|

काठमाडौं : सत्तारूढ नेकपा एमालेमा देखिएको विवाद समाधान गर्न दोस्रो तहका नेताहरू सक्रिय भएर लागेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने समय नजिकिँदै गर्दा नेता विवाद समाधान गर्न जुटेका हुन्। पार्टी भित्रको विवाद समाधान गर्नका लागि आज पनि नेताहरूबीच छलफल हुन लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।

'हिजोबाट छलफल सुरू भएको छ। हामी एकता जोगाएर कसरी जान सकिन्छ भन्नेबारेमा केन्द्रित भएर लागेका छाैं,  उनले भने, 'कस्तो सहमति बन्छ भन्नेबारे निर्णयमा पुगिसकेका छैनौं।' विवाद चर्किँदै गएपछि फरक पार्टीको अभ्यास गरिरहेका माधव नेपाल समूहले पनि ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने बिषयमा अझै निर्णय निकाल्न सकेको छैन।

तर,दोस्रो तहका नेताहरूको दबावका कारण बाध्य भएर नेता नेपाल पनि केही लचकता अपनाउन तयार भएका छन्। दोस्रो तहका नेताहरूसँगको छलफल सहभागी भएका माधव समूहका नेता योगेश भट्टराईले पनि वार्ता सुरु भएको बताए।

उनले भने, 'हामी एकताकै पक्षमा छाैं। विभिन्न माध्यमबाट छलफल गरिरहेको छाैं। कुनै सहमति बनेको छैन। छलफलमा ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी थिए नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई सहभागी थिए।

पार्टी एकताका लागि केही लचक हुने भने पनि माधव समूहले पार्टी २०७५ जेठ २ गतेबाट अगाडि बढ्नुपर्ने भन्ने अडानबाट पछि हट्ने मनस्थिति देखाएका छैनन्। यता, प्रधानमन्त्री ओलीले पनि आफ्नाे समूहले गरेको निर्णय तत्काल फिर्ता गरिहाल्ने संकेत नदिएको माधव समूहका एक नेताले बताए।

'एकताको लागि सकारात्मक कुरा गर्नुहुन्छ तर, आफ्नाे निर्णय फिर्ता लिने पक्षमा पनि उहाँहरू देखिनुभएको छैन' ती नेताले भने। ओलीले विश्वासको मत लिने मिति नजिकिँदै गर्दा नेताहरूको दौडधुप बाक्लिँदै गएको छ। बैशाख २७ गतेलाई एमालेको विवादको निर्णायक दिनको रूपमा हेरिएको छ। तर, दोस्रो तहका नेताहरूले एकतालाई जागाउनुपर्ने भन्दै त्यसअघि नै सहमति बनाउनुपर्ने जाेड दिईरहेका छन्।

दोस्रो तहका नेताहरूको दबाब परेर मात्रै माधव नेपाल ओलीसँग सहमतिको वार्ता गर्न तयार भएका छन्। तर, नेपालसहित भीम रावल लगायतका नेताहरू ओलीसँग अब सहकार्य गरेर जान नसकिने मत राख्दै आएका छन्। नेपाल पक्षले ओलीले आफ्नाे माग सम्बाेधन गर्ने अवस्था नआए विश्वासको मत लिनुअघि नै सामूहिक राजीनामा गर्ने या बैठकमै सहभागी नहुने भन्ने बिषयमा समेत छलफल चलाइरहेको छ।

विवाद समाधानका लागि प्रधानमन्त्रीले पनि विभिन्न तहका नेताहरूसँग वार्ता गरिरहेका छन्। यता नेता नेपालले भने ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि वार्ता गरिरहेका छन्। एमाले विवाद निर्णायक मोडमा पुगेपछि विवाद मिलाउन राष्ट्रपति विद्यादेवि भण्डारीसमेत सक्रिय भएर लागेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.