|

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका  सबै सवारी साधन कोरोना रोकथाम, नियन्त्रण तथा बिरामीको उपचारमा प्रयोग गर्ने जनाएको छ।

गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टिपर, एक बोलेरो जिप र एक कार छ।

गाउँपालिकाले यसअघि संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको थियो। महामारीले भयावह रुप लिएपछि सम्पूर्ण सवारी साधनलाई संक्रमित बोक्नका लागि प्रयोग गर्ने निर्णय गरिएको जनाइएको छ।

यस्तै पालिकाले प्रत्येक वडामा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ। गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत एक चिकित्सकसहित ११ स्वास्थ्यकर्मीलाई सम्पर्क व्यक्ति तोकेको हो।  

यसैबीच गाउँपालिकाले अक्सिजन सिलिण्डरसहितको आइसोलेसन कक्ष स्थापना गर्ने तयारी थालेको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथका अनुसार पालिकाको दुई स्थानमा अक्सिजनसहितको १२ बेडको आइसोलेसन कक्ष निर्माणको तयारी भएको हो।

गाउँपालिकाको वडा नं ३ स्थित श्रीकोट स्वास्थ्य चौकी र वडा नं ५ को न्वाली स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर स्थापनाको तयारी भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.