ओलीको आग्रहमा नेम्वाङ पुगे लाजिम्पाट

|

काठमाडाैं : पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले संविधानको धारा २९८ अनुसार नयाँ सरकार बन्ने स्पष्ट पारेका छन्।

आइतबार पछिल्लो राजनीतिक अवस्थाका साथै नेकपा एमाले–माओवादी केन्द्रबीच बढ्दै गएको दूरी घटाउने विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाट पुगेका नेम्वाङले नयाँ सरकार बनाउन संविधान र कानुनले नरोक्ने स्पष्ट पारेका हुन्।

एमालेका नेता र केही कानुनविद्ले नयाँ सरकार गठनबारे बाहिर फिँजाएको हल्लाबारे प्रचण्डले राखेको जिज्ञासाको जवाफ दिँदै नेम्वाङले हल्लामा कुनै यथार्थता नभएको प्रष्ट्याएका हुन्। ‘नयाँ सरकार बनाउन कानुन वा संविधानले रोक्दैन, तपाईँहरुले नयाँ सरकार बनाउन सक्नुहुन्छ, बाहिर चलेको हल्लामा कुनै सत्यता छैन’, नेम्वाङको भनाई उदृत गर्दै स्रोतले भन्यो। 

नेम्वाङले पछिल्लो समय एमाले–माओवादीबीचको दूरी बढ्दै गएकोप्रति चिन्ता प्रकट गर्दै त्यसलाई घटाउन लागिपर्नु पर्नेमा जोड दिएका थिए। ‘विकसित राजनीतिक घटनाक्रमका कारण हाम्रो पार्टीका नेताहरु आरोप प्रत्यारोपमा लागेका छन्, यो राम्रो होइन, हामी भोलिका दिनमा पनि मिलेर जानुपर्छ। यसलाई बन्द गर्नुपर्नेमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले पनि जोड दिनुभएको छ’, प्रचण्डसँग नेम्वाङले भनेका थिए। 

जवाफमा प्रचण्डले आरोप प्रत्यारोपमा लाग्ने कामको थालनी ओलीले नै गरेको भन्दै त्यसको अन्त्य एमालेले नै गर्नुपर्ने बताएका थिए। स्रोतका अनुसार नेम्वाङ ओलीको आग्रहमा प्रचण्डलाई भेट्न लाजिम्पाट पुगेका थिए।

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.