|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमितका लागि बेड छैन भन्नु लाचारी र लज्जास्पद भएको बताएको छ। शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संकटमा राज्य हतास नभई नागरिकलाई ढाडस बन्नुपर्ने बताएका हुन्।

'स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वाभाविक र आवश्यक हो । तर, संकटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ । तर ‘अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैरजिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ', जारी विज्ञप्तिमा भनिएको छ।

 पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्यमहामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ? इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको व्यवहारमा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो । संक्रमणको विस्तार कुन हदसम्म हुन सक्दछ भन्ने विज्ञ अनुमान र विश्लेषण छ । त्यो हद सामना गर्न बेड लगायतको बिस्तारमा सरकारसंग बजेट, पुर्वाधार या इच्छाशक्ति के अभाव  छ? कांग्रेसले सरकारसँग जवाफ मागेको छ।

निजी क्षेत्रका अस्पतालहरूलाई कोरोनाविरुद्धको संघर्षमा वृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने? राजनैतिक दलहरू, संघसंस्था र समाजसँग सरकारले गरेको सहयोग अपेक्षा के हो? फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने? खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति तिब्रतर छ?  यी समग्र बिषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ ढंगले प्रस्तुत हुन जरुरी रहेको कांग्रेसको भनाइ छ।

संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ । बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पुरा हुन नसक्ने जारी विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.