कोही अस्पतालमा उपचाररत, कोही होम आइसोलेसनमै

|

काठमाडौं : कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ भने यसपटकको संक्रमण थप घातक देखिएको छ। जसले  गर्दा मृत्यु हुने र संक्रमित हुनेको संख्याले  दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा संक्रमणबाट स्वास्थ्यकर्मी आमनागरिक मात्रै हैन उच्च तहका व्यक्तिहरू यसपटक संक्रमित हुने संख्या बढ्दै गएको छ।

कोरोनाको दोस्रो छालले पूर्व-राजादेखि पूर्वप्रधानमन्त्रीसम्मलाई भेटेको छ। भारतको कुम्भ मेलामा सहभागी भएर फर्किएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाहमा संक्रमण पुष्टि भयो। केहीदिन घरमै बसेका शाहदम्पती काठमाडाैं थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्।

अवस्था गम्भीर भएपछि कोमल शाहलाई आइसियुमा राखी हाइफ्लाे अक्सिजन दिनुका साथै प्लाज्मा थेरापीसमेत गरिएकाे थियाे। अहिले  उनकाे स्वास्थ्य सुधार हुँदै गएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले बताए। ‘स्वास्थ्य अवस्था सुधार हुँदैछ सम्भवत: आज आइसियुबाट जनरल बेडमा सारिन्छ होला उहाँलाई।‘

यस्तै, केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि पूर्व-प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको पनि हाल नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनको पनि स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालका सूचना अधिकारी बाँस्तोलाले बताए।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई पनि कोरोना भाइरस संक्रमण भएको छ। उनी निवासमै आइसोलेसनमा बसिरहेका छन् भने ऊर्जामन्त्री टोपबहादुर रायमाझी संक्रमण पुष्टि भई सैनिक अस्पताल छाउनीमा उपचार गराएर दुई दिनअघि डिस्चार्ज भएका छन्।

'संक्रमण पुष्टि भएपछि हाम्रो अस्पतालमा आएर पाँच दिन उपचार गराएर उहाँ अहिले डिस्चार्ज भइसक्नुभयो',नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले भने ‘यस अघि पूर्व-प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई पनि संक्रमण पुष्टि भएपछि यहीँ उपचार  गरिएको थियाे। 

बहालवाला मन्त्रीलाई संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। गत वर्ष प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईमा समेत संक्रमण देखिएको थियो।

केही दिनअघि कांग्रेसमा प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि संक्रमण भएपछि हाल उनी होम आइसोलेसनमा रहेका छन्। कांग्रेसकै युवा नेता शंकर भण्डारीलाई पनि संक्रमण देखिएपछि हाल ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ।

एमाले नेता एवं साहित्यकार मोदनाथ प्रश्रित, एमाले केन्द्रीय सदस्य विष्णु रिजाललगायत पनि संक्रमित छन्। प्रश्रित मनमोहन अस्पताल सोह्रखुट्टेमा उपचाररत छन्।

कोरोनाको पहिलो लहरमा पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई दम्पती संक्रमित भएका थिए भने पूर्वमन्त्री मीन विश्वकर्मा संक्रमणबाट ग्राण्डी अस्पतालको आइसियु हुँदै भेन्टिलेटरसम्म पुगेर सन्चो भएर घर फर्किएका थिए। 

यस्तै, कांग्रेस महामन्त्री शशांक कोइरालालाई पनि ओम हस्पिटलको आइसियुले बचायो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि संक्रमित भए।  कोरोना संक्रमणकै कारण केहि पूर्व-सांसद र संविधानसभा सदस्यले पनि ज्यान गुमाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.