रेमका सुरुवाती दिन यसरी सम्झिए।

यसरी सुरु भयो प्रेम

नवलपरासीको रम्भापुरमा रहेको एउटा ब्राह्मण परिवारमा जन्मिएका उनले गोरखामा जन्मिएकी नेपाली थरकी युवतीलाई मनपराए र प्रेम प्रस्ताव राखे। भूमिकाका बुबा जनमुक्ति सेनाका व्रिगेड कमाण्डर थिए। 'मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ' भन्ने अन्तर्राष्ट्रिय गीत सुन्दै हुर्किएकी भूमिकाले ब्राह्मण परिवारका लीलाधरले राखेको प्रेम प्रस्ताव सहर्ष स्वीकार गरिन्।

कम्युनिष्ट पृष्ठभूमि भएको परिवारमा जन्मिएका लीलाधरले सानैदेखि रक्तिम परिवारमा रहेर काम गरेका थिए। कम्युनिष्ट भनेका असल मान्छे हुन्। उनीहरुले जातपात मान्दैनन्। गरिव र धनी सबैका लागि समान राज्यव्यस्था हुनुपर्छ भन्ने मान्यताले कम्युनिष्ट बन्ने ध्याउन्नमा उनी रातदिन लागिरहे। 

समाजको लागि उदाहरणीय पात्र बन्नुपर्छ भन्ने उनलाई लाग्थ्यो। आमासँग आफूले कुनै दिन दलित थरकी केटीसँग विवाह गर्ने कुरा सुनाउँथे। तर आमाको मन न हो, मान्दिनथिन् आमा। 'तैँले यसरी तल्लो जातकी केटी विवाह गरिस् भने म कि आत्महत्या गर्छु कि घर छोडर हिँड्छु', आमा भन्थिन्।

भूमिकासँग प्रेम गर्दै गर्दा लीलाधरले आमाको कुरा नसम्झिएका होइनन्, तर समाजलाई परिवर्तन गर्नु छ भने सुरुवात आफैँबाट गर्नुपर्छ। आमा कति दिन रिसाउनुहोला र! एकदिन त मानिहाल्नुहुनेछ भन्ने सोचेर आफ्नो कलिलो प्रेमलाई निरन्तरता दिए उनले।

लीलाधरले आफ्नो पार्टी कमिटी काठमाडौंमा भूमिका र आफ्नोबीचमा प्रेम सम्बन्ध रहेको लिखित जानकारी गराए। भूमिकाले आफ्नो कमिटीमा जानकारी गराइन्। दुई वर्षको प्रेमपछि उनीहरूले विवाह गर्ने निर्णय गरे।

प्रचण्डले गराइदिए विवाह

माओवादीले नेवा र ताम्सालिङ राज्यको प्रशिक्षण धार्केमा राखेको थियो। अहिलेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नयाँ शक्तिका संयोजक एवं तात्कालिक माओवादी नेता डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताको उपस्थितिमा २०६९ चैत २५ गते सोही प्रशिक्षण कार्यक्रममा लीलाधर र भूमिकाले जनवादी विवाह गरे। विवाह गर्नु भन्दा केही समय अगाडि मात्र उनले आज विवाह गर्दै छु भनेर घरमा जानकारी गराए। 'त्यो सुनेर आमा डाको छाडेर रुन थाल्नुभो, आमालाई हस्पिटलाइज नै गर्नुपर्ने भयो', रिमाल भावुक भए।

उता आमा बिरामी भएर हस्पिटलको वेडमा पुगे पनि रिमाल आफ्नो अडानबाट पछाडि हटेनन्। उनले भूमिकासँग जनवादी र अन्तरजातीय विवाह गरेरै छाडे। पार्टीका अध्यक्ष प्रचण्ड र तत्कालिन उपाध्यक्ष डा. बाबुराम भट्टराईले रातो अबीर लगाएर उनीहरूको विवाहलाई शुभकामना दिए।

