|

जनकपुरधाम : कोरोना भाइरस महामारीले आतंकित भइरहेका बेला धनुषा, महोत्तरीको ग्रामीण क्षेत्रका बासिन्दाको दिनचर्यामा भने परिवर्तन आएको छैन। शहर, बजार पूर्ण रुपमा लकडाउन भइरहको बेला गाउँघरका बासिन्दा भने सामान्य अवस्थामै छन्।

गाउँघरका बासिन्दा यति बेला गहुँ भित्र्याउने, बारीमा खनजोत गर्ने, बर्खे  बाली लगाउने काममा व्यस्त छन्। दैनिकजसो खेतबारीमै व्यस्त रहेको वटेश्वर गाउँपालिका–५ का किसान राम किशुन यादव बताउँछन्। गाईवस्तु स्याहारसुसार गर्ने, दुध दुहने, बारी तयार गर्ने र मकै लगाउने काममा व्यस्त रहेको उनले बताए।

बाली भित्र्याउने र नयाँ बाली लगाउने सिजन भएकाले किसानहरु यतिबेला व्यस्त हुने मिथिला नगरपालिका–२ नक्टाझजिका हरिनायाण महतो बताउँछन्। उनले भने, ‘घर खेत गर्दै ठिक्क छ। गाउँघर जान फुर्सद नै हुँदैन।’ शहरमा कोरोनाले प्रभाव पारे पनि गाउँघर सामान्य अवस्थामा नै रहेको अर्का किसान बुधन महतो बताउँछन्। 

गाउँका महिलाहरु समूह बनाएर कृषि कर्मका लागिरहेका छन्। कोही चैते धान रोप्न व्यस्त छन्। कोही सरसौ र तोरी भित्र्याउन व्यस्त देखिएका छन्। कतैकतै घर निर्माणमा पनि जुटिरहेका देखिन्छन्।

गाउँघरतिर हाट बजारमा जाने, घुमघाम गर्ने, चिया गफ गर्ने, साथीभाइसँग भेट्नेलगायत नियमित दिनचर्या छ। ग्रामीण क्षेत्रमा कोरोना भाइरसको कुनै जोखिम नै नरहेकोजस्तो देखिन्छ।

‘गाउँमा लकडाउनको कुनै प्रभाव छैन। केही जान्ने बुझ्नेहरु सचेत देखिन्छन्, बाँकीलाई कुनै मतलब नै छैन,’ महोत्तरीको सोनमा गाउँपालिका शिक्षक धर्मेन्द्र यादव भन्छन्, ‘गर्मी सुरु भएका कारण एक ठाउँमा भेला हुने, गफ गर्ने  हुन्छ।’ कोरोना भाइरसबारे सम्झाउन खोजे पनि उल्टै झगडा गर्न आएको उनले बताए।

धनुषा जिल्ला समन्वय समितिका सभापति रामदेव यादव बनरैतले पनि लकडाउनको प्रभाव गाउँघरमा नदेखिएको बताए। ‘मान्छेले बेवास्ता गरेर हिँडिरहेका छन्। कसैको सल्लाह सुझाव मानिरहेका छैनन्,’ उनले भने, ‘सुरुमा गाउँघरका मान्छे पनि अलिअलि डराएका थिए। तर अहिले बेवास्ता गरिएको छ।’

कोरोना संक्रमण मानिसबाट मानिसमा सर्ने भएकाले सकेसम्म भीडमा निस्कनबाट रोक्ने उद्देश्यले ‘लकडाउन’ जारी गरिएको भए पनि मानिसमा त्यसको चेतना नभएको उनी बताउँछन्। ‘घरमै बस्नाले सुरक्षित भइन्छ भने केही दिन घरमै बस्दा राम्रो नि,’ उनले भने, ‘त्यो कुरा यहाँका मान्छेले बुझ्दैनन्।’

औरही नगरपालिकाका प्रमुख सुनिल यादव गाउँघरमा गाईवस्तु चराउनेदेखि लिएर खेतीपाती गर्ने अनिवार्य कर्म भएको बताउँछन्। अहिले नगदे बाली भित्र्याउने समय भएका कारणले पनि गाउँघर अलि बढी चलायमान देखिएको  उनको भनाइ छ।

रामगोपालपुरका शिक्षक धर्वेन्द्रकुमार कर्णका अनुसार गाउँघरका कुनै कामकाज रोकिएको छैन। भोजभतेर, पूजापाठ, भजन–कीर्तन, भेटघाट सबै नियमित रुपमा भइरहे पनि प्रहरी प्रशासनले पनि केही नभनेको उनले बताए।

पूर्व–पश्चिम राजमार्गको दक्षिण भेगमा लकडाउनको खासै प्रभाव छैन। हुलाकी सडकमा पहिलाजस्तो गाडी नचले पनि मान्छेको चहलपहलमा कमी छैन। हुलाकी सडकअन्तर्गत पर्ने सम्सी गाउँपालिकामा किराना पसल सञ्चालन गरेका विनोद साहले यो लकडाउनलाई कतिपयले रमाइलोको रुपमा लिएको नियन्त्रण गर्न आवश्यक रहेको बताउँछन्।

नेपाल भारत सीमामा सुरक्षा निगरानी भए पनि चोर बाटो हुँदै नेपाल भित्रिने काम भइरहेको उनले बताए। भारतबाट मान्छेहरु भित्रिरहेकाले गाउँघर कोरोना संक्रमणको जोखिमा रहेको साहको बुझाइ छ।

नेपाल पत्रकार महासंघ महोत्तरीका महिला उपाध्यक्ष सुनिता महतो भन्छिन्, ‘यो लकडाउनले शहरमा सास्ती र गाउँघरमा मस्ती बनाएको छ, गाउँघरमा लकडाउनको कुनै प्रभाव देखिएको छैन। सबैजना सामान्य ढंगले नियमित काम गरिरहेकै छन्।’ तर, भारतसँग सीमा जोडिएको र मानिसको ओहोरदोहोरमा कमी नभएकाले संक्रमणको जोखिममा रहेको उनको भनाइ छ।

छिमेकी मुलुक भारतलगायतका देशहरु समेत कोरोना भाइरसको संक्रमणबाट थिलथिलो भइरहेको समयमा ग्रामीण क्षेत्रका मानिसहरुले कोरोनालाई मजाकका रुपमा लिने गरेको पाइन्छ।

‘कहाँ छ कोरोना सोरोना? मर्ने दिन आयो भने यो कोरोना नै चाहिँदैन,’ धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर चोकमा भेटिएका एक युवा शम्भु चौधरी भन्छन्, ‘यहाँ कोरोना सोरोना छैन, यहाँ यति गर्मी छ कि कोरोना आफैँ भाग्छ, कोरोनाको डरले कति दिन घरमै बसिरहँु?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.