|

काठमाडौं : कोभिड–१९ को संक्रमण नियन्त्रणमा सहयोगका लागि काठमाडौं महानगरपालिकालाई ल्हासा नगरले चार थान भेन्टिलेटर सहयोग गरेको छ। काठमाडौं महानगरसँग भगिनी सम्बन्ध भएको चीनको ल्हासा नगरले भिजी–७० मोडलका चार थान भेन्टिलेटर सहयोगस्वरूप पठाएको हो।

गत वर्षको महामारीमा पनि उक्त नगरले काठमाडौंलाई केही स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो। त्यस्तै, सडक सफाइमा प्रयोग हुने ब्रुमर यन्त्र पनि प्राप्त भएका छन्। उक्त यन्त्र पनि हाल प्रयोगमा छन्। 

भेन्टिलेटर बुझिसकेपछि प्रतिक्रिया दिँदै कामपाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘काठमाडौँका नागरिकका तर्फबाट हामी ल्हासा नगर र त्यहाँका नागरिकप्रति आभार प्रकट गर्दछौं।’ ज्ञवालीका अनुसार प्राप्त सामग्री कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छिट्टै निर्णय हुनेछ।

भगिनी सम्बन्ध भएका चीनका अन्य नगरले पनि महामारीको समयमा सघाउने इच्छा व्यक्त गरेको कामपाले जनाएको छ। जापानको मात्सुमोतो, कोरियाको सउल महानगरलगायत भगिनी सम्बन्ध भएका नगर र सिटी नेटलगायत संस्थागत सदस्यता लिएका सञ्जालले महामारीसँग जुध्न सघाउने उपकरण उपलब्ध गराउने इच्छा देखाएका छन्। यद्यपि, हवाई यातायात सञ्चालन नभएका कारण सामान ल्याउन कठिन हुने भएको छ।

सहयोगस्वरूप प्राप्त भेन्टिलेटरको मूल्य एक करोड ५० लाख रुपैयाँ रहेको छ। उक्त सामग्री वैशाख ३१ गते महानगरमा आइपुगेको हो। उक्त प्राप्त सामग्रीमा ‘हामी हिमाल र नदीले जोडिएका छौं। हाम्रो मित्रता सधैँ रहिरहनेछ’ र ‘ल्हासा र काठमाडौँको मित्रता दिगो रहिरहन्छ’ भनी लेखिएको छ। कामपाले १८ वटा अन्तर्राष्ट्रिय नगरसँग भगिनी सम्बन्ध स्थापित गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.