त्यसयताका वर्षहरूमा विवाहको वार्षिकोत्सवमा उनीहरू अध्यक्ष प्रचण्डको निवासमा जाने गरेका छन्। प्रचण्डसँगै 'एनिवर्सरी' मनाउँछन्। अहिले साथमा एउटा छोरा पनि थपिएको छ उनीहरूको। अहिले प्रधानमन्त्री भएकाले कार्य व्यस्तताका कारण आफ्नो 'म्यारिज एनिवर्सरी' पार्टी अध्यक्षसँग मनाउन पाइन्छ कि पाइन्नँ भनेर उनी चिन्तित देखिए।

आमा आमा नै हुन्

सामान्यतयाः विवाह गरेका नवजोडीहरऊ हाँस्दै, रमाउँदै आफ्ना अभिभावक भेट्न जान्छन् तर रिमाल र भूमिकाले त्यस्तो सौभाग्य पाएनन्। भर्खर विवाह गरेका छोराबुहारी घरमा आउन् भन्ने चाहना त आमालाई हुँदो हो, तर समाजले के भन्ला भन्ने डरले 'घरमा आउनुपर्दैन' भनेर आमाले सुनाएपछि रिमाल दम्पती अहिलेसम्म घर जान पाएका छैनन्। जन्म दिने आमाबुबाले त घरमा नआइज भनेपछि अरू आफन्तले झन् उनीहरू घरमा नआए हुन्थ्यो नै भन्ने भए।

उनीहरूसँग धेरै अप्ठ्यारा आउनेछन्। आर्थिक, राजनैतिक, सामाजिक र साँस्कृतिक सबै हिसाबले आत्मनिर्भर हुनुपर्नेछ। समाजले स्वीकार गर्नेछैन। परिवारले बहिष्कार गर्नेछ। यो सब उनीहरूलाई थाहा थियो। तर पनि समाज परिवर्तनमा इट्टा थप्न र आफ्नो प्रेमलाई सफल बनाउन उनीहरूले विवाह गरे।

विवाह गरेकोमा आमाबाहेक घरका अरू सदस्यको खासै विरोध थिएन। तर आमाले नै घरमा नआउन भनेपछि अरूले आमाको कुरा काट्न पनि सकेनन्। बुबाआमाको साथमा उनका दुई दाजु, एक भाइ र दुई बहिनी छन्। कान्छी बहिनीबाहेक अरू सबको विवाह भइसकेको छ।

हरेक आमाबुबाका सन्तानप्रति आफ्नै सपना हुन्छन्। 'मप्रति पनि आमाका सपना थिए होलान्', लीलाधर भन्छन्, 'जातपात, छुवाछुत र रुढीवादीले गाँजेको समाजमा हुर्किएकी मेरी आमाको चेतना त्यो समाजका अरू आमाहरूको जस्तै हुनु स्वाभाविक हो', रिमाल भन्छन्।

आमाले जति नै गाली गरे पनि आमा त आमा नै हुन्। उनले निरन्तर फोन गर्ने, आमाको हालखबर सोध्ने र आमाले बोलाएपछि मात्रै घर आउने कुरा गरिरहे। भूमिकाले पनि यसरी नै परिवारमा आफ्नो सम्बन्ध बनाइन्।

४ वर्षपछि एकदिन आफ्नी दिदीको छोराको विवाहको लागि काठमाडौं आएकी उनकी आमाले आफ्नी दलित बुहारीले पकाएको खाना निर्धक्कसँग खाइन्। यो रिमाल र भूमिकाको लागि निकै खुसीको दिन थियो। आमाले स्वीकार गरेपछि उनीहरू अब छिट्टै घर जाने सोचमा छन्।

कान्छी बहिनीको विवाहपछि मात्र घरमा आउने आमाको अनुरोध टार्न नसकेर उनीहरू घर गएका छैनन्। 'बहिनीको लागि उचित वर भेटिन्न कि भन्ने चिन्ताले हाम्रो लागि घरको ढोका बन्द भएको छ',  रिमालले खास कारण खोले।

