|
फाइल फोटो

काभ्रेपलाञ्चोक : अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिलगायत कोभिड महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले मंगलबार राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो।

कारोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नु परेको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए। उनका अनुसार मंगलबार राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो। 

उनले भने, ‘औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ।’

नगरद्वारा जारी अपिलमा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत उल्लेख गरिएको छ। साथै, सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइनेछ। जिल्ला प्रशासन कार्यालयले पनि आइतबारदेखि एक साता जिल्लामा निषेधाज्ञा थप गरेको थियो ।

कारोना संक्रमणको दोस्रो लहर आएपछि काभ्रोपलाञ्चोकको कुल कोरोना संक्रमितमध्ये बनेपामा ३५ दशमलब ४ प्रतिशत अर्थात् ६९७ जनामा संक्रमण भएको छ। नगरमा हालसम्म १० को मृत्यु भएको छ। पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोकमा दैनिक डेढ सयभन्दा बढीको संख्यामा संक्रमित थपिन थालेका छन्। 

जिल्ला कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र 
(डिसीसीएमसी)का अनुसार दोस्रो लहर सुरु भएयता जिल्लामा एक हजार ९८९ सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये धुलिखेलमा ४१४, पनौतीमा ३९९, पाँचखालमा १२४, नमोबुद्धमा ८१, मण्डनदेउपुरमा ११० तथा रोशी गाउँपालिकामा ३५, चौँरीदेउरालीमा २६, तेमालमा ३०, भुम्लुमा ३०, खानीखोलामा २२, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा १६ जना रहेका छन्। कुल संक्रमितमध्ये ९४ प्रतिशत अर्थात् एक हजार ८९१ जना होम आइसोलेशनमै उपचाररत छन्। हालसम्म ८५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.