|

सप्तरी : सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ। सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मंगलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो।

जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा स्थानीय तह प्रमुखहरुको मंगलबार बसेको बैठकले स्थानीय तह तथा सो मातहत रहेका सम्पूर्ण शाखा, उपशाखा र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्। सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका छन्।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकी, फत्तेपुर मोडल पोलिक्लिनिक हुँदै उपचारका लागि चौधरीलाई विराटनगर लगिएको थियो। सात महिनाकी गर्भवतीसमेत रहेकी चौधरीको विराटनगरस्थित विराट नर्सिङहोम अस्पतालमा मंगलबार मृत्यु भएको हो।

तीन दिनअघि गर्भमा रहेको शिशुलाई मृतावस्थामा निकालिएको थियो। आइसियुमा राखेर उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.