आडम्वरी कामरेडहरू

विवाह पछाडि पार्टीका धेरै साथीले 'तपाईँले गल्ती गर्नुभो'  भनेर रिमाललाई  सुनाए। जो साँस्कृतिक विभागका नेता थिए, उनीहरूले नै अन्तरजातीय विवाह गरेकोमा सबैभन्दा बढी उनको आलोचना गरे। समाजको लागि अनुकरणीय काम गर्दा स्यावासी दिनुपर्नेमा उल्टै आलोचना आएपछि उनले ती साथीहरूलाई कार्वाही गरिपाउँ भनेर संगठनमा कुरा उठाएका थिए। तर उनीहरूलाई संगठनले कार्वाही गरेन। पार्टीभित्र यस्तो दरिद्र सोच भएका आडम्बरी कामरेडहरू पनि रहेछन् भनेर उनी निराश भएका थिए। समाज बदल्ने चेतनाबाट प्रेरित भएर परिवर्तनको अभियानमा होमिएका मानिसभित्र पनि असाध्यै निम्नस्तरको सोच हुनाले नै नेपाली कम्युनिष्ट आन्दोलन र यसका साँस्कृतिक मान्यताहरू धरापमा पर्दै गएको रिमाल बताउँछन्।

चेतना बढाउन जरुरी

अन्तरजातीय विवाह गरेका जोडीलाई सरकारले दिने भनेको १ लाख रुपैयाँ प्रोत्साहन स्वरूप दिएको भए पनि चेतनाको विकास नहुञ्जेल यसको खासै महत्त्व नरहेको रिमालको बुझाइ छ। आफूले १ लाख रूपैयाँका लागि विवाह नगरेको हुनाले त्यो पैसा लिन उनले कुनै पहल गरेनन्। 'हामी आफैँ काम गरेर बाँच्न सक्छौँ भने त्यो रकम किन लिने?', उनले प्रश्न गरे। 

एकातिर जनवादी र अझ त्यसमाथि अन्तरजातीय विवाह गरेकाहरू आज क्रमशः विखण्डनतिर गइरहेका छन्। त्यस्तै केही अन्तरजातीय जोडीहरू 'डिभोर्स' गरेका पनि भेटिन्छन्। किन उनीहरूको दाम्पत्य जीवनले गति लिन नसकेको होला भन्ने सन्दर्भमा रिमालको फरक मत छ।

'हाम्रो समाज फरक चिन्तन र संस्कृतिमा बाँचिरहेको छ।  माओवादी आन्दोलनले जुन समाज निर्माण गर्न खोजेको थियो, त्यो पुरानो समाज भन्दा नितान्त फरक थियो, रिमाल भन्छन्, 'माओवादीमा जनयुद्धताका अन्तरजातीय विवाह स्वाभाविक थियो। अन्तरजातीय विवाह गर्नेहरू सबैका आकर्षणका केन्द्र बन्थे। सबैले उनीहरूलाई सम्मान गर्दथे।' पार्टीभित्र यस्तो संस्कार हुर्किँदै जाँदा त्यस्तो सम्मानको भागिदार बन्ने धेरैको चाहना हुन्थ्यो, जसले गर्दा धेरै जोडीले अन्तरजातीय विवाह गरेर त्यो समयमा वाहवाही कमाए।

माओवादी शान्ति प्रक्रियामा आउँदासम्म समाज रातारात परिवर्तन हुन संभव थिएन। यसका कारण अन्तरजातीय विवाह गरेका जोडीलाई समाजमा स्थापित हुन अप्ठ्यारो परेको छ। त्यही  पचाउन नसक्नेहरू कसैले डिभोर्स गरे भने पचाउन सक्नेले निरन्तरता दिए।

विवाह, यौन विचार स्वतन्त्र हुनुपर्छ

'विवाह, यौन र विचार स्वतन्त्र हुनुपर्छ', माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य समेत रहेका रिमाल भन्छन्, 'यी व्यक्तिका निजी कुराहरू हुन्। जहाँ सम्बन्ध बिच्छेदको अधिकार हुन्छ, त्यहाँ समाज विकास तीव्र रूपमा अगाडि बढेको हुन्छ। एउटाले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा डिभोर्स हुनु स्वाभाविक हो।'

कुनै सम्मान पाइएला वा कसैले 'वाह वाह' गरिदेला भनेर आफूले अन्तरजातीय विवाह नगरेको उनको प्रष्टोक्ति थियो।  'म एउटा पुरुष हुँ, एउटी महिलासँग विवाह गरेँ। यो एकदमै सामान्य कुरा हो। यसमा कसैले सम्मान वा असम्मान गर्नुपर्ने कुनै कारण छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.