|

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्‍गरू र तिङ्‌करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो।

व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्‍गरू स्वास्थ्य चौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए। उनका अनुसार छाङ्‍गरूका ३०० तथा तिङ्‌करका ६० जनालाई खोप लगाइनेछ।

जिल्लामा खोप आइपुगेको भन्दै उनले एक/दुई दिनभित्रै खोप र आवश्यक औषधि लिएर छाङ्‍गरू र तिङ्‌कर जाने तयारी भएको बताए। त्यहाँ रहेका स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत कोरोनाविरुद्धको खोप लगाइने छ।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले छाङ्‍गरू र तिङ्‌करका लागि आएको खोप तत्काल लगाउने निर्णय गरेको थियो। व्यासका स्थानीयवासी गत वैशाख पहिलो सातादेखि खलङ्गाबाट छाङ्‍गरूका लागि बसाइँ सरेका थिए।

व्यासका स्थानीयवासी छ महिना सदरमुकाम खलङ्गामा छाङ्‍गरू र तिङ्‌करको जाडो छल्न आउने गर्छन् भने छ महिना खङ्लगाको गर्मी छल्न माथि उक्लिने गर्छन्।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर सरकारले नक्सा सार्वजनिक गरेपछि यो क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको छ।

यस क्षेत्रमा विशेष कार्ययोजना बनाएर सरकारले कार्यक्रम अघि सारेको छ भने प्रदेश सरकारले पनि विशेष गौरवको योजना अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.