|
Photo : youngisthan.in

काठमाडौं: आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा। आजको दिन आफूलाई शिक्षा दिने गुरुहरूप्रति श्रद्धाभाव प्रकट गरेर मनाइन्छ। आजको दिनमा विद्यार्थीहरूले आमाबुवा सरह मानिने गुरुहरूलाई विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने गर्छन्। 

गुरु पूर्णिमाका दिन र समयलाई ज्ञान हासिल गर्नका लागि उपयुक्त मानिन्छ। गुरु पूर्णिमाको समयमा न त धेरै गर्मी हुन्छ न धेरै जाडो हुन्छ। यसकारण पनि अध्ययनका लागि उपयुक्त मानिन्छ। 

गुरु पूर्णिमाको दिन महाभारतका रचयिता कृष्ण द्वैपायन व्यासको जन्मदिन पनि हो। उनी संस्कृतका प्रकाण्ड विद्धान थिए र उनले चार वेदको रचना पनि गरेका थिए। यसकारण पनि उनको नाम वेदव्यास राखिएको मानिन्छ र हामी उनलाई वेदव्यासको नामले नै चिन्ने गर्छौ। उनलाई आदिगुरु पनि भनिन्छ र उनको सम्मानमा गुरु पूर्णिमालाई व्यास पूर्णिमा पनि भन्ने गर्छौँ। 

शास्त्रमा गु को अर्थ अन्धकार या मुल अज्ञान र रु को अर्थ त्यसको निरोधक वा विनासक। यसकारण गुरुलाई अज्ञानतालाई हटाउने वा निवारण गर्ने काम भन्ने बुझिन्छ। अर्थात् अन्धकारलाई हटाएर प्रकाशतर्फ लैजाने मानिसलाई गुरु भनिन्छ। 

"अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया,चक्षुन्मीलितम तस्मै श्री गुरुवै नमः"
यस श्लोकमा भनिएको छ कि भक्तिको आवश्यकता देवताका लागि छ र यस्तै गुरुका लागि पनि छ। सद्गुरुको कृपाले ईश्वरको साक्षात्कार पनि सम्भव हुन्छ। गुरुको कृपाको अभावमा केही पनि सम्भव छैन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.