|

इलाम : प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र जोड्ने सडक फाल्गुनन्द मार्ग हो। गृह जिल्लामा हुने कार्यक्रममा नेम्बाङ फाल्गुनन्द सडक इलामको लाइफलाइन भएको बताइरहन्छन्।

नेम्बाङको अधिकांश भाषणमा फाल्गुनन्द मार्ग चाडै सम्पन्न हुने कुरा छुट्दैन्। वामपन्थी सरकारले पश्चिमी इलामबासीको समस्या हल गर्न बढेका नेम्बाङ आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा बताइन्छन्। झापाबाट इलाम हुँदै पाँचथर जोड्ने उक्त सडकको हालैको एक दृश्यले नेम्बाङ भाषण र वास्तविकताबीचको फरक झल्काउँछ।

मंगलबार साँझ पाँचथरको रवि बजारका एक अधबैंसे व्यक्ति साँझ अचानक बिरामी परे। घाँटी दुखाई र स्वासप्रस्वासमा समेत समस्या भएपछि उनलाई सुविधायुक्त अस्पताल पुर्‍याउनुपर्ने भयो।

साँझ छिप्पिसकेकाले गाडीमा राखेर उनलाई झापाको दमकतर्फ हिँडाइयो। रवि–चिसापानी–दमक सडक (फाल्गुनन्द मार्ग) को करिब ४५ किलोमिटर यात्रामा करिब १५ किलोमिटर हिँडेपछि गाडी अघि बढ्न सकेन्।

राति करिब साढे १२ बजे माङसेबुङ–३ स्थित चतुरे बजार पार गर्ने बित्तिकै गाडी हिलोमा फस्यो। बिहान स्थानीयबासीले करिब ३ घण्टाभन्दा लामो प्रयास गरे पनि गाडी हिलोबाट निकाल्न सकेनन्। करिब ८ बजेतिर स्काभेटरको सहयोगमा हिलोमा फसेको गाडी निस्कियो। साँझ रविबाट बिरामी बोकेर हिँडेको गाडी १५ किलोमिटर पार गर्दा १२ घण्टा बित्यो।

‘बिरामीको अवस्था सामान्य रहेकाले मात्र कुनै दुर्घटना हुन पाएन। यदि बिरामीको अवस्था गम्भीर भएको भए के हुने थियो भन्ने सोचनीय विषय हो,’ पत्रकार राम योङहाङ भन्छन्।

एमालेका प्रभावशाली मानिएका नेम्बाङको निर्वाचन क्षेत्रमा पर्ने यो सडक खण्ड प्रधानमन्त्री केपी ओलीको समेत महत्वकांक्षी योजना हो। नेम्बाङ र ओलीको निर्वाचन क्षेत्र जोड्ने सबैभन्दा द्रुत मार्गको रुपमा फाल्गुनन्द मार्गलाई लिइन्छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री हुँदा पूर्व झापाको दमकदेखि–पाँचथर–ताप्लेजुङ हुँदै चीन जोड्न सडक उपयोगी हुने भएकाले छिट्टै निर्माण सम्पन्न गर्न विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए।

२०५१ सालमा अन्तिम सर्भे सम्पन्न गरी झापाको दमकदेखि पाँचथरको रवि हुँदै पहाडी जिल्ला जोड्ने यो सडक निर्माण सुरु भएको थियो। सडकको ट्रयाक निर्माणका लागि सडक डिभिजन कार्यालय दमकमार्फत काम भएको थियो।

मेची राजमार्गको वैकल्पिक मार्गमा रुपमा निर्माण गर्ने लक्ष्यका साथ २०१९ सालमा यस सडकको आइ सर्भे गरिएको थियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि सडक निर्माणका लागि दबाब दिन उपभोक्ता समिति गठन गरिएको थियो।

उपभोक्ता समितिको दबाबपछि सरकारले २०५१ सालमा अन्तिम सर्भे गरेको हो। 

झापाको दमकबाट सडक इलामको माङसेबुङ, पाँचथरको रवि, ताप्लेजुङको ओलाङ्गचुङगोला हुँदै तिब्बत जोड्ने योजनाअनुसार सडक निर्माण सुरु भएको थियो।

सरकारी योजनाअनुसार झापाको दमक हुदै पाँचथर जिल्लाको रवि ४७ किलोमिटरसम्म २०५१ सालदेखि सडक निर्माण सुरु गरिएको हो। २०४९ सालमा मंसिर ६ देखि प्रारम्भिक सर्भेपछि २०५१ सालमा गरिएको डिटेल सर्भेमा सडक निर्माणका लागि २६ करोड ९० लाखको अनुमान गरिएको थियो।  

सडक कालोपत्रेका लागि अघिल्लो वर्ष नै ठेक्का सम्झौता भएको थियो। इलामको चिसापानीदेखि झापाको दमकसम्मको २ लेनको ३३ किलोमिटर सडक तीन खण्डमा ठेक्का लगाएर कालोपत्रेको गर्ने काम अघि बढाइएको छ।

झापा र इलामको सिमानादेखि मर्चेबुङसम्म ६ दशमलव २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ। उक्त खण्ड २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा ठेक्का लागेको थियो।

काठमाडौंको महालक्ष्मी–किरातेश्वर जेभीले निर्माणको काम गरिरहेको छ। सडकको दोस्रो खण्ड लुम्बिनी–गणपति जेभीले ठेक्का पाएको छ। १५ दशमलव २६ किलोमिटर सडक ५४ करोड ४४ लाख ८७ हजारमा ठेक्का सम्झौता भएको छ।

तेस्रो खण्डको ठेक्का पनि लुम्बिनी–गणपति जेभीले नै लिएको छ। ११ दशमलव ३० किलोमिटर सडक कालोपत्रे गर्न ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको छ ।

भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाङले गत वर्ष अनुगमन गर्दै आर्थिक वर्ष ०७९/८० भित्र लक्ष्य भेटाउने बताएका थिए। तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि काममा ढिलासुस्ती हुँदा अझै सास्ती भोग्नुपर्ने भन्दै जनता आक्रोशित भएका छन्।

ठेकेदार कम्पनीले भने विभिन्न कारण देखाउँदै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएका छन्। तीनै खण्डमा छिटपुट रुपमा सडक विस्तार, नाली, पर्खाललगायत पूर्वाधार तयारीका काम भएपनि ती पनि भत्किसकेका छन्।

‘ठेकेदार कम्पनीको हेलचेक्रयाइँका कारण हामीले वर्षौंदेखि उही पीडा भोग्नुपरिरहेको छ,’ स्थानीय फोमी होटल एण्ड रेस्टुरेन्टका संचालक रोशन राई भन्छन्, ‘स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण हुन जरुरी छ।’

झापाको दमकदेखि इलाम–पाँचथर–ताप्लेजुङ हुँदै चीन जोड्ने सडक निर्माण भएमा छोटो दूरीमै चीनको सिमानासम्म पुग्न सकिने छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.