|

दाङ : सामान्यतयाः बसपार्क भन्ने वित्तिकै धेरैको दिमागमा दिगमिगलाग्दो स्थानको तस्बिर आउँछ। जताततै प्लाष्टिकका वोतल, कागजका खोस्टा, चुरोटका ठुटा छरिएका, सुर्ति, पान खाएर थुकेको फोहोर यस्तै यस्तै। तर घोराहीका वासिन्दा आफ्नो ठाउँको बसपार्कलाई देशकै नमुना बनाउने प्रणका साथ सरसफाइमा जुटेका छन्।

गएको मंसिरयता भने यसको स्वरुप फेरिएको छ। बसपार्कका ठाँउठाँउमा फोहोर मलाईलेखिएका डस्टविन राखिएको छ। कसैले फोहोर गर्‍यो भने सकेसम्म उसैलाई टिपेर फाल्न लगाइन्छ। कसैले नदेखेको अवस्थामा फालेको रहेछ भने सरसफाइ दूतले टिपेर फोहोर फ्याल्ने भाँडोमा जम्मा गर्ने गरेका छन्।

बसपार्क यत्तिकै आफै यस्तो अवस्थामा आइपुगेको भने होइन। घोराही १० सेवारखोला टोलमा रहेको सरसफाइ समन्वय संस्थाको सक्रियतामा बसपार्कको स्वरुप फेरिएको हो। राप्ती अञ्चल सार्वजनिक यातायात समितिका कार्यालय प्रमुख डा. लोकराज पराजुली पहिले र अहिलेको बसपार्कमा आकाश जमिनको फरक आएको बताउँछन्।

टोल विकास समितिका अध्यक्ष शक्तिराम  डाँगी र सरसफाइ दूतको रुपमा काम गरिरहेका हर्कबहादुर वली लगायतको सक्रियताले बसपार्कमा यस्तो फेरबदल आएको उनले बताए।

यातायात समितिको तर्फबाट विहान, साँझ र दिउँसो गरी तीन पटक स्पिकरबाट सरसफाइका बारेमा जानकारी गराउने गरेको पराजुलीले बताए। 'बसपार्क सरसफाइ अभियानमा हामी सबै मिलेर लागेका छौं' उनले भने सेवारखोला टोल विकास संस्था, घोराही नगरपालिका, नगर विकास समिति, राप्ती अञ्चल सार्वजनिक यातायात समितिको कार्यालय, प्रहरी विट र स्थानीय वासीको सहयोगमा मात्र बसपार्कलाई सफा राख्न सकिएको हो ।

बसपार्कमा फलफूल बेच्दै आएकी सीता वुढा आफ्नो ठाउँ बनाउने जिम्मा हामी आफैको भएको बताउँछिन्। विगत ७ महिनादेखि ठेलामा फलफूल बेचेर जीविका चलाउँदै आएकी उनले भनिन् 'पहिले सबैले फोहोर जतापायो उतै फाल्थे, त्यसैले हामीले पनि फालिन्थ्यो, अचेल जतापायो त्यता फोहोर फाल्न पाइदैन, आफ्नो फोहार आफै व्यवस्थापन गर्छौ।

पान, पुकार र सुर्तिका खोलहरु फालेर जताततै फोहोर गर्ने र जता पायो उतै थुक्नेहरु अचेल डस्टविनमा गएर फोहोर राख्ने र तोकिएको ठाउँमा मात्र थुक्ने गर्न थालेका छन् । सुरु सुरुमा निकै अप्ठेरो भएपनि भनेको नमान्नेलाई दुइ सयसम्म जरिवाना तिराउने र उठवश समेत गराउने गरेपछि भने सरसफाइ अभियानले गति लिएको बताउँछन्, अस्थायी प्रहरी विट बसपार्कका इन्चार्ज नवराज भण्डारी।

हामीले केही गर्नु छ भने पहिले आफ्नो ठाउँ सफा गरौं भनेर हामी पूर्ण रुपमा यो अभियानमा लागेका थियौंभण्डारीले भने पहिले त निकै अप्ठ्यारो भयो, अहिले वसपार्क छिर्ने वित्तिकै मानिसहरु सर्तक भएर आउँछन्। यहाँ फोहोर फाल्ने र थुक्ने नगर्नुहोला भनेर गाडीका स्टाफले नै यात्रुलाई सम्झाउने गरेका छन्।

बसपार्क नजिक घर हुने र केही दाताले एक सय रुपैयाँ र बसपार्क नजिक पसल राख्नेले ५० रुपैयाँ उठाएर मासिक १० हजार रुपैयाँमा दिएर एकजना सरसफाइ दूत राखिएको सेवारखोला टोल विकास समितीका अध्यक्ष शक्तिराम डाँगीले बताए। सरसफाइको कामले गति लिएपछि टोल विकास संस्थाले बसपार्क छेउछाउमा फूल र रुखहरु रोपेर हरियाली बनाउने योजना बनाएको छ।

देशकै नमुना वसपार्क बनाउने लक्ष्यका साथ अगाडि बढेको सेवारखोला स्थित घोराही बसपार्कलाई शहरी विकास डिभिजन कार्यालयको २ करोड र खानेपानी तथा सरसफाइ संस्थाको १६ लाख बजेटमा नमुना बसपार्क बनाउने काम अगाडि बढिरहेको अध्यक्ष डाँगीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.