|

जनकपुरधाम : सोमबार उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएका ३७ वर्षीय अमोद कर्णको मृत्यु भयो। अस्पतालको आकस्मिक कक्षमै शव आज मंगलबार दिउँसो १२ बजेसम्म व्यवस्थापन हुन सकेको थिएन।  

मृत्युलगत्तै उनका आफन्तले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई जानकारी पनि गराएका थिए। सोमबार साँझ नै मृत्यु भएका कर्णको आज मंगलबार दिउँसोसम्म समेत शव व्यवस्थापनको टुंगो लागेन।  

उनका आफन्तले समेत शव लगेनन्। यता अस्पताल पनि शव कसरी व्यवस्थापनबारे अन्योल थियो। अस्पतालको आकस्मिक कक्षमा लास देखेर अरु बिरामीलाई समेत अप्ठ्यारो महसुस भइरहेको थियो।

शव व्यवस्थापनमा समस्या भइरहेकोबारे जनकपुर बजारमा हल्ला नै फैलियो। यो समस्याबारे जनकपुर जानकी चोकका युवाको समूह ‘परिवर्तनका लागि युवा अभियान’ ले थाहा पाए।

युवाले प्रमुख जिल्ला अधिकारी बास्तोलासँग यस सम्बन्धमा कुरा राख्दा बास्तोलाले मृतकको पिसिआर नभएकाले शव व्यवस्थापनमा असमर्थ रहेको बताए।

यसरी शव व्यवस्थानमा समस्या देखेएपछि युवाहरूले जनकपुरधाम उपमहानगरपालिकाबाट स्वास्थ्य सुरक्षा सामग्री ल्याएर शव व्यवस्थापन गरे।

युवा अभियन्ता सुशील कर्णले भने, ‘सिकिस्त बिरामी रहेका अमोदलाई ज्वरो, रुघाखोकीलगायत कोरोनाका सबै लक्षण देखिएको थियो। सोमबार साँझ नेपाल तरुण दलका उपाध्यक्ष राकेश विक्रम साहलगायत युवाले उनलाई उपचारका लागि अस्पतालसम्म पुर्‍याएका थिए। तर त्यसको केही क्षणमै उनको उपचार कै क्रममा मृत्यु भयो।'

शव त्यतिकै अस्पतालको आकस्मिक कक्षमा २४ घण्टासम्म रहिरहेको कर्ण बताउँछन्। 'मृतकका परिवारजनले समेत शव व्यवस्थापन गर्न डराएपछि सो शव अलपत्र परेको थियो। अनि हामीले व्यवस्थापन गरेका हौं,’ कर्णले भने।

शव व्यवस्थापनमा कर्ण, किशन मण्डल, मोहन रौनियार, मनिष सिंहलगायत युवा सक्रिय थिए। 

पछिल्लो पटक जनकपुरमा कोरोना संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा समस्या देखिएको छ। यसअघि पनि धेरै वटा शव सेनाले व्यवस्थापन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.